२०८३ भाद्र ९

विपद् प्रभावितलाई तत्काल राहत र पुनःस्थापनाको व्यवस्था गर्न कर्णाली सरकारसँग प्रदेशसभा सदस्यको माग

काठमाडौं । कर्णाली प्रदेशसभा सदस्यहरूले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत, पुनःस्थापना र आवश्यक सहयोग उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रदेशसभाको बिहीबार बसेको बैठकको विशेष समयमा नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले हुम्लाको नेप्का, कालिकोटको दाहाँ र जाजरकोटको रिसाङलगायत क्षेत्रमा प्राकृतिक विपद्बाट ठूलो क्षति भएको बताए। उनले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराएर सरकारको उपस्थितिको अनुभूति गराउन आग्रह गरे।

कर्णालीको विकट भूगोल, कमजोर सडक पूर्वाधार, नदी–नाला र भिरालो भूभागका कारण प्रदेश प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै शाहीले विपद् प्रभावितलाई समयमै उचित राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरे।

पूर्वमुख्यमन्त्री एवं प्रदेशसभा सदस्य राजकुमार शर्माले प्रदेशसभा सदस्यहरूले उठाएका विषयलाई दलगत दृष्टिकोणबाट नभई अध्ययन र तथ्यका आधारमा सम्बोधन गर्न सरकारलाई आग्रह गरे। उनले संघीयताको बलियो आधारका रूपमा प्रदेशलाई विकास गर्न प्रदेश सरकारलाई स्वायत्त रूपमा काम गर्ने वातावरण आवश्यक रहेको बताए।

प्रदेशसभा सदस्य सुरेश अधिकारीले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सरकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। दक्षिणा शाहीले कालिकोटको खाँडाचक्र नगरपालिका–६, दाहाँस्थित इम्रीमा बाढी तथा पहिरोका कारण गाईवस्तु, अन्नपात र घरमा क्षति पुगेकाले प्रभावितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।

बैठकमा कल्याणी खड्काले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित र अधिकार संरक्षणसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताइन्।

त्यस्तै, प्रदेशसभा सदस्यहरू उर्मिला विश्वकर्मा, वेदराज सिंह र देवेन्द्र शाहीले जाजरकोट, कालिकोट, हुम्ला र रुकुमपश्चिममा पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

सभामुख नन्दा गुरुङले विशेष समयमा प्रदेशसभा सदस्यहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीलाई सात दिनभित्र जवाफ दिन रुलिङ गरेकी छन्।

Read More

बालिका हत्या घटनामा पाँचबुँदे सहमति, पीडित परिवारद्वारा अस्वीकार

काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीय प्रशासन, जनप्रतिनिधि, सुरक्षा निकाय र पीडित पक्षका प्रतिनिधिबीच पाँचबुँदे सहमति भएको छ। बिहीबार राति सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय, पथलैयामा भएको छलफलमा राहत, अनुसन्धान, सुरक्षा व्यवस्थापन तथा प्रहरी अधिकृतको सरुवासहितका विषयमा सहमति जुटाइएको हो।

सहमतिअनुसार पीडित परिवारलाई राहत तथा रोजगारीका लागि गृह मन्त्रालयसमक्ष सिफारिस गर्ने, अनुसन्धानका क्रममा थप दोषी भेटिए कानुनअनुसार कारबाही गर्ने र जिल्लाको सुरक्षा अवस्थाको पुनरावलोकन गरी सुरक्षा व्यवस्था सुदृढ बनाउने निर्णय भएको छ। जिम्मेवार प्रहरी अधिकृतको सरुवासम्बन्धी विषयमा समेत सहमति भएको जनाइएको छ।

तर, पीडित बालिकाका अभिभावकले भने उक्त सहमति आफूहरूलाई जानकारी नदिई गरिएको भन्दै अस्वीकार गरेका छन्। उनीहरूले दोषीलाई आफूहरूको जिम्मा लगाउनुपर्ने तथा प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्रीको उपस्थितिमा कारबाहीको सुनिश्चितता हुनुपर्ने माग राखेका छन्।

पीडित परिवारको प्रदर्शन जारी रहेकाले मंगलबार बिहानदेखि अवरुद्ध पथलैया–वीरगन्ज सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। सडक अवरुद्ध हुँदा सयौँ मालवाहक तथा यात्रुवाहक सवारीसाधन बाटोमै रोकिएका छन्।

Read More

बाजुरामा पहिरोले दुई घरमा क्षति, ११५ जना सुरक्षित स्थानमा सारिए

काठमाडौं। बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

बिहीबार परेको लगातारको वर्षापछि आएको पहिरोले पूर्णिमल बोहरा र बुदी बोहराको तीनतले घर पूर्ण रूपमा पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घरभित्र रहेका सामानसमेत पहिरोमा पुरिएका छन्।

प्रहरीका अनुसार आसपासका क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले प्रभावित परिवारलाई अस्थायी टहरामा सारिएको छ। पुरिएका सामान निकाल्ने प्रयास भइरहेको छ।

गौमुल गाउँपालिकाले विस्थापित परिवारका लागि राहत सामग्रीसहितको टोली परिचालन गरेको जनाएको छ। गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले प्रभावित परिवारको सहयोगमा जुट्न स्थानीय सामाजिक संघसंस्थालाई आग्रह गरेका छन्।

Read More

झापामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं। झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको संक्रमणका कारण गत साता मृत्यु भएपछि जिल्लामा जेइबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा हालसम्म ११ जनामा जेइ संक्रमण पुष्टि भएको छ। मृत्यु हुनेमा चार महिला र दुई पुरुष छन्।

संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा जेइ परीक्षण विस्तार गरेको छ। जोखिमयुक्त क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरी अवस्था अनुगमन गर्ने तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेको कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए।

Read More

चार निजी विद्यालयको नाम र ठेगाना परिवर्तनको प्रक्रिया अघि बढ्यो

काठमाडौं। काठमाडौं महानगरपालिका क्षेत्रका चार निजी विद्यालयले आफ्नो नाम तथा ठेगाना परिवर्तन गर्न प्रक्रिया अघि बढाएका छन्। सम्बन्धित विद्यालयका सञ्चालकले नाम र स्थान परिवर्तनका लागि महानगरपालिकामा निवेदन दिएका छन्।

महानगरपालिकाको शिक्षा विभागले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित परिवर्तनबारे कसैको दाबी वा विरोध भएमा ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ।

नाम तथा स्थान परिवर्तनका लागि निवेदन दिने विद्यालयमा काठमाडौं महानगरपालिका–६ बौद्धस्थित बुद्ध पशुपति इङ्लिस बोर्डिङ स्कुल, महानगरपालिका–३० स्थित साई शिक्षा निकेतन, ज्ञानेश्वरस्थित मानवी एकेडेमी र बौद्धस्थित मञ्जुश्री सामुदायिक विद्यालय रहेका छन्।

Read More

म्याग्दीमा एक वर्षमै ७३ करोडको आलु र सुन्तला कारोबार

काठमाडौं। म्याग्दीमा आर्थिक वर्ष २०८२/८३ मा उत्पादित आलु र सुन्तलाबाट ७३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कृषि विकास कार्यालयका अनुसार उक्त अवधिमा ३३ हजार १२० मेट्रिक टन आलु र ४ हजार ५१५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।

कृषि उपजउत्पादनकारोबार
आलु३३,१२० मेट्रिक टनरु. ४० करोड
सुन्तला४,५१५ मेट्रिक टनरु. ३३ करोड ८६ लाख
जम्मा३७,६३५ मेट्रिक टनरु. ७३ करोड ८६ लाख

आलु १ हजार ८४० हेक्टर र सुन्तला ४३० हेक्टरमा खेती गरिएको थियो। औसतमा आलु प्रतिकिलो ३० रुपैयाँ र सुन्तला ७५ रुपैयाँमा बिक्री भएको कार्यालयले जनाएको छ। अघिल्लो वर्षको तुलनामा सुन्तलाको उत्पादन सामान्य रहे पनि वैशाख–जेठमा परेको असिनाका कारण आलु उत्पादनमा करिब २० करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

म्याग्दीमा उत्पादित आलु र सुन्तला बेनीसँगै पोखरा, काठमाडौं, चितवनलगायतका बजारमा बिक्री हुँदै आएका छन्। सडक पहुँच विस्तारसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजलाई बजारसम्म पुर्‍याउन सहज भएको कृषि विकास कार्यालयको भनाइ छ।

कृषि प्रवर्द्धनमा सरकारी लगानी

आलु र सुन्तलाको उत्पादन तथा बगैँचा विस्तारका लागि कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। गत आर्थिक वर्ष तीन तहका सरकारले कृषि क्षेत्रमा ९ करोड ३९ लाख ८३ हजार रुपैयाँ विनियोजन गरेकामा ६ करोड ७८ लाख ६७ हजार रुपैयाँ खर्च भएको थियो।

आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत ८०० परिवारलाई ७०० रोपनीमा खेती गर्न ३९ लाख ७० हजार रुपैयाँ अनुदान दिइएको थियो। यसबाट १ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको कार्यालयले जनाएको छ। त्यस्तै, ३२ वटा कृषि फार्मलाई १९ लाख २९ हजार रुपैयाँ सहयोग गरी ५९९ रोपनी क्षेत्रफलका सुन्तला बगैँचामा मलखाद, सिँचाइ, औजार तथा यान्त्रिकीकरणमा काम गरिएको थियो।

चालु कार्यक्रमअन्तर्गत फलफूल बगैँचा विस्तार तथा सुदृढीकरणका लागि ४२ लाख र खायन आलु प्रवर्द्धनका लागि ३३ लाख रुपैयाँ बजेट छुट्याइएको छ।

किसानहरूले भने कृषि उपजको बजार व्यवस्थापन, सिँचाइ, गुणस्तरीय बीउबिजन, जनशक्ति तथा बाँदरको समस्यालाई प्राथमिकताका साथ समाधान गर्नुपर्ने माग गरेका छन्। प्रदेश सरकारले कृषि कार्यक्रमलाई किसानमुखी बनाउँदै उत्पादनसँगै बजारीकरण र पूर्वाधार विकासमा ध्यान दिने जनाएको छ।

Read More

आतङ्कवादका पीडितको सम्झना र सम्मानमा आज अन्तर्राष्ट्रिय दिवस

काठमाडौं। आतङ्कवादबाट प्रभावित तथा पीडित व्यक्तिको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षण गर्ने उद्देश्यले आज ‘आतङ्कवादका पीडितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस’ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्ट २१ मा यो दिवस मनाउने गरिन्छ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१७ मा आतङ्कवादका पीडित तथा बाँचेकाहरूलाई सम्मान र आवश्यक सहयोग उपलब्ध गराउँदै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउने निर्णय गरेको थियो।

संयुक्त राष्ट्रसंघले आतङ्कवादका पीडितको अधिकार र आवश्यकतालाई अन्तर्राष्ट्रियस्तरमा प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिँदै आएको छ। महासचिव एन्टोनियो गुटेरेसले सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय सहकार्य थप सुदृढ गर्नुपर्ने उल्लेख गरिएको थियो।

संयुक्त राष्ट्रसंघको विश्वव्यापी आतङ्कवादविरोधी रणनीतिको समीक्षाका क्रममा सदस्य राष्ट्रहरूले आतङ्कवाद तथा हिंसात्मक अतिवाद रोकथामसँगै पीडितको मानव अधिकार संरक्षण र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकतामा जोड दिँदै आएका छन्।

सन् २०१९ मा ‘ग्रुप अफ फ्रेन्ड्स अफ भिक्टिम्स अफ टेरोरिजम’ स्थापना हुनु तथा पीडितलाई सहयोगसम्बन्धी महासभाका विभिन्न प्रस्ताव पारित हुनु यस क्षेत्रमा भएका महत्वपूर्ण पहलका रूपमा लिइन्छ। पछिल्ला वर्षहरूमा पीडितप्रतिको सहयोग औपचारिक ऐक्यबद्धतामा मात्र सीमित नरही उनीहरूको अधिकार, सुरक्षा र दीर्घकालीन आवश्यकतालाई सम्बोधन गर्ने दिशामा केन्द्रित हुँदै आएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

सन् २०२३ मा पारित महासभाको आठौँ समीक्षा प्रस्तावले विशेषगरी महिला, बालबालिका तथा आतङ्कवादी हिंसाबाट हुने यौन र लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको अधिकार तथा आवश्यकतालाई प्राथमिकतामा राख्न सदस्य राष्ट्रलाई आग्रह गरेको थियो। साथै, पीडित तथा उनीहरूका परिवारका तत्कालीन, अल्पकालीन र दीर्घकालीन आवश्यकता पूरा गर्न राष्ट्रियस्तरमा समग्र सहायता योजना निर्माण गर्न प्रोत्साहित गरिएको थियो।

संयुक्त राष्ट्रसंघले सन् २०२२ मा पहिलो विश्वव्यापी आतङ्कवाद पीडित सम्मेलन आयोजना गरेको थियो। राष्ट्रसंघीय आतङ्कवादप्रतिरोध कार्यालयले पीडित सहायता कार्यक्रम तथा ‘युनाइटेड नेसन्स भिक्टिम्स अफ टेरोरिजम सपोर्ट पोर्टल’मार्फत पीडितका अधिकार र आवश्यकताबारे विश्वव्यापी रूपमा सचेतना अभिवृद्धि गर्दै आएको छ।

Read More

आज सङ्घीय संसद्का दुई समितिको बैठक बस्दै

काठमाडौं। सङ्घीय संसद्का दुई समितिले आज छुट्टाछुट्टै बैठकमार्फत महत्वपूर्ण विषयमा छलफल गर्दैछन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति र संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक आज बिहान साढे ९ बजे बस्ने तय भएको छ।

अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफललाई निरन्तरता दिइनेछ। छलफलमा अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव, कानुन सचिव तथा नेपाल राष्ट्र बैङ्कका प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको समितिले जनाएको छ।

त्यस्तै, संसदीय सुनुवाइ समितिको बैठकमा समितिले माग गरेको सूचना तथा अभिमुखीकरण कार्यक्रमसम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ। दुवै बैठक बिहान साढे ९ बजेदेखि सुरु हुने संसद् सचिवालयले जनाएको छ।

Read More

बागमतीका मुख्यमन्त्री किरण थापा मगरको राजनीतिक यात्रा

काठमाडौं । बागमती प्रदेशको नेतृत्व सम्हाल्न पुगेका किरण थापा मगरले स्थानीय तहको जनप्रतिनिधिदेखि प्रदेशसभा सदस्य, मन्त्री हुँदै मुख्यमन्त्रीसम्मको राजनीतिक यात्रा तय गरेका छन्। भक्तपुरको सूर्यविनायक–८, सिपाडोलमा २०३३ साल भदौ १४ गते जन्मिएका थापा मगर २०४७ सालदेखि राजनीति तथा सामाजिक सेवामा सक्रिय रहेको बताउँछन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भक्तपुर जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी सम्हालेका उनी २०७४ सालमा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्ष निर्वाचित भएका थिए। स्थानीय तहमा काम गर्ने क्रममा सामाजिक विकास समितिको संयोजकसमेत बनेका उनी २०७९ सालमा भक्तपुर निर्वाचन क्षेत्र नं. २ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित भए।

प्रदेशसभा सदस्य बनेपछि थापा मगरले बागमती प्रदेश सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले। २०८१ साउनदेखि २०८३ असारसम्म दुईपटक स्वास्थ्यमन्त्रीका रूपमा काम गरेका उनी बिहीबार प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

राजनीतिसँगै थापा मगर सामाजिक क्षेत्रमा पनि लामो समयदेखि सक्रिय छन्। डोलेश्वर महादेव मन्दिर संरक्षण समिति तथा नेपाल रेडक्रस सोसाइटीलगायत संस्थामा विभिन्न जिम्मेवारी सम्हालेका उनले विपद्का समयमा उद्धार तथा राहतका काममा पनि सक्रियता देखाउँदै आएका छन्। २०७२ को भूकम्प, २०७५ को हनुमन्ते बाढी तथा कोरोना महामारीका बेला राहत, स्वास्थ्य सेवा, अक्सिजन र औषधि व्यवस्थापनमा संलग्न भएको उनको भनाइ छ।

खेलकुद तथा व्यवसाय क्षेत्रमा समेत संलग्न थापा मगरले नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेश र सूर्यविनायक उद्योग वाणिज्य सङ्घमा जिम्मेवारी निर्वाह गरेका छन्। निजी व्यवसायमार्फत ५०० भन्दा बढीलाई रोजगारी दिएको उनको दाबी छ। वडाध्यक्ष हुँदा प्राप्त हुने सुविधा नलिई त्यसबाट बचत रकमको उपयोग गरी अक्षयकोष स्थापना गरेको र कोषको रकम हाल रु ४० लाख पुगेको उनले बताएका छन्।

अब मुख्यमन्त्रीका रूपमा थापा मगरसामु प्रदेश सरकारको प्रभावकारिता बढाउने, राजनीतिक सहकार्य कायम गर्ने र प्रदेशवासीका अपेक्षा सम्बोधन गर्ने चुनौती छ। सरकार गठनमा सहयोग गर्ने दलहरूलाई समेट्दै संघीयताको मर्मअनुसार प्रदेशको अधिकार र प्राथमिकतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु उनको मुख्य जिम्मेवारी हुनेछ।

Read More

वर्षाका कारण विभिन्न स्थानमा सडक अवरुद्ध, केही सडकखण्डमा राति सवारी सञ्चालनमा रोक

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् भने सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ः०० बजेसम्म जारी गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन्।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म बन्द गरिएको छ। अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न नपाइने जनाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्ग रहेको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ भने सोही वडाको लिपिङमा सडक भासिएपछि राजमार्गको आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीको कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

वर्षाका कारण सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले प्रहरीले यात्रुलाई आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरेको छ। सडकको अवस्था बुझेर यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न पनि सम्बन्धित निकायले अनुरोध गरेको छ। विशेषगरी रातिको समयमा बाढी, पहिरो तथा नदी कटानको जोखिम बढ्न सक्ने भएकाले प्रभावित सडकखण्डमा अनावश्यक यात्रा नगर्न र सम्बन्धित निकायबाट जारी हुने पछिल्लो सूचना हेरेर मात्र यात्रा गर्न यात्रुलाई आग्रह गरिएको छ।

Read More