२०८३ श्रावण २०

सेयर बजारमा २१ अंकको गिरावट

काठमाडौँ। सेयर बजारमा मंगलबार उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा झरेको छ ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा समेत कमी आएको छ । सोमबार ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३४३ वटा स्क्रिप्सका १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० रुपैयाँमा खरिदबिक्री भएका छन् ।

यस दिन कारोबारमा आएका कम्पनीमध्ये ५९ वटा स्टकको मूल्य बढेको छ भने २१३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । पाँच वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

बजार दोहोरो अंकले घटे पनि केही कम्पनीको सेयर मूल्य बढेको छ । एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ । खानीखोला हाइड्रोपावरको सेयर १० प्रतिशत र जोशी पावरको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

यस दिन सबैभन्दा बढी गिरावट सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा देखिएको छ । उक्त कम्पनीको सेयर मूल्य १३.४३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा कालिञ्चोक हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सिद्धार्थ बैंक र नेसनल हाइड्रो पावरको समान १६/१६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै सेन्ट्रल फाइनान्सको १४ करोड र रिडी पावरको १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार नेप्सेका सबै १३ वटै समूहका उपसूचक नकारात्मक देखिएका छन् । मनु एण्ड प्रो, अदर्श र ट्रेडिङ समूहका उपसूचक करिब १ प्रतिशतले घटेका छन् ।

सोमबार नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा बन्द भएको थियो ।