२०८३ श्रावण १३

प्रधानमन्त्री शाहले पुँजी बजारबारे छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १२ बजे आयोजना हुने छलफलमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसायको सुधार, बीमा क्षेत्रको सुदृढीकरण तथा आवश्यक नीतिगत सुधारका विषयमा विस्तृत छलफल हुनेछ।

बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुनेछन्।

त्यसैगरी, प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेल पनि छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीसँग हुने उक्त बैठकमा पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उपाय, लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने पहल तथा राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालाहरूले सुझाव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

Read More

कोशी प्रदेश मन्त्रिपरिषद् बैठकबाट तीन महत्त्वपूर्ण निर्णय, खरिद नियमावली र क्षतिपूर्ति निर्देशिका स्वीकृत

काठमाडौं । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले तीन वटा महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकले ग्रामीण सडक सञ्जाल सुधार आयोजना, सार्वजनिक खरिद र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित विभिन्न कानुनी तथा कार्यविधिगत प्रस्ताव स्वीकृत गरेको हो।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत अतिरिक्त लगानीका कारण प्रभावित संरचना, घरटहरा तथा भौतिक सम्पत्तिको क्षतिपूर्ति निर्धारण र वितरणसम्बन्धी निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली, २०८३ पनि पारित गरेको छ। बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित ‘म अघि बढ्छु’ कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३ लाई समेत स्वीकृति दिएको छ।

प्रदेश सरकारले यी निर्णयले विकास आयोजना सञ्चालन, सार्वजनिक खरिद प्रक्रिया तथा लक्षित कार्यक्रम कार्यान्वयनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरेको जनाएको छ।

Read More

राष्ट्र बैंक ऐन संशोधन आवश्यक रहेको अर्थमन्त्री वाग्लेको भनाइ

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप स्वायत्त, व्यावसायिक र प्रविधिमैत्री संस्था बनाउन नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन आवश्यक रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा प्रस्तावित विधेयकमाथि भएको प्रारम्भिक छलफलमा बोल्दै मन्त्री वाग्लेले बदलिँदो आर्थिक अवस्था, वित्तीय क्षेत्रका नयाँ चुनौती र प्रविधिको तीव्र विकासलाई सम्बोधन गर्न कानुनी व्यवस्था परिमार्जन गर्न लागिएको बताए।

उनका अनुसार कोभिड–१९ महामारीपछि नेपालको बाह्य क्षेत्र तथा भुक्तानी सन्तुलनमा देखिएको दबाबका बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) अन्तर्गत लिइएको विस्तारित कर्जा सुविधा (ईसीएफ) का क्रममा गरिएका सुधारका प्रतिबद्धता पनि संशोधन विधेयकमार्फत कार्यान्वयन गर्न खोजिएको हो।

मन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले केन्द्रीय बैंकको स्वायत्तता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले गभर्नर नियुक्तिमा राजनीतिक प्रभाव कम गर्ने व्यवस्था ऐनको प्रमुख उपलब्धि रहेको बताए।

उनले केन्द्रीय बैंकलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्दै सरकारको वित्तीय नीति र राष्ट्र बैंकको मौद्रिक नीतिबीच आवश्यक समन्वय कायम गर्नुपर्नेमा जोड दिए। नेपाल आईएमएफको सदस्य राष्ट्र भएकाले अन्तर्राष्ट्रिय अभ्यास, सुझाव र नेपालको आवश्यकतालाई समेत ध्यानमा राखेर आर्थिक तथा वित्तीय स्थायित्वका लागि सुधार अघि बढाइएको उनको भनाइ थियो।

संशोधन प्रस्तावमा डिजिटल प्रविधिको विकासलाई ध्यानमा राख्दै ‘डिजिटल करेन्सी’ सम्बन्धी अवधारणालाई पहिलो पटक कानुनी दायरामा ल्याउने व्यवस्था गरिएको मन्त्री वाग्लेले जानकारी दिए।

उनका अनुसार विधेयकमा वित्तीय संस्था, मुद्रा, मौद्रिक दायित्व र ऋण उपकरणजस्ता विषयको परिभाषालाई स्पष्ट पार्ने प्रस्ताव गरिएको छ। साथै, गभर्नर तथा सञ्चालकको नियुक्ति र पदमुक्ति, सञ्चालक समितिको जिम्मेवारी तथा अधिकार, खुद आय र वितरणयोग्य आय गणनालगायत व्यवस्थालाई समयअनुकूल बनाउने विषय समेटिएको छ।

मन्त्री वाग्लेले विश्वव्यापी अभ्यासअनुसार केन्द्रीय बैंक राजनीतिक चक्रबाट केही हदसम्म स्वतन्त्र हुनुपर्ने भए पनि सरकारसँग समन्वय गर्दै मूल्य स्थिरता, आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लक्ष्यमा सहकार्य गर्नुपर्ने बताए।

डिजिटल भुक्तानी प्रणाली र केन्द्रीय बैंकद्वारा जारी गरिने सम्भावित डिजिटल मुद्राजस्ता नयाँ अभ्यासका कारण राष्ट्र बैंकसम्बन्धी कानुनलाई पनि समयअनुकूल बनाउन आवश्यक भएको उनले स्पष्ट पारे।

Read More

स्वदेशी जुत्ता–चप्पल उद्योग प्रवर्द्धनमा सरकारको सहजीकरण रहने प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धन तथा उद्योग विकासका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा सदस्यसँग भएको छलफलमा प्रधानमन्त्री शाहले जुत्ता–चप्पलको आयात प्रतिस्थापन, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका हुन्।

उनले तीनै तहका सरकारबीच समन्वय गरी जुत्ता–चप्पल उत्पादनसम्बन्धी सीपमूलक तालिम सञ्चालन गर्ने तथा नेपाली उत्पादनको प्रवर्द्धन र बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताए। साथै, उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको सीमा, ट्रयाकिङ तथा अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउने उनको भनाइ थियो।

छलफलका क्रममा एफएमएएनका पदाधिकारी तथा सदस्यहरूले विभिन्न सीमा नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न, करको दायराबाहिर रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनलाई कानुनी दायरामा ल्याउन, गुणस्तरहीन जुत्ता–चप्पलको आयात रोक्न तथा आयातित उत्पादनमा अनिवार्य गुणस्तर परीक्षणको व्यवस्था गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री व्यवस्था भए स्वदेशी जुत्ता–चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरेका थिए।

छलफलमा एफएमएएनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम तथा सदस्य एवं प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता रहेको थियो।

Read More

बजेट पारित नभए पनि सुदूरपश्चिममा राजस्व सङ्कलन जारी रहने

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष २०८३/८४ को बजेट अझै पारित हुन नसके पनि प्रदेशमा राजस्व सङ्कलन भने निरन्तर जारी रहने भएको छ। प्रदेशको आर्थिक मामिला मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै राजस्व सङ्कलन रोकिएको छैन र प्रचलित कानुनी व्यवस्थाअनुसार नियमित रूपमा जारी रहने जनाएको हो।

बजेटसँगै प्रस्तुत गरिएको आर्थिक विधेयक, २०८३ प्रदेशसभामा विचाराधीन रहेकाले र उक्त विधेयक पारित गर्ने समय बिहीबार समाप्त भएपछि बजेट कार्यान्वयनलाई लिएर अन्योल सिर्जना भएको थियो।

मन्त्रालयका अनुसार आर्थिक विधेयक प्रदेशसभाबाट पारित भई प्रमाणीकरण नभएसम्म वा अन्य व्यवस्था नहुँदासम्म शुक्रबारदेखि राजस्व सङ्कलन प्रदेशको सामयिक राजस्व सङ्कलनसम्बन्धी ऐन, २०८१ को दफा ३ बमोजिम प्रदेश आर्थिक ऐन, २०८२ अनुसार गरिनेछ।

गत असार १ गते प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेपछि सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एमालेबीच उत्पन्न विवादका कारण बजेट अझै पारित हुन सकेको छैन।

विवाद चर्किएपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेबाट सरकारमा सहभागी तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गर्नुभएको थियो। त्यसपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह बहुमत जुटाउने प्रयासमा जुटेका छन्।

Read More

बागमती प्रदेशमा मन्त्रालय घटेसँगै मन्त्रीहरूको जिम्मेवारी हेरफेर

काठमाडौँ बागमती प्रदेशमा साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ कायम भएपछि मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिएको छ।

प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक देवकोटाले मन्त्रीहरूको कार्य विभाजनसहित मन्त्रिपरिषद् हेरफेर गरेका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले मन्त्रिपरिषद्को कार्य विभाजन गरेका हुन्।

शुक्रबार गरिएको कार्य विभाजनपछि बागमती प्रदेशमा ६ जना मन्त्री विना विभागीय भएका छन्। मन्त्रालय पुनर्संरचनासँगै मन्त्रीहरूको जिम्मेवारी व्यवस्थापन गर्न यस्तो हेरफेर गरिएको हो।

Read More

करार कर्मचारी व्यवस्थापनमा सरकारको नयाँ व्यवस्था, अवकाशप्राप्तलाई सेवा निरन्तरता नदिइने

काठमाडौँ । सरकारले स्वीकृत दरबन्दीभित्र करार सेवामा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ व्यवस्था लागू गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको निर्णयका आधारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित निकायलाई सात बुँदे परिपत्र जारी गर्दै नयाँ व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

परिपत्रअनुसार हाल करार सेवामा कार्यरतमध्ये सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान लिइसकेका वा निवृत्तिभरण पाइरहेका कर्मचारीलाई २०८३ साउन १ गतेदेखि करार सेवा निरन्तरता नदिइने भएको छ।

अतिरिक्त कर्मचारीलाई ‘पुल’मा राखिने

नयाँ व्यवस्था लागू भएपछि करार सेवामा कार्यरत कर्मचारी संख्या आवश्यकता भन्दा बढी भएमा सम्बन्धित निकायले उनीहरूलाई करार सम्झौतासहित ‘पुल’मा राख्नुपर्नेछ।

‘पुल’मा रहेका कर्मचारीको एकीकृत विवरण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अद्यावधिक गर्नेछ। संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएम) स्वीकृत भएपछि आवश्यकता अनुसार त्यस्ता कर्मचारीलाई विभिन्न निकायमा खटाइने व्यवस्था गरिएको छ।

नयाँ नियुक्तिभन्दा पहिले पुलका कर्मचारीलाई प्राथमिकता

सरकारले नयाँ स्थापना भएका निकायमा सिर्जना हुने दरबन्दी वा अन्य निकायमा रिक्त हुने स्वीकृत दरबन्दीमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्नुअघि ‘पुल’मा रहेका करार कर्मचारीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ।

सम्बन्धित निकायले मन्त्रालयमार्फत माग गरेपछि पुलमा रहेका कर्मचारीलाई करार सम्झौतासहित काममा लगाइनेछ।

एकीकरण वा खारेजी भएका निकायमा न्यूनतम जनशक्ति कायम गरिने

विभिन्न मन्त्रालयअन्तर्गतका निकाय एकीकरण वा खारेजीको अवस्थामा पुगे पनि प्रक्रिया पूरा नहुँदासम्म सम्पत्तिको संरक्षण, सुरक्षा र नियमित कार्य सञ्चालनका लागि आवश्यक न्यूनतम जनशक्ति हाल कार्यरत करार कर्मचारीबाटै व्यवस्थापन गरिने भएको छ। यसका लागि सम्बन्धित मन्त्रालयले आवश्यक जनशक्तिको यकिन गरी व्यवस्थापन गर्नेछ।

सरकारले करार कर्मचारी व्यवस्थापनको दीर्घकालीन समाधानका लागि समेत अध्ययन अघि बढाएको छ। परिपत्रमा ‘पुल’मा बाँकी रहने करार कर्मचारीको व्यवस्थापन, भविष्यमा करार कर्मचारी नियुक्त गर्दा आवश्यक न्यूनतम सेवा–सुविधाको मापदण्ड तथा स्वीकृत दरबन्दीबाहिर करारमा कर्मचारी राख्न नसकिने अवस्थाबारे एक महिनाभित्र अध्ययन गरी उपयुक्त विकल्पसहित सिफारिस पेश गर्न मन्त्रालयलाई जिम्मेवारी दिइएको छ।

null

Read More

दीपक भट्ट र सुलभ अग्रवाल धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार थुनछेक आदेश जारी गर्दै बिमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड रुपैयाँ र भट्टसँग डेढ करोड रुपैयाँ धरौटी माग गरेको हो।

त्यस्तै, धितोपत्रसम्बन्धी कसुरमा अदालतले अग्रवालसँग डेढ करोड रुपैयाँ तथा भट्टसँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ।

जिल्ला अदालत काठमाडौँले करिब एक सातासम्म चलेको निरन्तर सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो।

यसैबीच, हिमालयन रिइन्स्योरेन्सको संस्थापक शेयर बिक्रीसम्बन्धी अर्को मुद्दामा सुलभ अग्रवालसँग अदालतले दुई करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ।

Read More

संसदीय समितिका चार बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका चार वटा संसदीय समितिको बैठक आज बस्दैछ। अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिले विभिन्न विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।

अर्थ समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल हुने कार्यसूची रहेको छ। छलफलमा अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधिको सहभागिता रहनेछ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ। समितिले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि विषय विज्ञ, संस्कृति मन्त्रालय, आदिवासी जनजाति आयोग र यूनेस्को नेपालका प्रतिनिधिसँग छलफल गर्नेछ।

कृषि तथा प्राकृतिक स्रोत समितिले दुई वटा बैठक आयोजना गर्दैछ। बिहान ९ः३० बजे हुने पहिलो बैठकमा वन तथा वातावरण मन्त्रालयको कार्यप्रगति, आगामी योजना तथा वन–पर्यावरण क्षेत्रसँग सम्बन्धित गतिविधिबारे समीक्षा गरिनेछ।

यस्तै, दिउँसो १२ बजे बस्ने दोस्रो बैठकमा रासायनिक मलको खरिद, आयात, मौज्दात, वितरण अवस्था र आगामी आपूर्ति रणनीतिबारे छलफल हुनेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ। उक्त बैठकमा राष्ट्रिय समावेशी आयोगको कामकारबाही र हालसम्मको प्रगतिका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।

Read More

साउने संक्रान्तिमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं : कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको सूचनाअनुसार उक्त दिन कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहनेछन्।

कार्यालयका अनुसार प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गते बसेको बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै निकाय र सर्वसाधारणलाई जानकारी गराइएको हो।

Read More