२०८३ आश्विन १

स्वच्छ ऊर्जा कार्यक्रमका लागि ३६ जना जनशक्ति माग

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले तराईका २२ जिल्लामा सञ्चालन भइरहेको स्वच्छ खाना पकाउने ऊर्जा कार्यक्रमका लागि ३६ जना जनशक्ति माग गरेको छ।

केन्द्रले सार्वजनिक सूचना जारी गर्दै ‘क्लिन कुकिङ सोलुसन्स मोबिलाइजर’ अर्थात् स्वच्छ ऊर्जा परिचालक पदमा सेवा करारमार्फत कर्मचारी छनोट गर्न आवेदन आह्वान गरेको हो।

हरित जलवायु कोषको सहयोगमा तराईका २२ जिल्लाका बढीमा १५० स्थानीय तहमा स्वच्छ खाना पकाउने ऊर्जासम्बन्धी सीसीएस कार्यक्रम सञ्चालन भइरहेको छ।

कार्यक्रम अवधिभर काम गर्ने गरी कुल ३६ जना स्वच्छ ऊर्जा परिचालक नियुक्त गर्न लागिएको केन्द्रले जनाएको छ। माग गरिएका पदमध्ये १८ जना खुला प्रतिस्पर्धाबाट र थप १८ जना महिलाबाट छनोट गरिने व्यवस्था गरिएको छ।

केन्द्रका अनुसार परिचालकहरूले कार्यक्रम कार्यान्वयनमा स्थानीय तहसँग समन्वय गर्नुका साथै स्वच्छ खाना पकाउने ऊर्जाको प्रवर्द्धन तथा कार्यक्रमसँग सम्बन्धित गतिविधिमा सहयोग गर्नेछन्।

Read More

मध्य अफ्रिकी गणतन्त्रमा सुनखानी भासिँदा १०० भन्दा बढीको मृत्यु

काठमाडौं । मध्य अफ्रिकी गणतन्त्र (सीएआर) को पश्चिमी क्षेत्रमा क्यामरुन सीमाना नजिकै सुनखानी भासिँदा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ। दुर्घटनामा अझै धेरै मानिस बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार दिउँसो बाबुआ शहरबाट करिब ५० किलोमिटर टाढा जाम्बोए गाउँमा दुर्घटना भएको हो। गारुआ–बुलाई शहरका मेयर अदमो अब्दोनले घटनाको पुष्टि गर्दै उद्धार तथा खोजी कार्य जारी रहेको बताएका छन्।

उद्धारमा संलग्न रेडक्रसका स्वयंसेवक गेर्भिस गानागोरोह, स्थानीय खानी संघका अधिकारी तथा अन्य स्थानीय स्रोतका अनुसार हालसम्म १०० भन्दा बढी शव निकालिएको छ। मृतकमध्ये कम्तीमा तीन जना क्यामरुनका नागरिक रहेको र उनीहरूको शव अन्तिम संस्कारका लागि स्वदेश पठाइएको जनाइएको छ।

स्थानीय अधिकारी बर्ट्रान्ड बी याङ्गका अनुसार केही व्यक्ति अझै बेपत्ता छन् भने कतिपय भग्नावशेषमुनि पुरिएको आशंका गरिएको छ। त्यसैले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। घाइते तथा उद्धार गरिएका श्रमिकलाई उपचारका लागि बाबुआ शहरको अस्पताल लगिएको छ।

दुर्घटनाबाट बाँच्न सफल श्रमिक सेड्रिक म्बाङ्गोले जमिन अचानक भासिएपछि ठूलो संख्यामा श्रमिक माटो र भग्नावशेषमुनि पुरिएको बताएका छन्। बाबुआका सरकारी वकिलका अनुसार खानीभित्र रहेका धेरै भूमिगत सुरुङ एकैपटक धसिँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ। घटनाको वास्तविक कारण पत्ता लगाउन न्यायिक छानबिन सुरु गरिएको छ।

मध्य अफ्रिकी गणतन्त्रमा साना तथा परम्परागत खानी उत्खनन धेरै परिवारको जीविकोपार्जनको प्रमुख आधार भए पनि सरकारी निगरानी र सुरक्षा मापदण्ड कमजोर रहेका खानीमा यस्ता दुर्घटना दोहोरिँदै आएका छन्। पर्याप्त सुरक्षा उपकरण र सुरक्षित उत्खनन प्रणालीको अभावका कारण श्रमिकहरू जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य हुने गरेका छन्।

Read More

भदौ अन्तिम सातादेखि नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने

काठमाडौं लामो समयदेखि स्थगित नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भदौ ३१ गतेदेखि उक्त रुटमा पुनः नियमित उडान सुरु गर्न लागेको जनाएको छ।

बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार यात्रुको माग बढ्दै गएपछि सेवा पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो। नेपालगञ्ज हुँदै भारतको उत्तर प्रदेश क्षेत्रलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान धार्मिक तथा पर्यटन यात्रुका लागि महत्वपूर्ण मानिएको छ।

गत जेठ ५ गतेदेखि उक्त रुटको उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु तथा इन्धन खर्च तुलनात्मक रूपमा बढी हुनुका कारण सेवा रोकिएको शाहले बताए। पछिल्लो समय धार्मिक पर्यटकको आवागमन बढ्नुका साथै यात्रुको मागसमेत वृद्धि भएपछि उडान पुनः सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।

बुद्ध एयरका अनुसार नेपालगञ्ज–पोखरा रुटमा अब आइतबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान हुनेछ। कम्पनीले यात्रुका लागि बुकिङसमेत खुला गरिसकेको जनाएको छ।

हवाई सेवा पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्ज हुँदै पश्चिम नेपाल र भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायका लागि महत्वपूर्ण रहेको बताए।

उनका अनुसार उडान पुनः सञ्चालन भएपछि पोखरालगायतका पर्यटकीय क्षेत्रबाट बाँकेको बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा आवतजावत गर्न सहज हुनेछ। त्यस्तै, बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न पनि हवाई सम्पर्क सहज हुने उनले बताए।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि नेपालगञ्ज–पोखरा रुटमा सातामा तीन दिन नियमित उडान सुरु गरिएको थियो। सेवा पुनः सञ्चालनसँगै पश्चिम नेपाल र पोखराबीचको पर्यटन तथा व्यावसायिक आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

Read More

नेप्से १९ अंकले घट्यो, कारोबार रकम पनि खस्कियो

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.३४ अंकले घटेर २,६२२.४८ विन्दुमा बन्द भएको हो।

बजार घटेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा कम भएको छ। मंगलबार ३४७ कम्पनीका १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँभन्दा बढीमा सीमित भयो। सोमबार ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

कारोबार भएका कम्पनीमध्ये ५६ वटाको सेयर मूल्य बढ्दा २१८ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो।

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयर मूल्य १४.९९ प्रतिशत तथा माउन्ट एभरेस्ट डेभलपमेन्टको १४.९८ प्रतिशतले बढ्यो। सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य भने १०.६३ प्रतिशतले घट्दै सबैभन्दा कमजोर प्रदर्शन गर्ने कम्पनी बन्यो।

कारोबार रकमका आधारमा एग्रिकल्चर बोन्ड (९ वर्ष) अगाडि रह्यो। सोलु हाइड्रोपावरको करिब ३९ करोड, खानीखोला हाइड्रोपावरको २५ करोड तथा रिलायन्स स्पिनिङ मिल्स र युनाइटेड मोदी हाइड्रोपावरको करिब १६–१६ करोड रुपैयाँ बराबरको कारोबार भयो।

ट्रेडिङ समूहको उपसूचकबाहेक मंगलबार कारोबारमा आएका अन्य सबै समूहका उपसूचक घटेका छन्।

Read More

राष्ट्रसेवक कर्मचारीलाई अब अर्धमासिक तलबभत्ता भुक्तानी गर्न निर्देशन

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीलाई प्रत्येक १५ दिनपछि अर्धमासिक रूपमा तलबभत्ता भुक्तानी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

कार्यालयले सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय, सबै निवृत्तभरण व्यवस्थापन कार्यालय तथा कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको हो।

अर्थमन्त्रीस्तरको २०८३ वैशाख ४ गतेको नीतिगत मार्गदर्शनअनुसार कर्मचारीले १५ दिन काम गरेपछि तलबभत्ता उपलब्ध गराउन भनिएको छ।

यस्तै, बजेट वक्तव्य २०८३/८४ अनुसार कर्मचारी प्रोत्साहन भत्तासमेत भुक्तानी गर्न तथा संघीय सरकारी निकायबाट भुक्तानीका लागि निकासा माग भएमा सोहीअनुसार रकम उपलब्ध गराउन महालेखा नियन्त्रक कार्यालयले निर्देशन दिएको छ।

Read More

निजी लगानीको सुरक्षा र प्रवर्द्धनका लागि सरकारको नयाँ रणनीति

काठमाडौं । सरकारले निजी क्षेत्रको लगानी सुरक्षित गर्दै लगानीकर्ताको मनोबल बढाउने उद्देश्यले ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा ल्याएको छ।

रणनीतिले औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको सुरक्षा, लगानी संरक्षण, आर्थिक पुनरुत्थान, कानुनी तथा नियामकीय प्रक्रिया सरलीकरण र युवा उद्यमशीलतालाई प्राथमिकता दिएको छ।

उद्योग–व्यवसायलाई सुरक्षित क्षेत्र बनाउने

आन्दोलन, बन्द, हडताल तथा सामाजिक–राजनीतिक अस्थिरताका कारण उद्योग व्यवसायमा हुने क्षति रोक्न सरकारले औद्योगिक सुरक्षा बल स्थापना गर्ने योजना अघि सारेको छ। औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामलाई ‘शान्ति क्षेत्र’ घोषणा गरी अवाञ्छित गतिविधि रोक्ने रणनीतिमा उल्लेख छ।

उद्योग तथा व्यवसायको जोखिमका आधारमा सुरक्षा व्यवस्था मिलाउने, आवश्यकताअनुसार द्रुत सुरक्षा टोली परिचालन गर्ने र प्रत्येक जिल्लामा सुरक्षा सम्पर्क व्यक्ति तोक्ने व्यवस्था पनि गरिनेछ। प्रतिष्ठानमा हुने आक्रमण, तोडफोड र आगजनीमा शून्य सहनशीलताको नीति अपनाइनेछ।

क्षतिग्रस्त व्यवसायलाई राहत

आन्दोलनका क्रममा क्षति भएका उद्योग तथा व्यवसाय पुनःसञ्चालनका लागि राहत, छुट र सहुलियत उपलब्ध गराउने व्यवस्था गरिएको छ। प्रभावित व्यवसायीलाई नवीकरण शुल्कमा छुट, पुनर्निर्माणका क्रममा नक्सा पास, विद्युत् तथा खानेपानी जडान र एकीकृत सम्पत्ति करमा निश्चित मापदण्डअनुसार सुविधा दिन सकिनेछ।

क्षतिग्रस्त उद्योगको पुनरुत्थानका लागि बैंक तथा वित्तीय संस्थामार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था पनि रणनीतिमा समेटिएको छ।

लगानी प्रक्रिया सहज बनाउने

उद्योग तथा व्यवसाय दर्तालाई सहज बनाउन उद्योग विभाग, वाणिज्य तथा कम्पनी रजिष्ट्रारको कार्यालयका विद्युतीय प्रणालीबीच अन्तरआबद्धता कायम गर्ने सरकारको योजना छ।

औद्योगिकीकरण र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्न औद्योगिक कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा फरक कायम गर्ने तथा करसम्बन्धी छुट र सहुलियतलाई कम्तीमा पाँच वर्ष स्थिर राख्ने व्यवस्था प्रस्ताव गरिएको छ।

स्टार्टअप र साना उद्योगलाई प्राथमिकता

सरकारले लघु, घरेलु तथा साना उद्योग र स्टार्टअपलाई समेत रणनीतिको महत्वपूर्ण हिस्सा बनाएको छ। सीप तथा उद्यमशीलता विकास, प्रविधि हस्तान्तरण र स्थानीय उत्पादन प्रवर्द्धनका कार्यक्रम विस्तार गरिनेछ।

युवालाई लक्षित स्टार्टअप कर्जाको सीमा र दायरा विस्तार गर्ने तथा स्थानीय तहमा उद्यमशीलता र रोजगारी सिर्जनाका कार्यक्रम तीन तहका सरकारको लागत साझेदारीमा सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।

यसैगरी रुग्ण उद्योगको पहिचान र वर्गीकरण गरी पुनःसञ्चालन हुनसक्ने उद्योगलाई पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि कानुनअनुसार छुट, सुविधा र सहुलियत उपलब्ध गराउने सरकारको नीति छ।

सरकारले १३ चैत २०८२ मा स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत यो रणनीति ल्याएको हो। रणनीतिको कार्यान्वयनबाट निजी क्षेत्रको लगानी सुरक्षित हुनुका साथै औद्योगिक विकास, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने सरकारको अपेक्षा छ।

Read More

सरकार र वैदेशिक रोजगार व्यवसायीबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सहमति भएपछि व्यवसायीले घोषणा गरेका आन्दोलनका कार्यक्रम स्थगित भएका छन्।

सोमबार श्रममन्त्री र मन्त्रालयका सचिवसहित संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीबीच भएको छलफलपछि आन्दोलन अन्त्य गर्ने सहमति भएको हो।

संघले साउन २२ गतेदेखि १५ बुँदे माग अघि सार्दै ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो। साथै, भदौ १ गतेदेखि गन्तव्य मुलुकमा नेपाली श्रमिक पठाउने प्रक्रिया रोक्ने घोषणा गरेको थियो।

छलफलमा व्यवसायीका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेकाले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समेटिँदै गरेको मन्त्रालयले जानकारी गराएको थियो। वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन संशोधन प्रक्रिया शीघ्र टुंग्याउने सहमति भएको छ।

त्यस्तै, व्यवसायीले कानुनअनुसार आवश्यक प्रमाण तथा कागजातसहित आफ्ना समस्या वैदेशिक रोजगार विभागमा पेश गरेमा विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गर्ने सहमति पनि भएको छ।

सहमतिको आधारमा संघले भदौ १ गतेदेखि नै आफ्ना सम्पूर्ण दबाबमूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Read More

प्रि–ओपन सेसनमा नेप्से १.९९ अंकले घट्यो

काठमाडौं । सोमबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.९९ अंकले घटेर २,६४१.८३ विन्दुमा झरेको छ।

यस अवधिमा ७६ वटा स्क्रिप्सको २७ हजार ४४२ कित्ता सेयर कारोबार हुँदा कुल १ करोड २० लाख ५३ हजार ४५३ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा आएका स्टकमध्ये २० वटाको मूल्य बढेको छ भने ४३ वटाको मूल्य घटेको छ। बाँकी ९ वटा स्टकको मूल्यमा भने कुनै परिवर्तन भएन।

Read More

आजदेखि डिलरमार्फत नियमित रूपमा एलपी ग्यास बिक्री हुने

काठमाडौं। आजदेखि खाना पकाउने एलपी ग्यास सम्बन्धित डिलर तथा बिक्रेतामार्फत नियमित रूपमा बिक्री वितरण हुने भएको छ। नेपाल आयल निगमले सूचना जारी गर्दै ग्यास उद्योगलाई आफ्ना आधिकारिक बिक्रेतामार्फत नियमित प्रक्रियाबाट बिक्री गर्न निर्देशन दिएको हो।

ग्यास आवश्यक भएका उपभोक्ताले आफूलाई सहज पर्ने आधिकारिक बिक्रेतासँग सम्पर्क गरी सिलिण्डर खरिद गर्न सक्नेछन्। वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले ग्यास उद्योग तथा बिक्रेताका लागि विभिन्न व्यवस्था लागू गरेको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार ग्यास उद्योगले दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र उपलब्ध सिलिण्डरको संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेसम्म निगमलाई बुझाउनुपर्नेछ।

त्यसैगरी, बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाणसँगै उपभोक्ताको नाम र सम्पर्क नम्बरको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई उपलब्ध गराउनुपर्नेछ। उद्योगले उक्त विवरण सोही दिन निगममा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

निगमले घरायसी प्रयोजनका लागि ग्यास अत्यावश्यक भएका उपभोक्तालाई प्राथमिकतामा राखेर बिक्री गर्नसमेत निर्देशन दिएको छ। ग्यासको ढुवानी तथा वितरणका क्रममा सुरक्षा व्यवस्थाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सहजीकरण गर्न गृह मन्त्रालयमार्फत अनुरोध गरिएको छ।

ग्यास वितरणको अवस्था अनुगमन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा निगमका कर्मचारीसहितको संयुक्त टोली परिचालन गर्ने व्यवस्था पनि गरिएको निगमले जनाएको छ।

नजिकको बिक्रेताबाट ग्यास उपलब्ध हुन नसकेमा र तत्काल ग्यास आवश्यक परेमा उपभोक्ताले निगमको क्विक रेस्पोन्स टिम (क्यूआरटी) मा सम्पर्क गर्न सक्नेछन्। त्यसका लागि ९८५१४५५१२४९८५१४५५१२८ नम्बरमा फोन गर्न निगमले आग्रह गरेको छ।

Read More

माग सम्बोधन नभएपछि आजदेखि देशभर म्यानपावर कम्पनी बन्द

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसमक्ष राखेका माग सम्बोधन नभएको भन्दै आजदेखि देशभरका म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। संघको निर्णयसँगै काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका म्यानपावर कम्पनी तथा शाखा कार्यालयबाट वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण सेवा ठप्प हुने भएका छन्।

संघका अनुसार नयाँ विज्ञापन, अन्तर्वार्ता, श्रमिक छनोट, रिक्रुटिङ प्रक्रिया तथा वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोकिएको छ। यसबाट पूर्वनिर्धारित श्रमिकका उडानसमेत प्रभावित हुने सम्भावना रहेको छ।

सरकारले व्यवसायीका मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै संघले यसअघि नै चरणबद्ध आन्दोलन गर्दै आएको थियो। व्यवसायीहरूले पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङलगायतका प्रक्रिया यसअघि नै रोकेका थिए।

संघले व्यवसायीमाथि भइरहेको कारबाही फिर्ता लिनुपर्ने, श्रमिकको पारदर्शी लागत तथा व्यवसायीको वैज्ञानिक सेवा शुल्क निर्धारण गर्नुपर्ने, श्रम गन्तव्य मुलुकतर्फको हवाई भाडा घटाउनुपर्ने र कृत्रिम अभाव अन्त्य गर्नुपर्नेलगायतका माग अघि सारेको छ।

संघका अनुसार आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ–हानिका लागि नभई वैदेशिक रोजगार व्यवसायीको पेसागत अस्तित्व, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको विषय हो। माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने व्यवसायीहरूले बताएका छन्।

म्यानपावर व्यवसायीहरूको निर्णयसँगै वैदेशिक रोजगारीका लागि तयारी गरिरहेका हजारौँ नेपाली श्रमिकको प्रक्रिया प्रभावित हुने देखिएको छ। विशेषगरी भिसा प्राप्त गरिसकेर उडानको पर्खाइमा रहेका श्रमिकसमेत यसबाट प्रभावित हुन सक्नेछन्।

Read More