२०८३ श्रावण १९

हर्मुज जलघाँटीमा कार्गो जहाजमाथि प्रक्षेप्यास्त्र आक्रमण, अमेरिका–इरान तनाव थप चर्किने चिन्ता

काठमाडौँ । अमेरिका र इरानबीच वार्ता भइरहेको वा नभइरहेको विषयमा परस्परविरोधी दाबी भइरहेका बेला हर्मुज जलघाँटीमा एक कार्गो जहाज अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमणमा परेको रिपोर्ट सार्वजनिक भएको छ । घटनाले विश्वकै प्रमुख ऊर्जा व्यापार मार्ग मानिने उक्त जलघाँटीको सुरक्षाबारे नयाँ चिन्ता बढाएको छ ।

बेलायतको समुद्री सुरक्षा निकाय युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) का अनुसार ओमानको अल खसाबबाट करिब ३७ किलोमिटर उत्तरपूर्वमा रहेको कार्गो जहाजलाई स्थानीय समयअनुसार राति करिब २ बजे अज्ञात प्रक्षेप्यास्त्रले प्रहार गरेको थियो । जहाजको नाम, झण्डा वा त्यसले बोकेको सामानबारे भने कुनै विवरण सार्वजनिक गरिएको छैन ।

पर्सियन खाडीको प्रवेशद्वार मानिने हर्मुज जलघाँटी नजिकै रहेको अल खसाब क्षेत्र रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ । विश्वभर आपूर्ति हुने ठूलो परिमाणको तेल तथा प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यहाँ हुने कुनै पनि अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रभाव पार्न सक्ने आशंका गरिन्छ ।

फेब्रुअरीमा अमेरिका–इरान युद्ध सुरु भएयता इरानले जलमार्ग हुँदै हुने जहाज आवतजावतमा अवरोध पुर्‍याउँदै आएको आरोप लागेको छ भने अमेरिकाले पनि इरानी बन्दरगाहमाथि नाकाबन्दी कायम राखेको छ । यसका कारण अन्तर्राष्ट्रिय समुद्री व्यापार प्रभावित हुँदै आएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँग युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु भएको दाबी गरेका छन् । उनले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको आग्रहपछि अमेरिका कूटनीतिक प्रयासलाई निरन्तरता दिन तयार भएको बताए । ट्रम्पले इरानले सार्वजनिक रूपमा अस्वीकार गरे पनि दुई पक्षबीच संवाद जारी रहेको दाबी गरे ।

तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नरहेको स्पष्ट पारेका छन् । उनका अनुसार तेहरानको संवाद केवल ओमानसँग भइरहेको छ र त्यसको मुख्य विषय हर्मुज जलघाँटीमा सुरक्षित जलयात्राको व्यवस्था हो ।

ट्रम्पले भने इरानले नै वार्ताको पहल गरेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत तेहरानको सार्वजनिक अभिव्यक्ति विरोधाभासपूर्ण रहेको टिप्पणी गरेका छन् । उनले एकातिर वार्ताका लागि आग्रह गर्ने र अर्कोतर्फ कुनै छलफल नभएको दाबी गर्ने इरानको व्यवहारले भ्रम सिर्जना गरेको आरोप लगाए।