काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता जारी रहेको दाबी गर्दै तेहरानलाई सम्झौतामा पुग्न ‘अन्तिम अवसर’ रहेको चेतावनी दिएका छन् । तर इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गर्दै हर्मुज जलघाँटीमा सुरक्षित जलमार्ग सुनिश्चित गर्ने विषयमा मात्र ओमानसँग छलफल भइरहेको जनाएको छ ।
ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतारलगायत क्षेत्रीय मुलुकहरूको आग्रहपछि इरानसँग संवाद जारी राख्न आफू सहमत भएको बताए । उनले इरानले अस्वीकार गरे पनि दुवै पक्षबीच वार्ता भइरहेको दाबी गर्दै उपयुक्त दस्तावेजमा हस्ताक्षर गर्ने अन्तिम अवसर तेहरानलाई दिइएको उल्लेख गरे ।
ट्रम्पका अनुसार वार्ताको मुख्य उद्देश्य हर्मुज जलघाँटी पुनः सञ्चालनमा ल्याउनु र इरानको आणविक कार्यक्रमलाई निःशस्त्रीकरणतर्फ लैजानु हो । उनले हर्मुज जलघाँटी छिट्टै खुल्न सक्ने सम्भावना रहेको तर आणविक निःशस्त्रीकरण प्रक्रिया पूरा हुन केही समय लाग्न सक्ने बताए ।
तर इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता नभएको स्पष्ट पारेका छन् । उनका अनुसार ओमानसँग हर्मुज जलघाँटी हुँदै सुरक्षित आवागमनको व्यवस्थाबारे मात्रै छलफल भइरहेको हो । उनले कुनै सम्भावित सहमतिले जलघाँटी तत्काल खुल्ने सुनिश्चित नगर्ने पनि बताएका छन् ।
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेपछि दुई पक्षबीच तनाव जारी छ । केही समय कूटनीतिक प्रयासका कारण अवस्था सामान्य बन्दै गए पनि इरानले अझै मिसाइल र ड्रोन आक्रमण गर्ने क्षमता कायम राखेको तथा समृद्ध युरेनियमको मौज्दात सुरक्षित राखेको अमेरिकी पक्षको दाबी छ ।
यसैबीच बेलायतको समुद्री सुरक्षा निकाय युकेएमटीओले मङ्गलबार बिहान ओमान नजिकैको हर्मुज जलघाँटीमा एक कार्गो जहाज अज्ञात प्रक्षेप्यास्त्रबाट प्रभावित भएको जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ भने क्षति र मानवीय हताहतबारे थप विवरण सार्वजनिक गरिएको छैन ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत पनि इरानसँग विभिन्न माध्यमबाट संवाद भइरहेको दाबी गर्दै सम्झौता वा पूर्ण समर्पण नभएसम्म परिस्थिति सामान्य नहुने चेतावनी दिएका छन् । उनले इरानको आणविक कार्यक्रम अन्त्य हुनुपर्ने अमेरिकी अडान पुनः दोहोर्याएका छन् ।
पश्चिमी मुलुकहरूले इरानमाथि आणविक हतियार विकासको प्रयास गरेको आरोप लगाउँदै आएका छन् । इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि मात्रै रहेको दाबी गर्दै आएको छ ।
गत महिना भएको युद्धविराम असफल भएपछि हर्मुज जलघाँटी पुनः तनावको केन्द्र बनेको छ । विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने उक्त जलमार्गमा उत्पन्न अस्थिरताले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ।




