काठमाडौं । एनएमबी बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.६० प्रतिशतले बढेको हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले वृद्धि हुँदै ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, शुल्क तथा कमिसन आम्दानी २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ। सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा २९.०६ प्रतिशतले बढेको हो।
नियामकीय समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। अग्राधिकार सेयरको लाभांश छुट्याएपछि साधारण सेयरधनीका लागि १ अर्ब ७५ करोड रुपैयाँ वितरणयोग्य नाफा उपलब्ध रहेको बैंकले जनाएको छ। बैंकको प्रतिशेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा रहेको छ।
असार मसान्तसम्म एनएमबी बैंकको ग्राहक निक्षेप ३ खर्ब १५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको कर्जा प्रवाह २ खर्ब ४९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ३ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ।
बैंकले ३ अर्ब रुपैयाँ बराबरको स्थायी गैर–सञ्चयी अग्राधिकार सेयर जारी गर्दै अतिरिक्त टियर–१ पुँजी थप गरेको छ। बैंकको कुल पुँजी पर्याप्तता अनुपात १२.७३ प्रतिशत र टियर–१ अनुपात ९.९० प्रतिशत रहेको छ।
नाफा र व्यवसाय विस्तार भए पनि बैंकको निष्क्रिय कर्जा अनुपात भने बढेको छ। अघिल्लो वर्ष ४.११ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ४.९१ प्रतिशत पुगेको छ। बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्थापन ९२.५७ प्रतिशत कायम गरेको जनाएको छ।
आगामी रणनीति
एनएमबी बैंकले आगामी वर्ष कर्जा असुली सुधार, निष्क्रिय कर्जा नियन्त्रण, डिजिटल बैंकिङ विस्तार र सञ्चालन खर्च घटाउने रणनीति अघि सारेको छ। बैंकले ऊर्जा, कृषि, उत्पादनमूलक क्षेत्र तथा खुद्रा कर्जामा केन्द्रित भएर व्यवसाय विस्तार गर्ने योजना बनाएको जनाएको छ।




