काठमाडौँ । देशका विभिन्न भागमा लगातार वर्षा भइरहेका बेला तराईका जिल्लाहरूमा भने गर्मी उल्लेखनीय रूपमा बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा गोरखा, मोरङ, सुनसरी र झापालगायत क्षेत्रमा उल्लेख्य वर्षा रेकर्ड गरिएको छ।
विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गोरखामा ७१.८ मिलिमिटर, मोरङमा ६१.८ मिलिमिटर, सुनसरीमा ५१.४ मिलिमिटर र झापामा ७१.२ मिलिमिटर वर्षा भएको छ। झापामा अघिल्लो दिन १०३ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको थियो।
यता, वर्षासँगै देशका अन्य भूभाग विशेषगरी तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढिरहेको छ। पछिल्लो विवरणअनुसार भैरहवामा ४१.५ डिग्री सेल्सियस तापक्रम मापन भएको छ भने नेपालगञ्जमा ४०.४ डिग्री पुगेको छ। धनगढीमा ३८.८ डिग्री तापक्रम रेकर्ड गरिएको छ। राजधानी काठमाडौंमा पनि तापक्रम बढेर ३१.३ डिग्री सेल्सियस पुगेको विभागले जनाएको छ।
मौसमविद्हरूका अनुसार आज धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवा र सिमरा क्षेत्रमा अत्यधिक गर्मी महसुस हुने सम्भावना रहेको छ।
हाल देशको मौसममा पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु प्रणाली तथा पूर्वीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा बदली रहने र केही स्थानमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आजको मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागमा पनि छिटपुट वर्षा वा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। यद्यपि लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रसँगै बागमती र गण्डकीका केही तराई जिल्लामा तातो दिनको अवस्था कायम रहने विभागले चेतावनी दिएको छ।
