२०८३ आश्विन १

१५ जिल्लामा आकस्मिक बाढीको जोखिम, सात सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं । आज देशका १५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ती जिल्लाका स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने भएकाले नदी आसपासका बस्ती तथा सडक क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ।

ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, तनहुँ, लमजुङ, कास्की, दैलेख र सुर्खेत तथा आसपासका क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेको छ।

यसैबीच, देशभरका सात सडक पूर्णरूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। मेची राजमार्गको इलाम खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड तथा जाजरकोट–डोल्पा सडक खण्ड अवरुद्ध छन्।

सिन्धुपाल्चोकको लिपिङ र रसुवाको खाल्टेमा आएको बाढी तथा पहिरोका कारण सडक सञ्चालनमा आउन सकेको छैन। यस्तै, सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बागमती प्रदेशका बीपी राजमार्ग, कान्ति लोकपथ र टोखा–छहरे सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

Read More

संसद् बैठक आज : प्रतिनिधिसभा र राष्ट्रियसभामा यस्तो छ कार्यसूची

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजेका लागि बोलाइएको छ। दुवै सदनका बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्नुका साथै छलफलका लागि सम्बन्धित समितिमा पठाउनेलगायतका विषय कार्यसूचीमा छन्। बैठकमार्फत कानुन निर्माणसँग सम्बन्धित महत्त्वपूर्ण प्रक्रियालाई अघि बढाउने तयारी गरिएको छ।

प्रतिनिधिसभामा विधेयक प्रस्तुत तथा समितिमा पठाउने प्रस्ताव

सिंहदरबारमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। साथै, संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पनि बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रियसभामा विशेष सेवा ऐनसम्बन्धी विधेयक

बिहान १०ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

कानुन निर्माण प्रक्रियालाई अघि बढाउने तयारी

प्रतिनिधिसभा र राष्ट्रियसभाका आजका बैठकमा विभिन्न विधेयक तथा सम्झौतासम्बन्धी विषय अघि बढ्ने भएकाले कानुन निर्माण प्रक्रियाका दृष्टिले बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। दुवै सदनबाट सम्बन्धित विधेयकहरू समितिमा पठाइएपछि तिनमा थप दफावार छलफल र आवश्यक प्रक्रिया अघि बढ्नेछ।

Read More

२७ सहसचिवको सरुवा, मन्त्रिपरिषद्ले गर्‍यो निर्णय

काठमाडौं । सरकारले विभिन्न सरकारी निकायमा कार्यरत २७ जना सहसचिवको सरुवा गरेको छ।

३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले ठूलो संख्यामा सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो।

सरकारले प्रशासनिक आवश्यकता र कार्यसम्पादन व्यवस्थापनलाई ध्यानमा राख्दै सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ।

Read More

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत् उत्पादनको तयारी

काठमाडौं । म्याग्दीको ४० मेगावाट क्षमताको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक निर्माण तथा उपकरण जडानको काम पूरा भएसँगै विद्युत् उत्पादनको तयारी अघि बढाइएको हो ।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार आयोजनाको बाँध, डिसेन्डर, सुरुङ र स्विचयार्डको परीक्षण सफल भइसकेको छ । २० मेगावाट क्षमताको एउटा युनिटको परीक्षणसमेत पूरा भइसकेको छ भने अर्को २० मेगावाट क्षमताको युनिटको परीक्षण आइतबारदेखि सुरु गरिएको छ । दुवै युनिटको परीक्षणका लागि एक सातादेखि १० दिनसम्म लाग्ने र त्यसपछि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको उनले बताए ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा निर्माण गरिएको बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा दुई वटा पानी थिग्र्याउने पोखरीको परीक्षण पूरा भइसकेको छ । तिल्केनीचौरमा निर्माण गरिएको विद्युत्गृहमा जडान गरिएका उपकरणको परीक्षणसमेत भइरहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोड्न विद्युत्गृह परिसरमा निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आइसकेको छ । राहुघाटबाट उत्पादन हुने विद्युत् कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी डबल सर्किट क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिनेछ । यसका लागि आवश्यक चार वटा टावर र प्रसारण लाइन निर्माणको काम पनि पूरा भएको छ ।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित २०७४ मङ्सिर ६ गते अर्थात् सन् २०१७ नोभेम्बर १७ मा करिब छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर कोरोना महामारी, बाढी, पहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण आयोजना निर्माणमा ढिलाइ भएको जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए ।

आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारूपमा आयोजना निर्माण गरिएको हो ।

यसअघि कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का सम्झौता तोडिएको थियो । आइभिआरसिएलसँग २०६६ सालमा आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । त्यसपछि नयाँ प्रक्रियाबाट आयोजना निर्माण अघि बढाइएको हो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले राहुघाट जलविद्युत् आयोजनालाई जिल्लाको जलविद्युत् विकासको प्रवेशविन्दुका रूपमा लिइएको बताए । उनका अनुसार राहुघाट आयोजना सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन् । करिब दुई दशक लामो प्रतीक्षापछि राहुघाट आयोजना सम्पन्न हुन लागेको खबरले जिल्लावासी उत्साहित भएको उनले बताए ।

जेपीले २०७५ असारमा आयोजनाको पहुँचमार्ग निर्माण तथा २०७६ असारमा मुख्य सुरुङ खन्ने काम सुरु गरेको थियो । आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो । परीक्षणका बाँकी काम पूरा भएपछि आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु हुने अपेक्षा गरिएको छ ।

Category: Others

Read More

प्रधानमन्त्री शाह आज काठमाडौं फर्किँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह तीन दिने निजी भ्रमण सकेर आज काठमाडौं फर्किने भएका छन्। प्रधानमन्त्री शाह शुक्रबार पोखरा पुगेका थिए भने शनिबार सडकमार्ग हुँदै मुस्ताङ पुगेका थिए। आइतबार मुस्ताङबाट पोखरा फर्किएका उनी सोमबार काठमाडौं फर्किन लागेका हुन्।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रधानमन्त्री शाहको भ्रमण नितान्त पारिवारिक भएकाले त्यसबारे प्रशासनलाई समेत विस्तृत जानकारी नरहेको बताए। उनका अनुसार प्रधानमन्त्री शाह सोमबार पोखराबाट काठमाडौं फर्किने कार्यक्रम छ।

प्रधानमन्त्री शाहले निजी भ्रमणका क्रममा शनिबार मुक्तिनाथ मन्दिरको दर्शनसमेत गरेका थिए। उनी काठमाडौंँदेखि सडकमार्ग हुँदै मुस्ताङ पुगेका थिए। निजी भ्रमण भएकाले प्रधानमन्त्री सहभागी हुने कुनै औपचारिक कार्यक्रम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रधानमन्त्री शाह शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बसेका थिए। आइतबार पनि उनी पोखराकै एक रिसोर्टमा बसेको बताइएको छ। परिवारका सदस्यसहित निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री शाहको तीन दिने गण्डकी भ्रमण सोमबार काठमाडौं फर्किएसँगै टुंगिनेछ।

Read More

निजामती कर्मचारी अस्पतालमा आइतबार विशेष ओपिडी सेवा

काठमाडौं । निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी र उनीहरूका परिवारका लागि प्रत्येक आइतबार विशेष ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति, छाला, नाक–कान–घाँटी, रेडियोलोजी र प्याथोलोजी सेवा उपलब्ध हुनेछन्।

अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार सेवामा आगामी दिनमा थप विशेषज्ञ सेवा पनि समावेश गरिनेछ। कर्मचारीलाई लामो समय लाइन बस्न नपरोस् र सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले विशेष ओपिडी सञ्चालन गर्न लागिएको उनले बताइन्।

Read More

प्रधानमन्त्री बालेनको आकस्मिक मुस्ताङ भ्रमणले बढायो राजनीतिक चासो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको शुक्रबार तय भएको आकस्मिक मुस्ताङ भ्रमणले राजनीतिक तथा प्रशासनिक वृत्तमा चासो बढाएको छ। प्रधानमन्त्री पोखरा हुँदै मुस्ताङ जाने तयारीमा रहँदा सोही दिन प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको पनि पोखरा आगमन हुने भएपछि भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्रीको सचिवालयले भ्रमणको उद्देश्य, भेटघाट र कार्यसूचीबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन। सुरक्षा निकाय र स्थानीय प्रशासनलाई भने अन्तिम समयमा भ्रमणबारे जानकारी गराइएको बताइएको छ।

मुस्ताङ सामरिक, वातावरणीय र जलस्रोतका दृष्टिले संवेदनशील क्षेत्र भएकाले प्रधानमन्त्रीको भ्रमणलाई विभिन्न कोणबाट हेरिएको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, सीमावर्ती सुरक्षा तथा विकास आयोजनाको अवस्थाबारे स्थलगत जानकारी लिन भ्रमण भएको हुनसक्ने अनुमान गरिएको छ।

यद्यपि, भ्रमणको वास्तविक उद्देश्यबारे प्रधानमन्त्री सचिवालयबाट आधिकारिक जानकारी नआएसम्म विभिन्न अड्कलबाजी मात्रै हुने देखिन्छ।

Read More

नेपाली बजारमा सुनको मूल्य तीन लाख १६ हजार ७०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ३०० रुपैयाँले वृद्धि भएको हो।

बिहीबार प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको छ।

चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला ४ हजार ८५५ रुपैयाँ रहेको चाँदी शुक्रबार १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यससँगै शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यले नयाँ उचाइ कायम गरेको छ।

Read More

स्मार्टसेल मुद्दामा बैंक सीईओ पाण्डेलाई ८० लाख धरौटी

काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति तथा धितोसम्बन्धी विवादमा मुछिएका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे तत्काल जेल जानुपर्ने अवस्थाबाट जोगिएका छन्। काठमाडौं जिल्ला अदालतले बिहीबार उनलाई ८० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।

न्यायाधीश कमलकान्त जोशीको इजलासले थुनछेक बहसपछि पाण्डेलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो। अब उनी अदालतमा विचाराधीन मुद्दाको सामना थुनाबाहिर रहेर गर्न सक्नेछन्।

पाण्डेविरुद्ध सरकारले स्मार्ट टेलिकमसँग जोडिएको कारोबारमा ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुर गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो। पाण्डेले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन्।

यसअघि पनि उनी प्रहरी हिरासतमा पुगेका थिए। गत वैशाख २९ गते सिन्धुलीबाट पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै जेठ ६ गते हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो। परिवारको तर्फबाट उनकी श्रीमती निरु दाहालले गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन्।

स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० सालमा आधारभूत टेलिफोन सेवाको अनुमति पाएको थियो। तर, कम्पनीले तोकिएको समयमा अनुमतिपत्र नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि अनुमति स्वतः खारेज भएको थियो।

अनुमतिपत्र खारेज भएपछि कम्पनीको सम्पत्ति र कर्जा असुलीसँग सम्बन्धित गतिविधिमा अनियमितता भएको आरोप उठेको हो। यही विषयलाई लिएर पाण्डेसहितका व्यक्तिमाथि सरकारले कानुनी कारबाही अघि बढाएको हो।

अदालतले अहिले पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश मात्र दिएको हो। उनी दोषी वा निर्दोष रहेको विषयमा अन्तिम फैसला हुन बाँकी छ।

Read More

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढ्यो

काठमाडौं । बिहीबारको प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले उकालो लागेको छ। सेसनको अन्त्यमा नेप्से ०.७४ अंकले बढेर २६२२.९७ विन्दुमा पुगेको हो।

प्रि-ओपन अवधिमा ५१ वटा कम्पनीका १७ हजार ७७५ कित्ता सेयर किनबेच भएका छन्। यस अवधिमा कुल ७७ लाख २३ हजार ९६० रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा आएका स्टकमध्ये १७ वटाको सेयर मूल्य बढेको छ भने २६ वटाको मूल्य घटेको छ। बाँकी ५ वटा स्टकको मूल्यमा कुनै परिवर्तन भएन।

Read More