२०८३ भाद्र ३१

सर्वोच्चका न्यायाधीशबारे अन्तर्राष्ट्रिय विज्ञप्तिमा संसदीय समितिको चासो

काठमाडौँ । सर्वोच्च अदालतका तीन न्यायाधीशमाथि दबाब र महाअभियोगको चेतावनी दिइएको भन्दै तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिप्रति प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले चासो व्यक्त गरेको छ।

बुधबार बसेको समितिको बैठकमा उक्त विज्ञप्तिको आधार, सार्वभौमसत्ता र न्यायिक स्वतन्त्रतामाथि पर्न सक्ने प्रभावबारे छलफल भएको हो।

समिति सभापति समीक्षा बाँस्कोटाले नेपालको संविधानले स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात् गरेको उल्लेख गर्दै नेपालको आन्तरिक न्यायिक प्रक्रियाबारे बाह्य टिप्पणी गर्दा त्यसको आधार र उद्देश्य स्पष्ट हुनुपर्ने बताइन्।

समिति सदस्य यज्ञमणि न्यौपानेले न्यायाधीश नियुक्ति र संसदीय सुनुवाइ प्रक्रिया संवैधानिक व्यवस्था अनुसार हुने भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने धारणा राखे।

एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) र ह्युमन राइट्स वाचले सर्वोच्च अदालतका तीन न्यायाधीशमाथि राजीनामाको दबाब र महाअभियोगको धम्की दिइएको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए।

समितिले छलफलका लागि ती संस्थाका प्रतिनिधिलाई बोलाए पनि उनीहरू बैठकमा उपस्थित भएनन्। संविधानविद् विपिन अधिकारीले अन्तर्राष्ट्रिय संस्थाले चासो राख्न सक्ने भए पनि त्यसको आधार र प्रमाणबारे सम्बन्धित निकायसँग स्पष्टता माग्न सकिने सुझाव दिए।

समितिले विज्ञप्तिसँग सम्बन्धित विषयमा थप अध्ययन र संवादमार्फत अघि बढ्ने जनाएको छ।

Read More

सेनाको पर्खाल भत्काउने विषयमा रास्वपा सांसद पाण्डे विवादमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डे नेपाली सेनाको गणको पर्खाल भत्काउने विषयलाई लिएर विवादमा परेका छन्। काठमाडौं क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद पाण्डेले गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तार गर्ने क्रममा नेपाली सेनाका अधिकारीसँग गरेको चर्काचर्कीको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो विषय चर्चामा आएको हो।

बाटो विस्तारका लागि भन्दै पाण्डे सोमबार डोजरसहित गोकर्ण पुगेका थिए। उक्त क्षेत्रमा नेपाली सेनाको गण रहेको र सेनाले निर्माण गरेको पर्खाल प्रक्रिया पूरा नगरी भत्काइएको आरोप लागेको छ। सेनालाई पूर्वजानकारी नदिई तथा औपचारिक पत्राचारबिनै पर्खाल भत्काइएको भन्दै विरोध भइरहेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सेनाका क्याप्टेनले प्रक्रिया पूरा गरेर अघि बढ्न आग्रह गरिरहेको देखिन्छ भने सांसद पाण्डेले काम नरोक्ने अडान लिएको देखिन्छ। पाण्डेले आधिकारिक पत्र आवश्यक भए पनि काम जारी रहने आशय व्यक्त गरेको भन्दै आलोचना भएको छ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सार्वजनिक भएको भिडियो र घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराइएको बताएका छन्। उनले सेनाको पर्खालसमेत भत्किएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।

गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले भने उक्त क्षेत्रमा बाटो साँघुरो भएकाले स्थानीयबाट लामो समयदेखि गुनासो आइरहेको बताए। उनका अनुसार बाटो विस्तार र संरचना व्यवस्थापनका लागि नगरपालिकाले बजेटसमेत छुट्याएको छ।

नगरपालिकाले नेपाल ट्रस्टको जग्गामा रहेको पर्खाल सार्न सहमतिका लागि सम्बन्धित निकायलाई पत्र पठाएको जनाएको छ। गोकर्णेश्वर–४ माकलबारीदेखि गोकर्ण मन्दिरसम्मको करिब दुई सय मिटर क्षेत्रमा रहेको पर्खालका कारण सडक साँघुरो भएको भन्दै पर्खाल सार्न अनुमति माग गरिएको थियो।

नगरपालिकाको १७औं नगरसभाले उक्त सडक निर्माण तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। मेयर रिसालले प्रक्रिया पूरा गरेर काम अघि बढाउन सकिने अवस्थामा जबरजस्ती पर्खाल भत्काउनु उचित नभएको टिप्पणी गरेका छन्।

सांसद पाण्डेले भने स्थानीयबाट बाटो साँघुरो भएको गुनासो आएपछि समस्या समाधानका लागि आफू घटनास्थल पुगेको बताएका छन्। उनले लामो समयदेखि रोकिएको सामान्य काम भएकाले तत्काल समाधानका लागि पर्खाल हटाइएको दाबी गरेका छन्।

नेपाल ट्रस्टको जग्गामा रहेको नेपाली सेनाको ब्यारेक क्षेत्रको पर्खाल भत्काउने क्रममा सेनाले रोक्ने प्रयास गरेको थियो। उक्त क्षेत्र गोकर्णदेखि दक्षिणढोकासम्मको वन क्षेत्रसँग जोडिएको र वन्यजन्तु संरक्षणका लागि सेनाले सुरक्षा व्यवस्था गर्दै आएको बताइएको छ।

यसैबीच, प्रधानसेनापति अशोक सिग्देलले घटनाबारे प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार त्यसपछि सांसद पाण्डेलाई प्रधानमन्त्री कार्यालय बोलाएर घटनाबारे सचेत गराइएको छ।

Read More

प्रतिनिधिसभाका चार समितिको बैठक आज, राष्ट्र बैंकदेखि वैदेशिक रोजगारीसम्म छलफल

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छन्। बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन, वैदेशिक रोजगार, न्यायपालिका र कृषि क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

बिहान १० बजे बस्ने अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनसम्बन्धी विधेयकमाथि दफावार छलफललाई निरन्तरता दिइनेछ।

सोही समयमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्नेछ।

बिहान ९:३० बजे सुरु हुने कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा स्वतन्त्र न्यायपालिका, न्याय प्रशासनको वर्तमान अवस्था, देखिएका समस्या र समाधानका उपायबारे छलफल हुनेछ।

यस्तै, दिउँसो १ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त उजुरीका विषयमा आन्तरिक छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Read More

सुनसरी–सिरहा घटनामा संसदीय छानविन समिति गठन गर्न कांग्रेस सांसद आङदेम्बेको माग

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य भीष्मराज आङदेम्बेले सुनसरी–सिरहा घटनाको सत्यतथ्य पत्ता लगाउन र न्यायिक छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद आङदेम्बेले सुनसरी र सिरहामा गोली चलाउनुपर्ने अवस्था सरकारका लागि किन सिर्जना भयो भन्दै प्रश्न उठाएका छन् । उनले घटनाबारे सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्ने र त्यसको जिम्मेवारी लिनुपर्ने बताए ।

उनले सरकारको विपत व्यवस्थापन पक्ष कमजोर रहेको आरोप लगाउँदै प्राकृतिक विपतका घटनामा सरकार सुस्त देखिएको टिप्पणी गरे । वैशाख २३ गतेको बाढीपहिरोका कारण इलामको मेची राजमार्ग अवरुद्ध भएको तथा जेठ ८ गते पाँचथरको याङवरक गाउँपालिका–२ र ३ मा बाढीपहिरो गएको उनले सदनलाई जानकारी गराए ।

बाढीपहिरोका कारण घर तथा पुल बगेको उल्लेख गर्दै उनले पाँचथरको फालेलुङ क्षेत्रमा समेत ठूलो क्षति पुगेको बताए । यस विषयमा आफूले सभामुखलाई भेटेर सरकारको ध्यानाकर्षण गराइसकेको पनि उनले जानकारी दिए ।

विपत पूर्वसूचना दिएर नआउने भन्दै उनले सरकारको तयारीमाथि प्रश्न उठाए । “सरकारले ठूलो विपत आइसकेपछि मात्र तयारी गर्न खोजेको हो ? कि सरकारको कुनै पूर्वतयारी छ ?” उनले प्रश्न गरे ।

सांसद आङदेम्बेले सरकारले सुकुमबासी बस्ती हटाउने क्रममा अमानवीय व्यवहार गरेको आरोप पनि लगाए । सरकारले अहिलेसम्म विस्थापितहरूको उचित व्यवस्थापन गर्न नसकेको भन्दै उनले राज्यसँग स्पष्ट नीति र विधि नभई बल प्रयोग मात्र देखिएको टिप्पणी गरे ।

Read More

बागमतीमा नयाँ सरकार गठनका लागि दलहरूबीच सहमति खोज्ने प्रयास तीव्र

काठमाडौँ। बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन राजनीतिक दलहरूले छलफललाई तीव्र बनाएका छन् । सत्ता समीकरणका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सहमति भइसकेपछि अन्य दलहरूको समर्थन जुटाउने प्रयास सुरु भएको छ ।

सरकार गठनका लागि एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीसँग समेत छलफल अघि बढाएको एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले जानकारी दिए ।

“सरकार गठनका लागि दलहरूसँग छलफल तीव्र रूपमा अघि बढेको छ,” उनले भने, “सरकार गठनको गतिरोध चाँडै अन्त्य गर्ने गरी संवाद भइरहेको छ ।”

यसैबीच नयाँ सरकार गठनको अन्योल अन्त्य गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विभिन्न दलका नेताहरूसँग छलफल गरिरहेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले बताए ।

मुख्यमन्त्री बानियाँले नयाँ सरकार गठनका लागि स्पष्ट बहुमत जुटाउन वा कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई नै समर्थन गरेर राजनीतिक अस्थिरता अन्त्य गर्न दलहरूलाई आग्रह गरेका छन् ।

१०४ सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायत छ दलको प्रतिनिधित्व रहेको छ । प्रदेश सभामा नेपाली कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल रहेको छ भने नेकपाको २६ र एमालेको २५ सिट छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १२, नेपाल मजदुर किसान पार्टीसँग तीन र हाम्रो नेपाली पार्टीसँग दुई सिट रहेको छ ।

प्रदेश सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएर एमाले बाहिरिएपछि नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुट्न नसक्दा राजनीतिक गतिरोध कायमै रहेको छ ।

नेपालका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र एमालेले प्रदेशमा अन्य दलहरूको समर्थन लिएर आ–आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयास जारी राखेका छन् ।

Read More

मधेशका आन्दोलनमा बल प्रयोगबारे रास्वपा सांसद सिंहको प्रश्न, राज्यको व्यवहारमाथि उठाए आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेश प्रदेशमा हुने आन्दोलन र प्रदर्शनका क्रममा सुरक्षा निकायले प्रयोग गर्ने बलको शैलीमाथि प्रश्न उठाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले मधेश र थरुहट क्षेत्रका आन्दोलनमा राज्य संयन्त्र नागरिकप्रति असहिष्णु देखिने गरेको आरोप लगाए । उनले २०६३ सालदेखि आफू संसद्‌मा रहेको उल्लेख गर्दै मधेशमा हुने प्रदर्शनहरू नियन्त्रण गर्ने क्रममा लाठी र अश्रुग्याँसको प्रयोगभन्दा अघि नै घातक बल प्रयोग हुने प्रवृत्तिको विरोध गरे ।

“२०६३ सालदेखि म सांसद छु, मेरो प्रश्न राज्यसँग छ– मधेशमा केही समुदायको आन्दोलन होस् वा थरुहट आन्दोलन, त्यहाँ गोली मात्र किन चल्छ? त्यहाँ लाठी र टियर ग्यास किन चल्दैन?” सिंहले प्रतिनिधिसभामा प्रश्न गरे ।

सांसद सिंहले सुरक्षाकर्मीको तालिम र आन्दोलनप्रतिको दृष्टिकोणमा समेत सुधार आवश्यक रहेको बताए । प्रदर्शनकारीमाथि घातक हतियार प्रयोग हुनुमा सुरक्षा निकायको तालिम कमजोर हुनु वा आन्दोलनकारीलाई फरक दृष्टिकोणले हेर्ने मनोविज्ञान जिम्मेवार हुन सक्ने उनको भनाइ थियो ।

उनले देशका अन्य क्षेत्र र मधेशमा हुने आन्दोलन नियन्त्रणमा राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिए । नागरिकको जीवन सुरक्षालाई प्राथमिकतामा राख्दै संवाद र राजनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्ने उनको धारणा थियो ।

मधेशका विरोध प्रदर्शनलाई बल प्रयोगमार्फत दबाउने प्रयासले राज्य र नागरिकबीचको दूरी बढाउने भन्दै सिंहले सरकारको कार्यशैलीमाथि पुनर्विचार गर्न आग्रह गरे ।

Read More

प्रधानमन्त्री बालेन शाह र प्रधान सेनापतिबीच भेट, समसामयिक सुरक्षा अवस्थाबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री तथा रक्षा मन्त्रीसमेत रहेका वालेन्द्र (बालेन) शाह र प्रधान सेनापति अशोकराज सिग्देलबीच मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार प्रधानमन्त्री र प्रधान सेनापतिबीच नियमित रूपमा हुने भेटघाटअन्तर्गत यसपटक समसामयिक विषयमा छलफल भएको हो।

बस्नेतले भने, “पछिल्लो समयका समसामयिक विषयमा उहाँहरूबीच छलफल भएको हो।”

स्रोतका अनुसार भेटमा मोरङ र मधेशमा उत्पन्न विवाद तथा मुलुकको समग्र सुरक्षा अवस्थाबारे विचार–विमर्श भएको छ। साथै पछिल्ला सुरक्षा चुनौती, शान्ति–सुव्यवस्था कायम गर्ने उपाय र सुरक्षा निकायबीचको समन्वयका विषयमा पनि छलफल भएको जनाइएको छ।

यसैबीच, गोकर्णेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डे र नेपाली सेनाका एक अधिकृतबीच ब्यारेकको पर्खालसम्बन्धी विषयलाई लिएर भएको भनाभनको भिडियो सामाजिक सञ्जालमा चर्चामा रहेका बेला प्रधानमन्त्री र प्रधान सेनापतिबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Read More

प्रधानमन्त्री बालेन्द्र शाह र सुदूरपश्चिमका सांसदबीच छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजे सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा सुदूरपश्चिम प्रदेशका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन् ।

Read More

प्रतिनिधिसभा र पाँच समितिको बैठक आज

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन, जरुरी सार्वजनिक महत्वको प्रस्ताव तथा अन्य संसदीय कार्यसूचीमाथि छलफल हुनेछ।

बैठकमा प्रधानमन्त्री बालेन साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२ को छैटौँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान, सुरक्षित आवास, आधारभूत सेवा, उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापना र वास्तविक भूमिहीनलाई लालपूर्जा वितरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावलाई सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गर्नेछन्।

यसैबीच, आज संघीय संसद्अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक पनि बस्नेछ। संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक तय गरिएको छ।

बिहान १० बजे बस्ने अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन सम्बन्धी विधेयकमाथिको दफावार छलफललाई निरन्तरता दिनेछ। सोही समयमा अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटन विधेयक, २०८१ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यसूची राखेको छ।

उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनबारे छलफल हुनेछ।

बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था पुनःस्थापना गर्न प्रस्तावित विधेयक, २०८३ माथि सैद्धान्तिक तथा दफावार छलफल गर्नेछ। साथै कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनमाथि पनि विचार–विमर्श हुनेछ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासन कार्यान्वयनको अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

Read More

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ।

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार सिंहदरबारस्थित कार्यालयमा आज दिउँसो ३ः३० बजे बैठक बोलाइएको हो।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता तथा पार्टीको आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा सहभागी हुन कांग्रेसले आफ्ना सबै सांसदहरूलाई उपस्थितिका लागि निर्देशन दिएको छ।

Read More