२०८३ आश्विन १

रियादको सोफा कारखानामा आगलागी हुँदा १६ बङ्गलादेशीको मृत्यु

काठमाडौँ । साउदी अरेबियाको राजधानी रियादस्थित एक सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बङ्गलादेशी नागरिकको मृत्यु भएको छ । बङ्गलादेशको विदेश मन्त्रालयले सोमबार घटनाको पुष्टि गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन साउदी अधिकारीसँग समन्वय भइरहेको जनाएको छ ।

रियादको मुसा सनैया क्षेत्रमा रहेको सोफा कारखानामा आइतबार आगलागी भएको थियो । आगलागीमा ज्यान गुमाउने सबै बङ्गलादेशी नागरिक रहेको बङ्गलादेशको विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्तिमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । कठिन परिस्थितिमा मृतकका परिवारसँग सरकार साथमा रहेको र आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि मन्त्रालयले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै रियादस्थित बङ्गलादेशी दूतावासका अधिकारी घटनास्थल पुगेका थिए । दूतावासले साउदी अधिकारीसँग समन्वय गरी मृतकको पहिचान पुष्टि गर्ने, शव हस्तान्तरण तथा अन्य कानुनी प्रक्रिया अघि बढाउने काम गरिरहेको जनाएको छ ।

घटनाबारे थप विवरण सङ्कलन गर्न तथा प्रभावित व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउन दूतावासले टोली परिचालन गरेको छ । मृतकको पहिचान पुष्टि, कानुनी औपचारिकता पूरा गर्ने तथा पीडित परिवारलाई आवश्यक सहजीकरण गर्ने कामलाई प्राथमिकतामा राखिएको दूतावासले जनाएको छ ।

दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा मुसा सनैया क्षेत्रमा भएको आगलागीमा प्रवासी बङ्गलादेशी नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ । घटनाको खबर पाएपछि दूतावासको प्रतिनिधिमण्डल तत्काल घटनास्थल पुगेर विस्तृत विवरण सङ्कलन सुरु गरेको जनाएको छ ।

बङ्गलादेशको विदेश मन्त्रालयले घटनाको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । मृतकको पहिचान तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित साउदी अधिकारीसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

साउदी अरेबियामा ठूलो सङ्ख्यामा बङ्गलादेशी नागरिक रोजगारीका लागि कार्यरत छन् । रियादमा भएको पछिल्लो घटनाले प्रवासी श्रमिकको कार्यस्थल सुरक्षा तथा आपत्कालीन अवस्थामा उनीहरूको संरक्षणको विषयलाई पुनः चर्चामा ल्याएको छ ।

Read More

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५८ हजार ४९० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ४ हजार ६७० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Read More

अविरल वर्षाले सडक अवरुद्ध, पहिरो र बाढीले देशभर यातायात प्रभावित

काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदीनालामा आएको बाढी र कटानका कारण प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा विभिन्न जिल्लामा यातायात सेवा प्रभावित भएको छ भने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङलगायत जिल्लाका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बीपी राजमार्गमा आज बिहान ४ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न नपाइने जनाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा सडकमा हिलो जमेकाले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि प्रहरीले यात्रु तथा चालकलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका–२ कोदारीको इकु क्षेत्रमा पनि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको छ। सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्गको आवागमनसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, आज बिहान ५ बजे चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण सिन्धुपाल्चोकका विभिन्न सडकखण्डमा थप पहिरो खस्ने जोखिमसमेत रहेको प्रहरीले जनाएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नदीको कटानका कारण सडकको अवस्था जोखिमपूर्ण बनेपछि यातायात सञ्चालन प्रभावित भएको हो।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ। पहिरोका कारण उक्त सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन।

लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गए राति पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले उक्त स्थानमा यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउन तथा यातायात सेवा पुनः सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको छ। वर्षा निरन्तर भइरहेकाले थप पहिरो तथा बाढी आउन सक्ने जोखिम रहेको भन्दै सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

Read More

घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह

काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था कार्यान्वयनमा रहेको स्मरण गराएको छ। विभागले इच्छुक संस्था तथा कम्पनीलाई २१ दिनभित्र अनलाइन प्रणालीमार्फत आवेदन दिन आग्रह गरेको हो।

राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले कारोबारअघि अनिवार्य रूपमा इजाजतपत्र प्राप्त गर्नुपर्नेछ।

कारोबारअनुसार दस्तुर

इजाजतपत्रका लागि कारोबारको रकमअनुसार दस्तुर निर्धारण गरिएको छ।

  • ५ करोड रुपैयाँसम्मको कारोबार : ५ लाख रुपैयाँ दस्तुर
  • ५ करोड रुपैयाँभन्दा बढी कारोबार : १० लाख रुपैयाँ दस्तुर

विभागका अनुसार यसअघि सूचना बमोजिम अनलाइन आवेदन पेस गरे पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र प्राप्त नगरेका फर्म, कम्पनी तथा संस्थाले समेत नयाँ सूचनाअनुसार पुनः अनलाइन आवेदन दिनुपर्नेछ।

अनलाइन आवेदन दिएपछि पेस गरिएका सम्पूर्ण कागजातको एक–एक प्रति प्रिन्ट गरी विभागमा बुझाउनुपर्नेछ। साथै आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको अभिलेखका आधारमा आपराधिक गतिविधिमा संलग्न नरहेको व्यहोराको पत्र पनि पेस गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

विभागले इजाजतपत्र प्रक्रिया तथा आवश्यक जानकारीका लागि विभागमै सम्पर्क गर्न सम्बन्धित फर्म, कम्पनी तथा संस्थालाई अनुरोध गरेको छ।

Read More

सरकारले स्वीकृत गर्‍यो नयाँ तलबमान, मुख्यसचिव र प्रधानसेनापतिको तलब ९० हजार ५९४ रुपैयाँ

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत गत साउन १ गतेदेखि लागू हुने गरी विभिन्न क्षेत्रका कर्मचारीहरूको नयाँ तलबमान तथा सुविधा स्वीकृत गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

नयाँ तलबमान निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीमा लागू हुनेछ ।

स्वीकृत नयाँ तलबमानअनुसार मुख्यसचिव र प्रधानसेनापतिको कुल तलब समान ९० हजार ५९४ रुपैयाँ कायम भएको छ । यसअघि उनीहरूको सुरु तलबमान ८४ हजार ९३२ रुपैयाँ रहेकामा ग्रेड वृद्धिपछि कुल तलब ९० हजार ५९४ रुपैयाँ पुगेको हो ।

यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक तथा सरकारका सचिवहरूको कुल तलब ८४ हजार ५७६ रुपैयाँ कायम भएको छ ।

नयाँ तलबमानअनुसार सबैभन्दा कम तलब पाउने प्रथम स्तरका कार्यालय सहयोगीको कुल तलब २८ हजार ९८४ रुपैयाँ पुगेको छ । श्रेणीविहीन कर्मचारी (हल्कारा, हुलाकी र कार्यालय सहयोगी) को सुरु तलबमान २७ हजार १७२ रुपैयाँ रहेकामा ग्रेड थप भएपछि कुल तलब २८ हजार ९८४ रुपैयाँ पुगेको हो ।

सरकारले बजेट वक्तव्यमार्फत कर्मचारीको पारिश्रमिकमा करिब २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको थियो । बजेट वक्तव्यमा हाल प्राप्त भइरहेको महँगी भत्ता निरन्तरता दिँदै सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको र कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणाली सुरु गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको उल्लेख छ ।

सरकारका अनुसार यसबाट कर्मचारीहरूले हाल पाइरहेको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि हुनेछ भने ग्रेडसहित न्यूनतम पारिश्रमिक करिब ४० हजार रुपैयाँदेखि १ लाख रुपैयाँभन्दा माथि कायम हुनेछ ।

Read More

सुनको मूल्य प्रतितोला ८ हजारले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८ हजारले बढेर रु २ लाख ९६ हजार पुगेको छ ।

अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला रु २ लाख ८८ हजारमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु ९५ ले वृद्धि भएको छ । चाँदीको मूल्य आज प्रतितोला रु ४ हजार ५७० कायम भएको छ भने अघिल्लो दिन रु ४ हजार ४७५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ । आज सुनको मूल्य प्रतिऔँस ४ हजार २६५ अमेरिकी डलर तथा चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ ।

Read More

वर्षाका कारण ८ प्रमुख सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आज देशभरका आठ वटा प्रमुख सडक पूर्णरूपमा बन्द भएका छन्, जसका कारण ती मार्गमा सवारी आवागमन प्रभावित भएको छ।

प्रहरीका अनुसार मेची राजमार्ग, बी.पी. राजमार्ग, मध्य पहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर, पृथ्वी राजमार्ग तथा अरनिको राजमार्गअन्तर्गतका विभिन्न सडक खण्डमा बाढी र पहिरोका कारण यातायात सञ्चालन हुन सकेको छैन।

मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली क्षेत्रमा सडक अवरुद्ध भएको छ। त्यसैगरी पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा पहिरो खसेपछि सवारी आवागमन ठप्प बनेको छ।

यसैगरी बी.पी. राजमार्गअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाण्डुर–मकवानपुरको ठिंगन खण्ड तथा काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

मध्य पहाडी लोकमार्गअन्तर्गत पूर्वी रुकुमको भूमे गाउँपालिका क्षेत्रमा पनि सडक अवरुद्ध भएको छ। यस्तै कर्णाली प्रदेशका विभिन्न सडकमा बाढी र पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ। भेरी कोरिडोर (रुकुम पश्चिम), मुगुको नाग्म–गमगढी सडक तथा जुम्लाको नाग्म सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले वर्षा निरन्तर भइरहेकाले पहिरो र बाढीको जोखिम अझै कायम रहेको भन्दै अत्यावश्यकबाहेकका यात्रा गर्दा सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Read More

बाढी–पहिरोले सडक सञ्जाल प्रभावित, तीन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण तीन वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने छ वटा सडकखण्डमा आंशिक प्रभाव परेको सडक विभागले जनाएको छ ।

विभागका अनुसार पहिरोका कारण अवरुद्ध भएका २४ वटा सडकखण्ड सामान्य मर्मतपछि सञ्चालनमा आएका छन् । नेपाल प्रहरीका अनुसार पहिरो, नदी कटान, हिलो तथा सडक भासिने समस्याका कारण विभिन्न राजमार्ग प्रभावित भएका हुन् ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गअन्तर्गत धुलिखेल–सिन्धुली खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग पनि वर्षाका कारण सडक हिलो भई पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा यात्रु तथा सवारीसाधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग विभिन्न तीन स्थानमा पहिरो, लेदो र सडक भासिएका कारण पूर्ण रूपमा बन्द रहेको छ । भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

दोलखाको लामोसाँघु–रामेछाप सडकखण्डअन्तर्गत तामाकोशी गाउँपालिका–५ किर्नेटारमा नदी कटानका कारण सडक पूर्ण रूपमा बन्द भएको छ । उक्त क्षेत्रमा खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ ।

प्रहरीले वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Read More

रुसको मिसाइल र ड्रोन आक्रमणमा किएभ क्षेत्रमा १७ जनाको मृत्यु

काठमाडौँ। युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रुसले गरेको पछिल्लो मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्। उद्धार कार्य जारी रहेकाले हताहतको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

रुसले पछिल्ला साताहरूमा ब्यालेस्टिक मिसाइलको प्रयोग बढाएपछि युक्रेनले सहयोगी राष्ट्रहरूसँग थप अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली र इन्टरसेप्टर मिसाइल उपलब्ध गराउन आग्रह दोहोर्याएको छ।

युक्रेनी वायुसेनाले ब्यालेस्टिक मिसाइल आक्रमणको चेतावनी जारी गरेलगत्तै किएभमा शक्तिशाली विस्फोट भएका थिए। आक्रमणपछि विभिन्न स्थानमा आगलागी भएको, आवासीय भवन, गोदाम, रेलवे पूर्वाधार तथा अन्य नागरिक संरचनामा क्षति पुगेको जनाइएको छ।

किएभ सहरमा एक महिलाको मृत्यु भएको छ भने कम्तीमा २४ जना घाइते भएका छन्। आसपासको किएभ क्षेत्रमा १६ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर ट्काचेन्कोले यसलाई हालसम्मकै सबैभन्दा दुःखद आक्रमणमध्ये एक भएको बताएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पर्याप्त ब्यालेस्टिक मिसाइल प्रतिरक्षा प्रणालीको अभावले यस्ता आक्रमणबाट नागरिकको ज्यान गुमिरहेको बताएका छन्। उनले थप प्याट्रियट इन्टरसेप्टर उपलब्ध गराउन र युक्रेनमै उत्पादनको अनुमति दिन सहयोगी राष्ट्रहरूसँग आग्रह गरेका छन्।

यता, युक्रेनले पनि रुसभित्रका ऊर्जा तथा रसद पूर्वाधारलाई लक्षित गर्दै ड्रोन आक्रमण तीव्र पारेको जनाएको छ। मस्को क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा पाँच जनाको मृत्यु भएको र अन्य १० जना घाइते भएको रूसी अधिकारीहरूले बताएका छन्। रूसी रक्षा मन्त्रालयका अनुसार रातभर देशका विभिन्न क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन खसालिएको छ।

संयुक्त राष्ट्रसंघका मानव अधिकार पर्यवेक्षकहरूले सन् २०२२ मा युद्ध सुरु भएयता नागरिक हताहतको संख्या निरन्तर बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। रुसले भने आफ्ना आक्रमणहरू सैन्य तथा सैन्य–सम्बन्धित पूर्वाधारलाई लक्षित गरिएको दाबी गर्दै आएको छ।

Read More

विदेशी विमानस्थलमार्फत श्रमिक पठाएको आरोपमा थप ३९ म्यानपावर कम्पनी कारबाहीमा

काठमाडौँ । वैदेशिक रोजगार विभागले आफ्नो पूर्वस्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको अभियोगमा थप ३९ वटा वैदेशिक रोजगार व्यवसायी संस्थामाथि कारबाही गरेको छ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार ती संस्थालाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको हो।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ अनुसार श्रमिकलाई स्वदेशी विमानस्थलमार्फत मात्र वैदेशिक रोजगारीमा पठाउनुपर्ने व्यवस्था छ। सो प्रावधानको कार्यान्वयन अवस्था मूल्याङ्कन गर्न विभागले २०८२ चैत १ देखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति प्राप्त गरी विदेश गएका श्रमिकहरूको उडानसम्बन्धी विवरण माग गरेको थियो।

विभागका अनुसार अनुगमनका क्रममा मागिएको विवरण उपलब्ध नगराउने वा विभागको स्वीकृतिबिना विदेशी विमानस्थल प्रयोग गरेको पाइएका गरी हालसम्म ५९८ वटा म्यानपावर कम्पनी कारबाहीको दायरामा परिसकेका छन्।

यसअघि विवरण बुझाउन निर्देशन दिइएका केही संस्थाले पछि विवरण पेस गरे पनि त्यसबाट विदेशी विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पुष्टि भएपछि थप ३९ संस्थालाई जरिबाना गरिएको विभागले जनाएको छ। विभागका अनुसार यो कारबाही वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ बमोजिम कसुर दोहोरिएको आधारमा गरिएको हो।

यस्तै, पटक–पटक निर्देशन दिँदासमेत आवश्यक विवरण उपलब्ध नगराएका १२४ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई पनि किन ५० हजार रुपैयाँ जरिबाना नगर्ने भन्ने विषयमा सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

Read More