२०८३ भाद्र २८

नेपाली बजारमा सुनको मूल्य तीन लाख १६ हजार ७०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ३०० रुपैयाँले वृद्धि भएको हो।

बिहीबार प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको छ।

चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला ४ हजार ८५५ रुपैयाँ रहेको चाँदी शुक्रबार १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यससँगै शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यले नयाँ उचाइ कायम गरेको छ।

Read More

म्याग्दीमा एक वर्षमै ७३ करोडको आलु र सुन्तला कारोबार

काठमाडौं। म्याग्दीमा आर्थिक वर्ष २०८२/८३ मा उत्पादित आलु र सुन्तलाबाट ७३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कृषि विकास कार्यालयका अनुसार उक्त अवधिमा ३३ हजार १२० मेट्रिक टन आलु र ४ हजार ५१५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।

कृषि उपजउत्पादनकारोबार
आलु३३,१२० मेट्रिक टनरु. ४० करोड
सुन्तला४,५१५ मेट्रिक टनरु. ३३ करोड ८६ लाख
जम्मा३७,६३५ मेट्रिक टनरु. ७३ करोड ८६ लाख

आलु १ हजार ८४० हेक्टर र सुन्तला ४३० हेक्टरमा खेती गरिएको थियो। औसतमा आलु प्रतिकिलो ३० रुपैयाँ र सुन्तला ७५ रुपैयाँमा बिक्री भएको कार्यालयले जनाएको छ। अघिल्लो वर्षको तुलनामा सुन्तलाको उत्पादन सामान्य रहे पनि वैशाख–जेठमा परेको असिनाका कारण आलु उत्पादनमा करिब २० करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

म्याग्दीमा उत्पादित आलु र सुन्तला बेनीसँगै पोखरा, काठमाडौं, चितवनलगायतका बजारमा बिक्री हुँदै आएका छन्। सडक पहुँच विस्तारसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजलाई बजारसम्म पुर्‍याउन सहज भएको कृषि विकास कार्यालयको भनाइ छ।

कृषि प्रवर्द्धनमा सरकारी लगानी

आलु र सुन्तलाको उत्पादन तथा बगैँचा विस्तारका लागि कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। गत आर्थिक वर्ष तीन तहका सरकारले कृषि क्षेत्रमा ९ करोड ३९ लाख ८३ हजार रुपैयाँ विनियोजन गरेकामा ६ करोड ७८ लाख ६७ हजार रुपैयाँ खर्च भएको थियो।

आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत ८०० परिवारलाई ७०० रोपनीमा खेती गर्न ३९ लाख ७० हजार रुपैयाँ अनुदान दिइएको थियो। यसबाट १ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको कार्यालयले जनाएको छ। त्यस्तै, ३२ वटा कृषि फार्मलाई १९ लाख २९ हजार रुपैयाँ सहयोग गरी ५९९ रोपनी क्षेत्रफलका सुन्तला बगैँचामा मलखाद, सिँचाइ, औजार तथा यान्त्रिकीकरणमा काम गरिएको थियो।

चालु कार्यक्रमअन्तर्गत फलफूल बगैँचा विस्तार तथा सुदृढीकरणका लागि ४२ लाख र खायन आलु प्रवर्द्धनका लागि ३३ लाख रुपैयाँ बजेट छुट्याइएको छ।

किसानहरूले भने कृषि उपजको बजार व्यवस्थापन, सिँचाइ, गुणस्तरीय बीउबिजन, जनशक्ति तथा बाँदरको समस्यालाई प्राथमिकताका साथ समाधान गर्नुपर्ने माग गरेका छन्। प्रदेश सरकारले कृषि कार्यक्रमलाई किसानमुखी बनाउँदै उत्पादनसँगै बजारीकरण र पूर्वाधार विकासमा ध्यान दिने जनाएको छ।

Read More

धौवादी फलाम खानी उत्खननको योजना तयार, ९ करोड ६० लाख धाउँ फलाम उत्खनन गर्ने लक्ष्य

काठमाडौँ। धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानी उत्खननका लागि योजना तयार गरेको छ। कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खानीबाट ९ करोड ६० लाख धाउँ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भू–गर्भ विभागमा बुझाएको जनाएको छ।

कम्पनीका अनुसार खानी क्षेत्रलाई धौवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ। धौवादी पोखरी ब्लक २५ वर्ग किलोमिटर र दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

उक्त योजना स्वीकृत भएपछि फलामको भण्डारसम्बन्धी थप अनुसन्धान तथा उत्खननको काम अघि बढाइने कम्पनीले जनाएको छ। नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धौवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको हो।

कम्पनीका निर्देशक शैलेशकुमार थापाका अनुसार जमिनमुनि रहेको फलामको नमुना परीक्षणका लागि विभिन्न १२ स्थानमा गरी एक हजार ५०० मिटर ड्रिलिङ सम्पन्न गरिएको छ।

हाल खानीको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम भइरहेको कम्पनीले जनाएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कामसमेत छिट्टै सुरु गरिने जनाइएको छ।

खानी सञ्चालनमा आएपछि उत्पादित फलामजन्य वस्तुले मुलुकको कुल मागको करिब २५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्न सक्ने अपेक्षा गरिएको निर्देशक थापाले बताए। खानी सञ्चालनबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने उनको विश्वास छ।

खानीसम्म पहुँचका लागि आवश्यक पूर्वाधार निर्माण तथा सडक स्तरोन्नतिको कामसमेत भइरहेको कम्पनीले जनाएको छ।

Read More

भदौ अन्तिम सातादेखि नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने

काठमाडौं लामो समयदेखि स्थगित नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भदौ ३१ गतेदेखि उक्त रुटमा पुनः नियमित उडान सुरु गर्न लागेको जनाएको छ।

बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार यात्रुको माग बढ्दै गएपछि सेवा पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो। नेपालगञ्ज हुँदै भारतको उत्तर प्रदेश क्षेत्रलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान धार्मिक तथा पर्यटन यात्रुका लागि महत्वपूर्ण मानिएको छ।

गत जेठ ५ गतेदेखि उक्त रुटको उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु तथा इन्धन खर्च तुलनात्मक रूपमा बढी हुनुका कारण सेवा रोकिएको शाहले बताए। पछिल्लो समय धार्मिक पर्यटकको आवागमन बढ्नुका साथै यात्रुको मागसमेत वृद्धि भएपछि उडान पुनः सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।

बुद्ध एयरका अनुसार नेपालगञ्ज–पोखरा रुटमा अब आइतबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान हुनेछ। कम्पनीले यात्रुका लागि बुकिङसमेत खुला गरिसकेको जनाएको छ।

हवाई सेवा पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्ज हुँदै पश्चिम नेपाल र भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायका लागि महत्वपूर्ण रहेको बताए।

उनका अनुसार उडान पुनः सञ्चालन भएपछि पोखरालगायतका पर्यटकीय क्षेत्रबाट बाँकेको बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा आवतजावत गर्न सहज हुनेछ। त्यस्तै, बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न पनि हवाई सम्पर्क सहज हुने उनले बताए।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि नेपालगञ्ज–पोखरा रुटमा सातामा तीन दिन नियमित उडान सुरु गरिएको थियो। सेवा पुनः सञ्चालनसँगै पश्चिम नेपाल र पोखराबीचको पर्यटन तथा व्यावसायिक आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

Read More

४२० मेगावाटको तिला–२ जलविद्युत् आयोजनामा ५२ अर्ब ५५ करोड ऋण लगानी

काठमाडौं। कालीकोटमा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाका लागि एभरेस्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता भएको छ।

मातिला पावर कम्पनीद्वारा प्रवर्द्धित आयोजनामा सानिमा बैंक सहअगुवा तथा प्राइम कमर्सियल, एनआईसी एसिया र ग्लोबल आईएमई बैंक लिड बैंकका रूपमा सहभागी छन्। सिद्धार्थ, नबिल, नेपाल इन्फ्रास्ट्रक्चर, कृषि विकास, मुक्तिनाथ विकास र कामना सेवा विकास बैंक पनि लगानीकर्ताका रूपमा छन्।

आयोजनाको अनुमानित लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेको छ। यसको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ ऋण र बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ स्वपूँजीबाट जुटाइनेछ।

तिलागुफा नगरपालिकामा बाँध र खाँडाचक्र नगरपालिकामा विद्युत्गृह निर्माण हुने आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। आयोजनाबाट वार्षिक २ हजार ३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

आयोजनाले २०७५ भदौ ७ गते विद्युत् उत्पादन अनुमति पाएको थियो भने २०८१ कात्तिक ७ गते नेपाल विद्युत् प्राधिकरणसँग २९६.७४ मेगावाट क्षमताका लागि विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ।

आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत सेयर छुट्याइएको छ। वित्तीय व्यवस्थापन पूरा भएसँगै आयोजना निर्माणको महत्वपूर्ण चरण अघि बढेको कम्पनीले जनाएको छ।

Read More

धनगढी यातायात कार्यालयको राजस्व सङ्कलन ७७ करोड नाघ्यो

काठमाडौं । यातायात व्यवस्था कार्यालय, धनगढीले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न शीर्षकबाट रु ७७ करोड ५१ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा रु १ करोड ९५ लाख २ हजार ३६५ बढी हो।

कार्यालय प्रमुख भुवन जोशीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले रु ७५ करोड ५६ लाख २७ हजार ३५५ राजस्व सङ्कलन गरेको थियो।

गत आर्थिक वर्षमा सङ्कलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा सवारीसाधन करको रहेको छ। यस शीर्षकबाट रु ५९ करोड ३७ लाख १४ हजार ३८० सङ्कलन भएको छ। सबैभन्दा कम भने अन्य प्रशासनिक सेवा शुल्कबाट रु १ हजार ४०० सङ्कलन भएको कार्यालयले जनाएको छ।

राजस्व सङ्कलनको विवरण यस्तो छ।

राजस्वको शीर्षकसङ्कलित रकम
सवारीसाधन कररु ५९ करोड ३७ लाख १४ हजार ३८०
चालक अनुमतिपत्र तथा सवारी दर्ता किताब दस्तुररु १६ करोड ५५ लाख ८९ हजार ७४५
यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट इजाजत)रु १ करोड ४१ लाख १३ हजार ८३५
व्यवसाय रजिस्ट्रेसन दस्तुररु १६ लाख ७८ हजार २२०
बिमादाबी प्राप्तिरु ३२ हजार १४०
अन्य प्रशासनिक सेवा शुल्करु १ हजार ४००

कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन बढेको हो।

Category: अर्थतन्त्र/राजस्व

Read More

इलामस्थित सङ्घीय र कोशी प्रदेश सरकारका कार्यालयको बजेट खर्च तथा राजस्व सङ्कलनको अवस्था सार्वजनिक

काठमाडौं । इलाममा आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय र कोशी प्रदेश सरकारअन्तर्गतका कार्यालयको बजेट खर्च अघिल्लो आर्थिक वर्षको तुलनामा कमजोर देखिएको छ। सोही अवधिमा यी कार्यालयमार्फत सङ्कलन भएको राजस्वसमेत अघिल्लो वर्षको तुलनामा उल्लेख्य घटेको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय इलामका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय र कोशी प्रदेशका कार्यालयमार्फत कुल रु ५२ करोड ८६ लाख ५८ हजार ३७८ राजस्व सङ्कलन भएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ४८ दशमलव ९४ प्रतिशतले कम हो।

राजस्व सङ्कलनको विवरण यस्तो छ।

राजस्व सङ्कलनआव २०८१/८२आव २०८२/८३
सङ्घीय कार्यालयरु ८४ करोड ८२ लाख ७६ हजार ४०७रु ३४ करोड १७ लाख १२ हजार ३९८
कोशी प्रदेशका कार्यालयरु १८ करोड ७१ लाख ५१ हजार २८०रु १८ करोड ६९ लाख ४४ हजार ९७९
कुल राजस्वरु ५२ करोड ८६ लाख ५८ हजार ३७८

गत आर्थिक वर्षमा स्थानीय तहले खर्च गर्न नसकेका सशर्त, समपूरक र विशेष अनुदानका रकमसमेत समयमै फिर्ता गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

दुई अर्बभन्दा बढी बजेट खर्च हुन सकेन

इलामका सङ्घीय तथा प्रदेश सरकारअन्तर्गतका कार्यालयका लागि आर्थिक वर्ष २०८२/८३ मा कुल रु १२ अर्ब १२ करोड ४१ लाख २ हजार ९५२ बजेट विनियोजन भएको थियो। त्यसमध्ये रु १० अर्ब ३० लाख ६ हजार १५६ खर्च भएको छ भने रु २ अर्ब १२ करोड १० लाख ९६ हजार ७९६, अर्थात् १७ दशमलव ५ प्रतिशत बजेट खर्च हुन नसकी फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामका कोष नियन्त्रक एवं सूचना अधिकारी दीपकराज कार्कीले जानकारी दिए।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय र कोशी प्रदेश सरकारतर्फ चालु तथा पुँजीगत खर्चका लागि विनियोजित रु १२ अर्ब ३८ करोड ८ लाख ८६ हजार २८३ मध्ये रु १ अर्ब ९४ करोड ५ लाख १५ हजार २५६ फिर्ता भएको थियो।

सङ्घीय सरकारको बजेट खर्च

आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय सरकारको चालुतर्फ रु ७ अर्ब ७१ करोड ५४ लाख ७८ हजार ८७५ बजेट विनियोजन भएकामा रु ७ अर्ब २२ करोड ९४ लाख ३५ हजार ५० खर्च भएको छ। यस शीर्षकमा रु ४८ करोड ६० लाख ४३ हजार ८२५ फिर्ता भएको छ। चालुतर्फको खर्च ९३ दशमलव ७० प्रतिशत रहेको छ।

पुँजीगततर्फ रु २ अर्ब ४८ करोड ४७ लाख ९७ हजार ७७ विनियोजन भएकामा रु १ अर्ब ३६ करोड ५८ लाख २७ हजार ६९१ खर्च भएको छ। रु १ अर्ब ११ करोड ८९ लाख ६९ हजार ३८६ फिर्ता भएको छ भने पुँजीगत बजेटको खर्च ५४ दशमलव ९७ प्रतिशत मात्र रहेको छ।

सङ्घीय सरकारविनियोजित बजेटखर्चफिर्ताखर्च प्रतिशत
चालु, आव २०८२/८३रु ७ अर्ब ७१ करोड ५४ लाख ७८ हजार ८७५रु ७ अर्ब २२ करोड ९४ लाख ३५ हजार ५०रु ४८ करोड ६० लाख ४३ हजार ८२५९३.७०%
पुँजीगत, आव २०८२/८३रु २ अर्ब ४८ करोड ४७ लाख ९७ हजार ७७रु १ अर्ब ३६ करोड ५८ लाख २७ हजार ६९१रु १ अर्ब ११ करोड ८९ लाख ६९ हजार ३८६५४.९७%

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय सरकारको चालुतर्फ रु ७ अर्ब ३८ करोड ९३ लाख ११ हजार ५६७ विनियोजन भएकामा रु ६ अर्ब ८५ करोड ७६ लाख ८७ हजार २०० खर्च भएको थियो। सो वर्ष रु ५३ करोड १६ लाख २४ हजार ३६७ फिर्ता भएको थियो।

त्यस्तै, पुँजीगततर्फ रु ३ अर्ब १६ करोड १ लाख ८६ हजार ७३३ विनियोजन भएकामा रु २ अर्ब २२ करोड ७३ लाख ५५ हजार १०३ खर्च भएको थियो। रु ९३ करोड २८ लाख ३१ हजार ६३० फिर्ता भएको थियो।

कोशी प्रदेश सरकारको बजेट खर्च

आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेश सरकारको चालुतर्फ रु ८४ करोड १५ लाख १६ हजार विनियोजन भएकामा रु ६७ करोड ५५ लाख १४ हजार १९० खर्च भएको छ। रु १६ करोड ६० लाख १ हजार ८१० फिर्ता भएको छ भने खर्च ८० प्रतिशत रहेको छ।

पुँजीगततर्फ रु १ अर्ब ८ करोड २३ लाख ११ हजार विनियोजन भएकामा रु ७३ करोड २२ लाख २९ हजार २२६ खर्च भएको छ। रु ३५ करोड ८१ हजार ७७४ फिर्ता भएको छ भने खर्च ६८ प्रतिशत रहेको सूचना अधिकारी कार्कीले जानकारी दिए।

कोशी प्रदेश सरकारविनियोजित बजेटखर्चफिर्ताखर्च प्रतिशत
चालु, आव २०८२/८३रु ८४ करोड १५ लाख १६ हजाररु ६७ करोड ५५ लाख १४ हजार १९०रु १६ करोड ६० लाख १ हजार ८१०८०%
पुँजीगत, आव २०८२/८३रु १ अर्ब ८ करोड २३ लाख ११ हजाररु ७३ करोड २२ लाख २९ हजार २२६रु ३५ करोड ८१ हजार ७७४६८%

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेश सरकारको चालुतर्फ रु ८६ करोड ७३ लाख ५३ हजार २ विनियोजन भएकामा रु ७२ करोड ३५ लाख ८० हजार २९५ खर्च भएको थियो भने रु १४ करोड ३७ लाख ७२ हजार ७०७ फिर्ता भएको थियो।

त्यस्तै, पुँजीगततर्फ रु ९६ करोड ४० लाख ३४ हजार ९८१ विनियोजन भएकामा रु ६३ करोड १७ लाख ४८ हजार ४२९ खर्च भएको थियो भने रु २२ करोड २२ लाख ८६ हजार ५५२ बजेट फिर्ता भएको थियो।

समग्र विवरणले आर्थिक वर्ष २०८२/८३ मा इलाममा सङ्घीय सरकार र कोशी प्रदेश सरकारअन्तर्गतका कार्यालयको पुँजीगत बजेट खर्च अपेक्षाकृत कमजोर रहेको देखाएको छ। यससँगै सङ्घीय कार्यालयमार्फत हुने राजस्व सङ्कलनमा समेत ठूलो कमी आएको छ।

Read More

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। बुधबार ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Read More

उद्योगको बक्यौता असुलीमा तीव्रता, ५१ करोडभन्दा बढी रकम उठ्यो

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि लामो समयदेखि उठ्न नसकेको उद्योगको बक्यौता असुली प्रक्रियाले गति लिएको छ। उद्योग मन्त्रालयले वर्षौँदेखि बाँकी रहेको भाडा तथा अन्य बक्यौता रकम असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि सरकारी खातामा करोडौँ रुपैयाँ फिर्ता हुन थालेको हो।

मन्त्रालयका अनुसार करिब ४० वर्षदेखि असुल हुन नसकेको उद्योगको भाडा बक्यौतासमेत पछिल्लो समय उठ्न थालेको छ। राज्यलाई बुझाउनुपर्ने रकम लामो समयदेखि नतिरेका उद्योग तथा संस्थाबाट बक्यौता असुल गर्न मन्त्री यादवले निर्देशन दिएपछि प्रक्रिया तीव्र पारिएको मन्त्रालयले जनाएको छ।

बक्यौता असुली अभियानअन्तर्गत कन्टिनेन्टलबाट मात्रै ४ करोड ११ लाख ९३ हजार ६८९ रुपैयाँ ७५ पैसा उठाइएको छ। यससँगै हालसम्म उद्योगहरूको बक्यौताबापत कुल ५१ करोड २६ लाख ३० हजार ७९९ रुपैयाँ २७ पैसा असुल भइसकेको मन्त्रालयले जनाएको छ।

बक्यौता असुलीसँगै लामो समयदेखि अवरुद्ध उद्योग सञ्चालनलाई सहज बनाउने पहलसमेत अघि बढाइएको छ। मन्त्रालयका अनुसार पछिल्लो समय थप एक उद्योगको विद्युत् लाइन पुनः जडान गरिएको छ।

विद्युत् बक्यौता नतिरेका कारण हालसम्म १६ वटा उद्योगको विद्युत् लाइन काटिएको अवस्थामा रहेको मन्त्रालयले जनाएको छ। बक्यौता भुक्तानी तथा उद्योग सञ्चालनसँग सम्बन्धित विषयमा आवश्यक सहजीकरण गर्दै असुली अभियानलाई निरन्तरता दिने मन्त्रालयको भनाइ छ।

Read More

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको थियो।

Read More