२०८३ असार ५

२२ वर्षीया टिभी अभिनेत्री सञ्चिता उगालेको निधन; परिवार र प्रशंसक शोकमा

काठमाडौँ ।  २२ वर्षीया टिभी अभिनेत्री सञ्चिता उगाले सोमबार निधन भएकी छन्। प्रहरीले उनको शव घरभित्र सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको जनाएको छ। घटनास्थलमा उनी साडी लगाएको अवस्थामा रहेको बताइएको छ।

प्रहरीका अनुसार सूचना प्राप्त हुनासाथ टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा कुनै शंकास्पद अवस्था फेला नपरेको र घटनास्थलबाट सुसाइड नोट पनि बरामद नभएको अधिकारीले बताएका छन्। घटना हुँदा उनी घरमा एक्लै थिइन् भन्ने प्रारम्भिक जानकारी छ। उनका बुबाले भने यस घटनाबारे कुनै पनि व्यक्तिमाथि आरोप नलगाएको बताइएको छ।

सञ्चिता महाराष्ट्रको पालघरमा आफ्ना आमाबाबुसँग बस्दै आएकी थिइन्। अभिनय क्षेत्रमा सक्रिय उनी टिभी सिरियलहरू कुमकुम भाग्य’वागले की दुनिया’ मा देखिएकी थिइन्। उनको निधनपछि उनको शव पोस्टमार्टमका लागि पठाइएको र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

उनको निधन हुनुभन्दा केही घण्टा अघि मात्र उनको आधिकारिक इन्स्टाग्राम खाताबाट एउटा भिडियो पोस्ट गरिएको थियो। उक्त भिडियोमा उनी ‘डफली वाले, डफली बाजा’ गीतमा लिप-सिंक गर्दै देखिएकी थिइन्। भिडियोको क्याप्सनमा उनले “मैं नाचून, तु नाचा” लेखेकी थिइन्।

उनको मृत्युको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा फ्यानहरूले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्देशहरू लेखिरहेका छन्। इन्स्टाग्राममा उनका करिब १,३९,००० फलोअर्स थिए, र उनी नियमित रूपमा आफ्ना पोस्टहरू साझा गर्थिन्।

सञ्चिता उगालेले टेलिभिजनका विभिन्न कार्यक्रमहरूमा अभिनय गरेकी थिइन्। उनी साजन घर में’ (दंगल टिभी) मा अन्तिम पटक देखिएकी थिइन्। साथै उनले दिलवाली दुल्हा ले जायेंगे’ मा सौरभ बेदीसँग मुख्य भूमिकामा अभिनय गरेकी थिइन्।

चलचित्रतर्फ पनि उनले काम गरेकी थिइन्। छवा’ फिल्ममा उनले ताराबाईको भूमिका निर्वाह गरेकी थिइन्, जहाँ विक्की कौशल र अक्षय खन्ना मुख्य भूमिकामा थिए। उनले मनोज बाजपेयीसँग साइलेन्स २: द नाइट आउल बार शूटआउट’ मा पनि अभिनय गरेकी थिइन्।

प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ।

Read More

जेनजी आन्दोलनसँग सम्बन्धित झुटा मुद्दा तत्काल खारेज गर्न रास्वपा सांसद खतिवडाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले जेनजी आन्दोलनमा सहभागी युवाहरूमाथि झुटा मुद्दा लगाइएको भन्दै ती मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका शहीद र घाइतेहरूको त्याग र संघर्षकै आधारमा वर्तमान सरकार गठन भएको दाबी गर्दै, सोही आन्दोलनमा सहभागी युवामाथि नै पक्राउ पुर्जी जारी गरी झुटा मुद्दामा फसाउने काम भइरहेको आरोप लगाइन्।

खतिवडाले निर्दोष युवालाई लक्षित गरी झुटा मुद्दा दर्ता गर्ने प्रयास भइरहेको उल्लेख गर्दै विशेषगरी काभ्रेको पनौती क्षेत्रमा नयाँ प्रहरी प्रमुख (एसपी) आएपछि यस्ता गतिविधि बढेको गुनासो आएको बताइन्।

उनले सरकारले यसअघि झुटा मुद्दा खारेज गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नभएको भन्दै प्रश्न उठाइन्।

उनले बैठकमा भनिन्, “जेनजी आन्दोलनका शहीद र घाइतेहरूको रगत र संघर्षबाट बनेको दुईतिहाइको सरकारले अहिले त्यही आन्दोलनमा सहभागी युवाहरूको घर–घरमा पुगेर पक्राउ पुर्जी जारी गरिरहेको छ। निर्दोष युवाहरूलाई झुटा मुद्दामा फसाउने काम भइरहेको छ। काभ्रेको पनौतीमा नयाँ एसपी आएलगत्तै यस्ता गतिविधि बढेको गुनासो आएको छ। सरकारले झुटा मुद्दा खारेज गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भएको छैन। युवाहरूको त्याग, संघर्ष र समर्थनबिना यो सरकार अघि बढ्न सक्दैन। त्यसैले जेनजी आन्दोलनसँग सम्बन्धित झुटा मुद्दाहरू यथाशीघ्र खारेज गरियोस्।”

Read More

इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता निर्णायक बन्न सक्ने अमेरिकी पूर्व अधिकारीको टिप्पणी

काठमाडौँ ।  अमेरिकी रक्षा सचिव पीट हेग्सेथ का पूर्व उप प्रमुख डेरिन सेल्निक ले इरानसँग हुने आगामी वार्तामा तेहरानको आणविक कार्यक्रम सबैभन्दा महत्वपूर्ण विषय बन्ने बताएका छन्।

बीबीसीसँगको कुराकानीमा सेल्निकले इरानको युरेनियम समृद्धीकरण कार्यक्रमसम्बन्धी छलफल आगामी चरणहरूमा वार्ताको मुख्य तथा निर्णायक विषय रहने उल्लेख गरेका छन्। उनका अनुसार उक्त विषयमा हुने वार्ताले भविष्यको कूटनीतिक दिशालाई निर्धारण गर्ने क्षमता राख्नेछ।

यसअघि इरानका उपविदेशमन्त्री काजेम घारिबाबादी ले प्रारम्भिक सहमतिपछि आगामी ६० दिनसम्म वार्ता प्रक्रिया जारी रहने र सो अवधिमा इरानको आणविक कार्यक्रमसम्बन्धी विषयमा विस्तृत छलफल हुने बताएका थिए।

तर सेल्निकका अनुसार हाल अमेरिकाको प्रमुख चिन्ता इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा अन्त्य गर्ने विषयमा गम्भीरतापूर्वक वार्ता नगर्न सक्ने सम्भावना रहेको छ। उनले यस्तो अवस्था वासिङ्टनका लागि स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

उनका अनुसार, यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानले वार्तालाई गम्भीर रूपमा नलिएको निष्कर्ष निकालेमा, अमेरिकाले पुनः सैन्य कारबाहीतर्फ उन्मुख हुन सक्ने सम्भावना पनि उनले संकेत गरेका छन्।

Read More

अतिरिक्त शुल्क माग भए प्रमाणसहित ११५१ मा उजुरी गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा लिने क्रममा तोकिएको शुल्कभन्दा बढी रकम माग गरिएमा प्रमाणसहित तत्काल हटलाइन नम्बर ११५१ मा जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेका छन् ।

पदभार ग्रहणपछि मन्त्री श्रेष्ठले गुनासो सुनुवाइ र शीघ्र समाधानलाई प्रमुख प्राथमिकतामा राख्दै मन्त्रालय र मातहतका निकायमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन निर्देशन दिएका छन् ।

विद्युत् सेवासम्बन्धी गुनासो संकलन र समाधानका लागि सञ्चालनमा रहेको हटलाइन ११५१ लाई थप सक्रिय बनाइएको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले कार्यभार सम्हालेको चैत १३ गतेयता उक्त हटलाइनमार्फत १३ हजार ८८ वटा गुनासोको समाधान गरिएको छ ।

ती गुनासोमध्ये विद्युत् अवरोध (नो लाइट), ट्रान्सफर्मर बिग्रिनु, पोल तथा मिटरको अभाव, तथा भूमिगत विद्युत् जडानजस्ता समस्या प्रमुख रहेका छन् । मन्त्रालयले यस्ता समस्या छिटो समाधान गर्दै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउनेतर्फ ध्यान केन्द्रित गरेको जनाएको छ ।

त्यस्तै, संघीय तथा प्रदेश सांसदहरूले संसद्को शून्य र विशेष समयमा उठाउने ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी गुनासोलाई समेत तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ ।

सुशासन र सेवा प्रवाह सुधारका लागि मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ बमोजिम ‘सुशासन एकाइ’ गठन गरी सञ्चालनमा ल्याएको छ । उक्त एकाइमार्फत कर्मचारीको कार्यसम्पादन, जिम्मेवारी निर्वाह, कानुनी समयसीमा पालना तथा सेवा प्रवाहको प्रभावकारिताको नियमित अनुगमन र मूल्यांकन भइरहेको छ ।

साथै, सरकारी स्रोत–साधनको उपयोग, कार्यसम्पादन सूचकको कार्यान्वयन तथा काम समयमै सम्पन्न भए–नभएको विषयमा समेत निरन्तर निगरानी राखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ‘डेलिभरीमा आधारित शासन प्रणाली’लाई प्राथमिकतामा राख्दै सेवा सुधार, गुनासो व्यवस्थापन र उत्तरदायित्व अभिवृद्धिमा जोड दिएको छ ।

Read More

इटहरीमा चार हजार क्षमताको कोशी प्रदेशकै ठूलो सम्मेलन केन्द्र निर्माण, वित्तीय समापन सम्पन्न

काठमाडौँ ।  इटहरीमा कोशी प्रदेशकै हालसम्मकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने भएको छ। चार हजार जनासम्म अट्ने क्षमताको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) बुधबार सम्पन्न गरिएको हो।

उक्त परियोजनाको वित्तीय समापन एभरेष्ट बैंक लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडको सहकार्यमा सम्पन्न भएको हो।

एबी इन्भेष्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतको नेतृत्वमा अघि बढाइएको यो परियोजना पूर्वी नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।

इटहरीमा निर्माण हुने यो सम्मेलन केन्द्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी, व्यावसायिक कार्यक्रम तथा गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) आयोजना गर्न सकिनेछ। परियोजनाले इटहरीसँगै कोशी प्रदेश तथा भारतसहित छिमेकी मुलुकका आयोजकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।

बस्नेतका अनुसार परियोजनाले पूर्वी नेपाललाई पर्यटन र व्यावसायिक गतिविधिको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ। सञ्चालनमा आएपछि हजारौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने तथा स्थानीय व्यवसाय, कृषि, सेवा र पर्यटन क्षेत्रमा उल्लेखनीय प्रभाव पर्ने विश्वास गरिएको छ।

परियोजनाका परिकल्पनाकार तथा व्यवस्थापक प्रभात कार्कीले सम्मेलन केन्द्र पूर्वी नेपालको दीर्घकालीन आवश्यकता भएको उल्लेख गर्दै यसले नेपाल–भारत–भुटान–बंगलादेशलाई जोड्ने क्षेत्रीय पर्यटन तथा व्यावसायिक केन्द्रका रूपमा इटहरीको पहिचान थप सुदृढ गर्ने बताए।

Read More

एमाले प्रचार विभाग प्रमुख आचार्यको प्रतिबद्धता: डिजिटल सञ्चारमार्फत विचार विस्तार गर्ने लक्ष्य

काठमाडौँ ।  नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पार्टीको विचारलाई डिजिटल माध्यममार्फत देशभरका नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा बोल्दै आचार्यले सूचना प्रविधिको युगअनुसार प्रचार–प्रसारलाई आधुनिक र प्रभावकारी बनाइने बताए। उनले एमालेको सञ्चार रणनीति अब परम्परागत शैलीबाट अघि बढेर डिजिटल प्लेटफर्ममा केन्द्रित हुने उल्लेख गरे।

आचार्यले भने, “हाम्रो विचार अब हरेक नागरिकको मोबाइल स्क्रिनसम्म पुग्नेछ। हामी केवल प्रविधि पछ्याउने होइन, यसको नेतृत्व गर्नेछौं।”

उनले पार्टी र नेतृत्वविरुद्ध फैलाइने गलत सूचना र दुष्प्रचारको तथ्य र सत्यका आधारमा प्रतिवाद गर्ने पनि स्पष्ट पारे। उनका अनुसार, “सत्यभन्दा शक्तिशाली कुनै प्रचार हुँदैन।”

आफूलाई विभागको नेतृत्वकर्ताभन्दा पनि सहयात्रीका रूपमा प्रस्तुत गर्दै आचार्यले सामूहिक नेतृत्व, टिमवर्क र आधुनिक कार्यशैलीलाई प्राथमिकता दिने बताए।

पदभार ग्रहणसँगै उनले पार्टी नेतृत्वप्रति विश्वास र जिम्मेवारीका लागि आभार व्यक्त गर्दै निवर्तमान नेतृत्वको योगदानको प्रशंसा गरे। साथै, विभागलाई अझ प्रभावकारी बनाउन नयाँ ऊर्जा र प्रविधिको उपयोग गर्ने प्रतिबद्धता जनाए।

आचार्यले प्रचार तथा प्रकाशन विभागलाई पार्टीको नीति र विचार जनतासम्म पुर्‍याउने ‘महत्त्वपूर्ण सञ्चार केन्द्र’ का रूपमा विकास गर्ने लक्ष्य रहेको पनि बताए।

Read More

ललितपुर महानगरपालिकामा ई–चलान प्रणाली सुरु, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य

काठमाडौँ ।  ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङलगायत नगर प्रहरीद्वारा गरिने कारबाहीलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन ई–चलान प्रणाली लागू गरिएको बताएका छन्।

सोमबार आयोजित ई–चलान शुभारम्भ कार्यक्रममा बोल्दै मेयर महर्जनले प्रणाली आजदेखि नै औपचारिक रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिए।

उनले महानगरले विभिन्न क्षेत्रमा प्रविधिमैत्री सेवा विस्तार गर्दै आएको उल्लेख गर्दै यसअघि स्मार्ट स्ट्रीट लाइट र इन्टेलिजेन्ट ट्राफिक लाइट जस्ता नवीन प्रविधि पहिलोपटक ललितपुरमा प्रयोग गरिएको बताए। सोही क्रममा अब ई–चलान प्रणालीमार्फत प्रशासनिक सेवा थप आधुनिक बनाइने उनले स्पष्ट पारे।

कार्यक्रममा उनले सेवाग्राहीलाई सहज बनाउन नगर प्रहरी प्रमुख र ट्रि लिफ टेक्नोलोजीका दीपक मल्लसँगको सहकार्यमा प्रणाली विकास तथा हस्तान्तरण गरिएको जानकारी दिए। मेयर महर्जनका अनुसार हाललाई यो प्रणालीको प्रभावकारिता परीक्षणको चरणमा रहनेछ।

उनले जरिवाना तिर्नका लागि सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने बाध्यताले सेवाग्राहीलाई असहजता हुने गरेको उल्लेख गर्दै त्यही समस्या समाधान गर्न ई–चलान प्रणाली ल्याइएको बताए।

Read More

मधेस प्रदेशद्वारा ‘डिजिटल मधेस दशक’ घोषणा

काठमाडौँ । मधेस प्रदेश सरकारले सन् २०२६ देखि २०३६ सम्मका लागि ‘डिजिटल मधेस दशक’ घोषणा गरेको छ ।

प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै आगामी १० वर्षलाई डिजिटल रूपान्तरणको अवधिका रूपमा अघि बढाइने घोषणा गरेका हुन् ।

उनले उक्त अवधिअनुसार कार्यक्रम तथा योजना कार्यान्वयन गरिने जानकारी दिए ।

त्यसैगरी, बजेटमार्फत प्रदेशस्तरीय खेलाडीहरूलाई प्रोत्साहन गर्न जीवन निर्वाह भत्ता उपलब्ध गराउने व्यवस्था गरिने पनि उल्लेख गरिएको छ ।

नवउद्यमीका लागि कोष स्थापना गरिने तथा युवालाई लक्षित गर्दै सय दिने युवा रोजगारी ग्यारेन्टी कार्यक्रम सञ्चालन गरिने व्यवस्था पनि बजेटमा समेटिएको अर्थमन्त्री भट्टराईले बताएका छन् ।

Read More

शिक्षक सरुवा व्यवस्थापनमा ३ बुँदे निर्देशन जारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय महाशाखा, भक्तपुरले शिक्षक सरुवा सम्बन्धी तीन बुँदे निर्देशन जारी गरेको छ।

महाशाखाले सोमबार देशभरका स्थानीय तहहरूलाई पत्राचार गर्दै स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर वा अन्तर-स्थानीय तह सरुवा गरेर पदपूर्ति नगर्न स्पष्ट निर्देशन दिएको छ।

त्यस्तै, खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूमा उक्त दरबन्दीअनुसार शिक्षक सरुवा गर्न निर्देशन दिइएको छ।

यसैगरी, ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाका लागि निवेदन दिएका सम्भावित उम्मेदवारहरूको हकमा बढुवाको अन्तिम नतिजा प्रकाशित नभएसम्म सरुवा सहमति नदिन पनि स्थानीय तहहरूलाई निर्देशन गरिएको महाशाखाले जनाएको छ।

Read More

प्रतिनिधि सभामा शिक्षा बजेट वृद्धि र सार्वजनिक विद्यालय सुधारको माग

काठमाडौँ ।   प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट वृद्धि गर्न सरकारसँग माग गरेका छन्।

‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलमा सहभागी हुँदै सांसदहरूले सार्वजनिक विद्यालयमा विद्यार्थी संख्या किन घटिरहेको छ भन्ने प्रश्नको गम्भीर समीक्षा आवश्यक रहेको बताउँदै विद्यालयका शौचालय, प्रयोगशाला लगायत आधारभूत पूर्वाधारको सुधार र व्यवस्थापनमा ध्यान दिन आग्रह गरे।

सांसद नरेन्द्रकुमार केरुङले शिक्षा तथा खेलकुद मन्त्रालयका लागि विनियोजित बजेट अपर्याप्त रहेको टिप्पणी गर्दै सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक तथा प्रारम्भिक बालविकास शिक्षकका लागि तोकिएको सुविधा वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै, सांसद रमेशकुमार मल्लले भूकम्पप्रतिरोधी विद्यालय भवन र विद्यालय शौचालयजस्ता आधारभूत संरचनामा बजेट विनियोजन नदेखिएको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटबीच समन्वय अभाव रहेको टिप्पणी गरे।

बैठकमा शिक्षा तथा खेलकुदसहित युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल जारी रहेको छ।

Read More