२०८३ श्रावण १९

चितवनमा अनलाइन ठगीका ५२१ उजुरी, १२ करोडभन्दा बढी रकम ठगी

काठमाडौं । चितवन जिल्लामा पछिल्लो एक वर्षमा अनलाइन ठगीसम्बन्धी ५२१ वटा निवेदन दर्ता भएका छन्। ती निवेदनका आधारमा गत आर्थिक वर्षमा अनलाइन माध्यमबाट १२ करोड २२ लाख ८४ हजार ३३८ रुपैयाँ ठगी भएको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगी भएको रकममध्ये २ करोड २९ लाख ९८ हजार ६४३ रुपैयाँ फिर्ता गरिएको छ।

प्रहरीका अनुसार पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक सञ्जालमार्फत लिंक पठाएर तथा उपहार पाउने प्रलोभन देखाएर ठगी गर्ने घटना बढिरहेका छन्। प्रहरी उपरीक्षक पौडेलले दैनिकजसो अनलाइन ठगीसम्बन्धी निवेदन आउने गरेको जानकारी दिए।

उनका अनुसार सामान्यतया २०० रुपैयाँदेखि लाखौँ रुपैयाँसम्मको ठगीसम्बन्धी उजुरी प्रहरीमा आउने गरेका छन्। उनले अनलाइन माध्यम प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

अपरिचित व्यक्तिले पठाएको रिक्वेस्ट स्वीकार नगर्न, शंकास्पद लिंक नखोल्न र अनलाइन कारोबारमा सतर्क रहन उनले सुझाव दिए। उनले अनलाइन माध्यमबाट ठगी भएको महसुस भए तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरे।

साइबर अपराधका ३९० उजुरी दर्ता

गत आर्थिक वर्षमा चितवनमा साइबर अपराधसम्बन्धी ३९० वटा निवेदन दर्ता भएका छन्। तीमध्ये ३७५ वटा निवेदन फर्छ्योट भइसकेका छन् भने १५ वटा निवेदन बाँकी रहेका छन्।

प्रहरीका अनुसार साइबर अपराधसम्बन्धी उजुरीको अनुसन्धान नेपाल प्रहरी प्रदेश कार्यालयसँगको समन्वयमा भइरहेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा साइबर अपराधसम्बन्धी ४११ वटा निवेदन दर्ता भएका थिए। तीमध्ये ३९८ वटा फर्छ्योट भएका थिए भने १३ वटा बाँकी रहेका थिए।