२०८३ भाद्र २९

५५ भन्दा बढी ब्रान्डसहित नाइमा मोबिलिटी एक्स्पो सुरु

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानिफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ।

एक्स्पोको उद्घाटन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गरेका हुन्। साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ५५ भन्दा बढी अटोमोबाइल ब्रान्डको सहभागिता रहेको छ भने ४० भन्दा बढी नयाँ मोडल तथा उत्पादन सार्वजनिक गरिने आयोजकले जनाएको छ।

एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी समाधान, नयाँ प्रविधि, सेवा र अन्य मोबिलिटीसम्बन्धी उत्पादन प्रदर्शनमा राखिएका छन्।

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ५१ भन्दा बढी स्टल निर्माण गरिएको छ। एक्स्पोमा हुन्डाई, बीवाईडी, निसान, टाटा, टोयोटा, किया र महिन्द्रालगायत प्रमुख अटोमोबाइल ब्रान्ड सहभागी छन्।

आयोजकका अनुसार यस वर्षको एक्स्पो गत वर्षको तुलनामा थप भव्य र प्रविधिमैत्री बनाइएको छ।

Read More

उत्तरगङ्गा जलाशययुक्त आयोजनाले पायो उत्पादन अनुमतिपत्र, निर्माण प्रक्रिया अघि बढ्ने

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको बागलुङको ८२८ मेगावाट क्षमताको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको बाटो थप स्पष्ट भएको छ। विद्युत् विकास विभागले आयोजनाका लागि उत्पादन अनुमतिपत्र जारी गरेसँगै आयोजनाको निर्माणसम्बन्धी प्रक्रिया अघि बढ्ने भएको हो।

विभागले साउन २० गते उत्तरगङ्गा पावर कम्पनीलाई आयोजनाको उत्पादन अनुमतिपत्र प्रदान गरेको हो। विद्युत् विकास विभागका सूचना अधिकारी बद्री कुइँकेलका अनुसार ८२८ मेगावाट क्षमताको आयोजनाले उत्पादन अनुमतिपत्र पाएको छ। विसं २०६१ देखि चर्चामा रहेको यो आयोजना पछिल्लो निर्णयसँगै कार्यान्वयनको चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बागलुङको ढोरपाटन नगरपालिकास्थित ढोरपाटन उपत्यकामा उत्तरगङ्गा नदीको पानी जम्मा गरी निसीखोलातर्फ पठाएर विद्युत् उत्पादन गरिनेछ। यसका लागि उत्तरगङ्गा नदीमा अग्लो बाँध निर्माण गरी जलाशय तयार गरिनेछ।

जलाशयमा संकलित पानी करिब ६.५१ किलोमिटर लामो मुख्य सुरुङमार्फत निसीखोलातर्फ मोडिनेछ। यसअघि आयोजनाको पानी भेरीतर्फ लैजाने कि निसीखोलामा फर्काउने भन्ने विषयमा लामो समयदेखि विवाद रहँदै आएको थियो। पछिल्लो स्वीकृत संरचनाअनुसार भने उत्तरगङ्गाको पानी निसीखोलामा फर्काएर विद्युत् उत्पादन गर्ने निश्चित भएको छ।

उत्तरगङ्गा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन २०८० माघ २ गते नै स्वीकृत भइसकेको थियो। उक्त प्रतिवेदनले पनि उत्तरगङ्गाको पानी निसीखोलातर्फ फर्काएर विद्युत् उत्पादन गर्ने संरचनालाई नै अघि बढाउने निष्कर्ष निकालेको थियो।

सरकारले उत्तरगङ्गासँगै अन्य ठूला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पनि अघि बढाउने तयारी गरेको छ। चालु आर्थिक वर्षमा १ हजार ६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी–५ र ७७ मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया अगाडि बढाउने सरकारी योजना छ।

Read More

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग आज छलफल गर्ने भएका छन् ।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्री वाग्लेले छलफल गर्न लागेका हुन् । छलफलका लागि कम्पनीका उच्चपदस्थ विदेशी अधिकारी तथा नेपाली साझेदारलाई मन्त्रालयमा बोलाइएको छ ।

अर्थ मन्त्रालयको सुवर्ण हलमा दिउँसो १२ बजे सुरु हुने छलफलमा बहुराष्ट्रिय कम्पनीले बजेटमार्फत प्राप्त गरेका सुविधा, नेपालमा व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या तथा लगानी विस्तारका विषयमा छलफल हुने जनाइएको छ ।

त्यसक्रममा अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी आकर्षित गर्न, रोजगारीका अवसर बढाउन तथा कम्पनीले आर्जन गरेको प्रतिफल फिर्ता लैजाने प्रक्रियामा सरकारले गर्नुपर्ने सहजीकरणबारे कम्पनीका प्रतिनिधिलाई आफ्ना धारणा खुलस्त राख्न आग्रह गर्नेछन् । साथै, समस्या तथा सुझाव लिखित रूपमा समेत उपलब्ध गराउन भनिनेछ ।

बजेट कार्यान्वयनसम्बन्धी छलफलको यही शृङ्खलामा यसअघि अर्थमन्त्री वाग्लेले उत्पादनमूलक क्षेत्रमा लगानी गरी ठूलो रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएका ३३ औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसकेका छन् ।

यसैगरी, उनले नेपालका ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग समेत बजेट कार्यान्वयनका विषयमा छलफल गरिसकेका छन् ।

Read More

महँगो हवाई भाडाले पर्यटन क्षेत्र प्रभावित भएको सोट्टो नेपालको भनाइ

काठमाडौं। सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको जनाएको छ ।

सोट्टो नेपालले पर्यटन पत्रकारसँग गरेको अन्तरक्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने विदेशी पर्यटक प्रभावित भइरहेको बताए ।

उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा सुरक्षा मापदण्डलाई बलियो बनाउन तथा अव्यावहारिक कर र नियम हटाउन सरकारसँग माग गरे । अध्यक्ष शाहीले विदेशी वायुसेवा कम्पनीको एकाधिकार बढ्दै गएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप जहाज व्यवस्थापन गरी कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने बताए ।

सन् २००८ मा स्थापना भएको सोट्टो नेपालले पर्यटन क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्दै स्वस्थ तथा मर्यादित पर्यटन वातावरण निर्माणमा सक्रिय भूमिका खेल्दै आएको जनाएको छ ।

कार्यक्रममा सोट्टो नेपालका पूर्वअध्यक्ष भुवनबहादुर पाण्डेले संस्थाले स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन सम्भावना प्रवद्र्धन गर्दै आएको जानकारी दिए ।

उनका अनुसार सिङ्गापुर, मलेसिया, रुस, फिनल्यान्ड, थाइल्यान्ड, भियतनाम, कम्बोडिया तथा भारतका विभिन्न राज्यमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको छ ।

आन्तरिक पर्यटनतर्फ रारा, खप्तड, रेसुङ्गा, ऋषिकेश मन्दिर, सुपादेउराली र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिएको सोट्टो नेपालले जनाएको छ । स्थानीय तहसँगको सहकार्यमा पदयात्रा, होमस्टे प्रवद्र्धन तथा स्थानीय पर्यटन विकासका कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् ।

Read More

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५८ हजार ४९० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ४ हजार ६७० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Read More

लुम्बिनीमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान

काठमाडौं लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन गर्ने अभियान सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्यले आरोग्य पर्यटनलाई प्राथमिकतामा राख्दै अभियान थालिएको हो ।

निजी क्षेत्रको ट्रान्क्विलिटी स्पाले लुम्बिनीलाई केन्द्रमा राखेर हालै भैरहवामा पर्यटन व्यवसायीसँग छलफल गर्दै आरोग्य पर्यटन प्रवद्र्धन अभियानबारे जानकारी दिएको छ । स्पाका लुम्बिनी प्रदेश क्षेत्रीय निर्देशक नवीन थापाले आरोग्य पर्यटनका विभिन्न ‘प्याकेज’बारे जानकारी दिँदै योग, ध्यान, मसाज, हाइड्रोथेरापी, स्टिम बाथ, बडी स्क्रब, फिटनेस लगायतका सेवाका विशेषताबारे जानकारी गराए ।

लुम्बिनी प्रदेश होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आरोग्य पर्यटनलाई प्रभावकारी रूपमा अघि बढाउन यसको बजारीकरणमा जोड दिनुपर्ने बताए ।

नेपाल एसोसिएसन अफ ट्राभल एजेन्सिज (नाटा) का सदस्य चन्द्र थापाले आरोग्य पर्यटनलाई नियमित पर्यटकीय प्याकेजसँग जोड्न सके नेपाल आउने पर्यटकको बसाइ अवधि बढाउन सकिने बताए ।

Read More

सुनको मूल्य प्रतितोला ८ हजारले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८ हजारले बढेर रु २ लाख ९६ हजार पुगेको छ ।

अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला रु २ लाख ८८ हजारमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु ९५ ले वृद्धि भएको छ । चाँदीको मूल्य आज प्रतितोला रु ४ हजार ५७० कायम भएको छ भने अघिल्लो दिन रु ४ हजार ४७५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ । आज सुनको मूल्य प्रतिऔँस ४ हजार २६५ अमेरिकी डलर तथा चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ ।

Read More

अर्थतन्त्र सुधारका लागि स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरण र संरचनागत सुधारलाई गति दिन नीतिगत आत्मविश्वास, स्थिरता र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको उच्चस्तरीय छलफलमा अर्थमन्त्री वाग्लेले आर्थिक सुधारका लागि सरकार, नियामक निकाय र निजी क्षेत्रबीच स्पष्ट समन्वय आवश्यक रहेको धारणा राखेका हुन्।

छलफलमा उनले निजी क्षेत्रले केवल आर्थिक सहुलियत मात्र नभई स्थिर नीति, स्पष्ट नियम, छिटो निर्णय प्रक्रिया र भरपर्दो कार्यान्वयनको अपेक्षा गरिरहेको बताए। सरकारका नीति, प्राथमिकता र कार्यसम्पादन एउटै उद्देश्यतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

विगत एक दशकका आर्थिक नीतिको समीक्षा गर्दै अर्थमन्त्री वाग्लेले धेरै नीतिगत निर्णयहरू व्यवहारिक कार्यान्वयनमा कमजोर देखिएको उल्लेख गरे। नीतिहरू अपेक्षित परिणाम दिन नसक्नुका कारण पहिचान गरी सुधारको बाटो तय गर्नुपर्ने उनको भनाइ थियो।

उनले उत्पादनमुखी क्षेत्रमा कर्जा विस्तार गर्ने, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, व्यवसाय र रोजगारी सिर्जनामा परिचालन गर्ने तथा पुँजी बजार र वास्तविक अर्थतन्त्रबीच सन्तुलित सम्बन्ध विकास गर्ने विषयमा राष्ट्र बैंकबाट ठोस सुझाव मागेका छन्।

अर्थमन्त्री वाग्लेले डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणको विकासलाई सहज बनाउने नीतिमा समेत जोड दिए।

छलफलका क्रममा उनले निजी क्षेत्र किन लगानीमा सतर्क देखिएको छ र बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार किन अपेक्षित रूपमा हुन नसकेको छ भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए।

विद्यमान नियमनले नवप्रवर्तनलाई प्रोत्साहन गरिरहेको छ वा अवरोध सिर्जना गरिरहेको छ भन्ने विषयमा पनि केन्द्रीय बैंकले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य हुन सके आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहज हुने विश्वास उनले व्यक्त गरे।

चालु आर्थिक वर्षको बजेटलाई नियमित वार्षिक कार्यक्रम मात्र नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको आधारका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले राष्ट्र बैंकलाई केवल नियामक निकायका रूपमा नभई आर्थिक रूपान्तरणको सहयात्रीका रूपमा भूमिका निर्वाह गर्न आग्रह गरे।

सरकारले कानुनी संशोधन र संस्थागत सुधारका प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले मौद्रिक नीतिमा पनि स्पष्टता र गतिशीलता आवश्यक रहेको बताए। छलफलबाट प्राप्त सुझावलाई ठोस कार्ययोजनामा रूपान्तरण गरिने र आवश्यक परे नीतिगत समन्वयका लागि संयुक्त कार्यदल गठन गरिने प्रतिबद्धता उनले व्यक्त गरे।

Read More

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ४ हजार २०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो दिन यसको मूल्य प्रतितोला ४ हजार ३८० रुपैयाँ रहेको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्व बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ। आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ४ हजार १२७ अमेरिकी डलर र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ।

Read More

जुट उत्पादन घट्दा आयातमा निर्भर हुँदै नेपाल, कच्चा जुट खरिदमा अर्बौं रुपैयाँ बाहिरिँदै

काठमाडौं। कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गर्थ्यो। तर पछिल्ला वर्षहरूमा स्वदेशी उत्पादन घट्दै गएपछि नेपालका जुट उद्योगहरू कच्चा पदार्थका लागि विदेशी बजारमा निर्भर हुन थालेका छन्।

पूर्वीनाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८२/८३ मा मात्रै रु चार अर्ब ९१ करोड ६६ लाख ६२ हजार बराबरको कच्चा जुट आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा रु चार अर्ब ३४ करोड १२ लाख ६१ हजारको जुट आयात भएको थियो। एक वर्षको अवधिमा कच्चा जुट आयात करिब रु ५७ करोड ५४ लाख अर्थात् १३.२५ प्रतिशतले बढेको देखिएको छ।

मेची भन्सार कार्यालयका अनुसार काँकरभिट्टा नाकाबाट आयात हुने वस्तुमध्ये मूल्यका आधारमा पेट्रोल र डिजेलपछि कच्चा जुट तेस्रो ठूलो आयातित वस्तु बनेको छ। पछिल्ला वर्षहरूमा यही नाकाबाट जुट आयातको मात्रा निरन्तर बढिरहेको भन्सारको तथ्याङ्कले देखाएको छ।

सरकारी अभिलेखअनुसार पूर्वी नेपालमा २०४३/४४ सालदेखि व्यावसायिक रूपमा जुटखेती विस्तार भएको थियो। त्यतिबेला यहाँ उत्पादन भएको जुट स्वदेशी उद्योगमा प्रयोग हुनुका साथै भारत र बङ्गलादेशमा समेत निर्यात हुने गर्थ्यो। अहिले भने उत्पादन घटेकाले उद्योगको माग पूरा गर्न विदेशबाट कच्चा जुट ल्याउनुपर्ने अवस्था बनेको छ।

कृषि क्षेत्रका अधिकारीहरूका अनुसार उत्पादन लागत बढ्नु, किसानले उचित मूल्य नपाउनु र आम्दानी अपेक्षाअनुसार नहुनु जुटखेती घट्नुका मुख्य कारण हुन्। किसानहरू पछिल्ला वर्षहरूमा जुट छाडेर धानलगायत अन्य बालीतर्फ आकर्षित हुँदै गएका छन्।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा अहिले करिब पाँच हजार हेक्टर क्षेत्रफलमा मात्रै जुटखेती भइरहेको छ। लागत बढी र प्रतिफल कम भएकाले किसानले जुटखेती कम गर्दै गएको र उत्पादनमा उल्लेख्य गिरावट आएको उनले बताए।

Read More