२०८३ भाद्र ३१

लुम्बिनी प्रदेश सरकारको मन्त्रालय पुनःसंरचना, अब मुख्यमन्त्री कार्यालयसहित ९ वटा मन्त्रालय

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी, चुस्त र व्यवस्थित बनाउने उद्देश्यले मन्त्रालयको पुनःसंरचना गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले ‘प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अब प्रदेशमा कुल ९ वटा मन्त्रालय रहने व्यवस्था गरेको हो।

भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीका अनुसार यसअघि सञ्चालनमा रहेका १२ मन्त्रालयको संरचनालाई पुनर्गठन गरी केही मन्त्रालयलाई एकआपसमा गाभिएको छ। नयाँ संरचनाअनुसार युवा तथा खेलकुद मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा समायोजन गरिएको छ।

त्यसैगरी, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय खारेज गरी उद्योग तथा यातायातसम्बन्धी जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई दिइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सहरी विकास मन्त्रालयमा गाभिएको छ भने वन तथा वातावरण मन्त्रालयमा पर्यटन क्षेत्रसमेत समेटेर यसको नाम वन, वातावरण तथा पर्यटन मन्त्रालय राखिएको छ।

मन्त्रिपरिषद् बैठकले प्रदेश कृषि सेवाका दुई वरिष्ठ अधिकृतलाई लोकसेवा आयोगको सिफारिसका आधारमा स्थायी नियुक्ति तथा पदस्थापन गर्ने निर्णय पनि गरेको छ।

निर्णयअनुसार रामप्रसाद पाण्डेलाई कृषि विकास निर्देशनालय, रूपन्देहीको महानिर्देशक तथा भाष्कर पौडेललाई पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, रूपन्देहीको महानिर्देशक पदमा नियुक्त तथा पदस्थापन गरिएको मन्त्री खत्रीले जानकारी दिए।

प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर प्रशासनिक संरचनालाई थप प्रभावकारी बनाउने र स्रोत–साधनको उचित उपयोग गर्ने लक्ष्य राखेको जनाएको छ।

Read More

शान्ति सुरक्षा कायम गर्नु राज्यको जिम्मेवारी: महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दंगा तथा भीड नियन्त्रणमा सुरक्षाकर्मीको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले मोरङ–सुनसरी क्षेत्रमा देखिएको अशान्त अवस्थालाई नियन्त्रण गर्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।

उनले प्रधानमन्त्री बालेन शाहले नै सर्वदलीय बैठक बोलाएर समाधान खोज्नुपर्ने अवस्था भए पनि रास्वपा सभापति लामिछानेले सक्रियता देखाउनु सकारात्मक रहेको उल्लेख गरे।

पोखरेलका अनुसार सर्वदलीय बैठकले सामाजिक शान्ति र सद्भाव कायम राख्न राजनीतिक दलहरूले आ–आफ्नो भूमिका निर्वाह गर्ने सहमति गरेको छ। उनले नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्नु राज्य र सरकारको प्रमुख दायित्व भएको बताए।

उनले समाजमा शान्ति सुरक्षा कायम गर्न सरकार गम्भीर हुनुपर्ने र यस्ता घटनाको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको धारणा व्यक्त गरे।

Read More

सुनसरी घटनाबारे छलफल गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं । सुनसरी घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउतसहित मधेस केन्द्रित दलका नेता तथा सांसदहरूको सहभागिता रहेको छ।

सुनसरी घटनापछि विकसित राजनीतिक तथा सामाजिक परिस्थितिको समीक्षा गर्दै शान्ति–सुरक्षा, सामाजिक सद्भाव र राजनीतिक दलहरूको साझा धारणा निर्माणका विषयमा बैठकमा छलफल भइरहेको जनाइएको छ।

सुनसरी घटनापछि उत्पन्न तनावलाई सम्बोधन गर्दै सबै राजनीतिक दलबाट संयम र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले सर्वदलीय बैठक आयोजना गरिएको हो।

Read More

आज संघीय संसद्का दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्ने भएको छ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति तथा संसदीय सुनुवाइ समितिको बैठकका लागि कार्यसूची तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।

संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध परेका उजुरीबारे उजुरीकर्तासँग छलफल गरिनेछ। त्यसपछि प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीलाई समितिसमक्ष उपस्थित गराई संसदीय सुनुवाइ सञ्चालन गरिने कार्यसूची रहेको छ। समितिको बैठक बिहान ११ः१५ बजे बस्ने तय भएको छ।

यसअघि मंगलबार समितिले निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बासँग संसदीय सुनुवाइ सम्पन्न गरेको थियो।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनामाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

Read More

सभामुख र कांग्रेस संसदीय दलका नेताबीच भेट, संसद्को भूमिका र जनसरोकारका विषयमा छलफल

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच सिंहदरबारमा भेटवार्ता भएको छ। मुलुकमा देखिएका पछिल्ला राजनीतिक तथा सामाजिक घटनाक्रमका विषयमा केन्द्रित रहेर भएको भेटमा संसद्को आगामी भूमिका, शान्ति–सुरक्षा अवस्था र जनतासँग प्रत्यक्ष जोडिएका विषयमा छलफल भएको हो।

भेटका क्रममा नेता आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराएका थिए। उनले पछिल्ला घटनाक्रमले शान्ति–सुरक्षाको अवस्थाप्रति चिन्ता बढाएको उल्लेख गर्दै नागरिकको सुरक्षाका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए।

उनले संसद्ले सरकारलाई जनताको सुरक्षासँग सम्बन्धित विषयमा जिम्मेवार बनाउन र आवश्यक निर्देशन दिन प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए।

बैठकमा पछिल्लो समय विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको अवस्थाबारे पनि छलफल भएको थियो। विशेषगरी पाँचथरसहितका क्षेत्रमा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनर्स्थापनालाई तीव्र बनाउनुपर्ने विषयमा जोड दिइएको थियो।

यसैगरी नारायणी अस्पतालका चिकित्सकमाथि भएको दुर्व्यवहार र त्यसपछि स्वास्थ्यकर्मीहरूले थालेको आन्दोलनबारे पनि नेता आङ्देम्बेले सभामुखको ध्यानाकर्षण गराएका थिए।

भेटमा संसद्ले जनसरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउने र सरकारलाई जवाफदेही बनाउने भूमिकाबारे समेत छलफल भएको जनाइएको छ।

Read More

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा यी विषयले प्राथमिकता पाउन सक्ने विज्ञहरूको अपेक्षा

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको पहिलो औपचारिक विदेश भ्रमण भारतबाट हुने तयारी भइरहेका बेला परराष्ट्र मामिलाका विज्ञहरूले भ्रमणलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार सरकारले औपचारिक रूपमा एजेन्डा सार्वजनिक नगरे पनि नेपालका राष्ट्रिय हितसँग जोडिएका विषयलाई प्राथमिकतामा राख्नुपर्ने अपेक्षा छ।

विज्ञहरूका अनुसार नेपाल–भारतबीचको बढ्दो व्यापार घाटा न्यूनीकरण भ्रमणको प्रमुख एजेन्डा बन्नुपर्छ। नेपाली कृषि उपज, हस्तकला तथा स्वदेशी उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउने विषयमा नेपालले स्पष्ट रूपमा आफ्नो धारणा राख्नुपर्ने उनीहरूको सुझाव छ।

ऊर्जा क्षेत्रलाई पनि भ्रमणको महत्त्वपूर्ण विषय बनाउनुपर्ने उनीहरूको भनाइ छ। विशेषगरी नेपालबाट भारतमा दीर्घकालीन रूपमा जलविद्युत् निर्यात विस्तार गर्ने, साथै भारतीय प्रसारण लाइनमार्फत बंगलादेशसम्म विद्युत् निर्यातका लागि आवश्यक सहजीकरणबारे छलफल हुनुपर्ने विज्ञहरूले बताएका छन्।

मनसुनका बेला तराई क्षेत्रमा दोहोरिने डुबान र सीमापार नदी व्यवस्थापनको विषयमा पनि नेपालले दीर्घकालीन समाधान खोज्न पहल गर्नुपर्ने उनीहरूको धारणा छ। त्यसका लागि दुवै देशबीच प्रभावकारी समन्वय र संयुक्त संयन्त्रलाई थप सुदृढ बनाउनुपर्ने सुझाव दिइएको छ।

यसैगरी, लामो समयदेखि कार्यान्वयनमा जान नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालगायत संयुक्त जलस्रोत परियोजनालाई अघि बढाउने विषय पनि भ्रमणमा उठ्नुपर्ने विज्ञहरूको अपेक्षा छ।

परराष्ट्रविद्हरूले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक र सांस्कृतिक सम्बन्धमा मात्र सीमित नराखी सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), स्टार्टअप र डिजिटल नवप्रवर्तनका क्षेत्रमा पनि सहकार्य विस्तार गर्नुपर्ने बताएका छन्। भारतको प्रविधि क्षेत्रमा नेपाली युवाका लागि सीप विकास, रोजगारी र लगानीका अवसर सिर्जना गर्ने विषयमा पनि पहल हुनुपर्ने उनीहरूको भनाइ छ।

यद्यपि यी विषयहरू सरकार वा दुवै देशले औपचारिक रूपमा तय गरेका एजेन्डा भने होइनन्। भ्रमणका क्रममा उठ्न सक्ने सम्भावित प्राथमिकताका रूपमा परराष्ट्र मामिलाका विज्ञहरूले यी विषयलाई जोड दिएका हुन्।

Read More

निर्वाचन आयुक्तका प्रस्तावित उम्मेदवारको संसदीय सुनुवाइ आज

काठमाडौ । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। बिहानका लागि तय गरिएको बैठकमा निर्वाचन आयोगका निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा. राजीव सुब्बा (काठमाडौं) को संसदीय सुनुवाइ गर्ने कार्यसूची रहेको छ।

संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र निर्वाचन आयुक्तमा गुरुप्रसाद वाग्ले तथा डा. राजीव सुब्बाको नाम सिफारिस गरेको थियो।

संवैधानिक व्यवस्था अनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था रहेको छ।

यसअघि समितिले प्रस्तावित पदाधिकारीहरूविरुद्ध उजुरी तथा सुझाव आह्वान गरेको थियो। आजको सुनुवाइपछि समितिले आफ्नो निर्णय सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

Read More

देवानगञ्ज गोलीकाण्डपछि गृहमन्त्रीको राजीनामा माग्दै बास्कोटा

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई लिएर नेकपा (एमाले) का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्।

दुई समुदायबीच उत्पन्न तनाव नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि बास्कोटाले घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएका हुन्। उक्त घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन्।

बास्कोटाले गृहमन्त्रीप्रति लक्षित गर्दै संसद्मा भावुक अभिव्यक्ति दिएर मात्र जवाफदेहिता पूरा नहुने टिप्पणी गरेका छन्। उनले सुरक्षा निकायको बल प्रयोगबाट नागरिकको ज्यान गएको अवस्थामा जिम्मेवार निकायले उत्तरदायित्व लिनुपर्ने धारणा राखेका छन्।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “संसद्को हलमा केही व्यक्ति भावुक हुँदै पीडा व्यक्त गर्छन्। हाम्रा दाजुभाइ तथा दिदीबहिनीमाथि गोली चल्दा आफूलाई कति पीडा भयो भनेर बताउँछन्। तर बाहिर आएपछि गोली लागेर घाइते भएका व्यक्तिलाई नै दोषी देखाउने प्रयास गरिन्छ। जवाफदेहिता छ भने राजीनामा दिनुपर्छ।”

देवानगञ्ज घटनापछि सरकारको सुरक्षा व्यवस्थापन र प्रहरीको बल प्रयोगबारे विभिन्न राजनीतिक दल तथा सरोकारवालाले प्रश्न उठाइरहेका छन्। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको मागसमेत उठेको छ।

Read More

एमाले नेता बास्कोटाद्वारा सत्ता गठबन्धनप्रति कटाक्ष, ‘अन्तिम भोज’सँग तुलना

काठमाडौं। नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच भएको सत्ता गठबन्धनसम्बन्धी सहमतिमाथि व्यंग्य गरेका छन्। उनले उक्त सहमतिलाई विजय मल्लको चर्चित नाटक ‘अन्तिम भोज’सँग तुलना गर्दै टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत चुनौती दिन सक्ने राजनीतिक हैसियत बनाएको दाबी गरेका छन्।

उनले सत्ता समीकरण बारम्बार बन्ने र भत्कने प्रक्रिया केही सीमित व्यक्तिहरूको निर्णयमा मात्र निर्भर रहेको टिप्पणी गरेका छन्। उनले गठबन्धन निर्माण र विघटनका विषयमा आम नेता तथा कार्यकर्ताले समेत समयमै जानकारी नपाउने अवस्था रहेको उल्लेख गरेका छन्।

बास्कोटाले आफ्नो अभिव्यक्तिमा सत्ता समीकरणलाई लिएर भइरहेको गतिविधिप्रति व्यंग्य गर्दै लेखेका छन्, “सत्ता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए। खोपी सत्ता किन बन्छन् र भत्कन्छन्? ती सभाका केही सदस्य र खास नेता बाहेक अरुले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो। हाँडी बोकेर स्वर्ग कि नर्क बतासझैँ बतासिएका छन्। विजय मल्लको अन्तिम भोज नै त यो हैन होला? अचम्म लाग्छ।”

उनको यो टिप्पणी पछिल्लो राजनीतिक समीकरण र दलहरूबीच भइरहेका सत्ता सहमतिप्रति लक्षित देखिन्छ।

Read More

महान्यायाधिवक्ता परिवर्तनको तयारीमा सरकार, कडेलको स्थानमा दीपेन्द्र झाको नाम चर्चामा

काठमाडौं । सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता नारायण दत्त कडेललाई हटाएर नयाँ महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी भइरहेको दाबी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकारहरूको भनाइ उद्धृत गर्दै कडेलको कार्यसम्पादन र नियुक्तिसम्बन्धी विवादका कारण परिवर्तनको तयारी भएको जनाइएको छ।

कडेलको नियुक्ति, योग्यता र बेलायतको स्थायी बसोबास अनुमति (पीआर) सम्बन्धी विषयमा सर्वोच्च अदालतमा रिट विचाराधीन छ। अदालतले यस विषयमा नेपाल र बेलायतबीचको आवतजावत तथा बसाइसम्बन्धी विवरण उपलब्ध गराउन अध्यागमन विभागसँग कागजात माग गरेको छ।

रिटमा कडेलको योग्यता र पीआरसम्बन्धी दाबीमाथि प्रश्न उठाइएको छ। निवेदक पक्षले अदालतमा पेस गरेका कागजातमा कडेलले बेलायत यात्राका क्रममा ‘भिजिट पर्पोज’ मा पीआर उल्लेख गरेको दाबी गरिएको छ। अदालतको आदेशपछि सम्बन्धित विवरण मगाउने प्रक्रिया अघि बढाइएको छ।

यसैबीच, सरकारले अधिवक्ता दीपेन्द्र झालाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी गरेको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ। झा यसअघि मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता रहिसकेका छन्। उनको नियुक्ति पनि विगतमा विवादमा परेको थियो, तर उनले पदबाट राजीनामा दिएपछि सर्वोच्च अदालतले त्यससम्बन्धी रिटको औचित्य समाप्त भएको भन्दै खारेज गरेको थियो।

झाको योग्यता १० साउनपछि पूरा हुने दाबी

महान्यायाधिवक्ता बन्न कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्ने संवैधानिक व्यवस्था छ। समाचारमा उल्लेख भएअनुसार झाले १० साउन २०६८ मा अधिवक्ताको प्रमाणपत्र लिएका कारण १५ वर्षे अवधि १० साउनपछि मात्र पूरा हुने देखिन्छ।

झा २०७४ सालमा मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए। त्यस समयमा पनि उनको योग्यतामाथि प्रश्न उठाउँदै अदालतमा रिट परेको थियो। पछि उनले राजीनामा दिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त मुद्दा औचित्यहीन भएको भन्दै टुंग्याएको थियो।

कडेलमाथि कानुनी र कार्यसम्पादनसम्बन्धी प्रश्न

महान्यायाधिवक्ता कडेल २२ चैत २०८२ मा नियुक्त भएका थिए। नियुक्तिपछि उनको योग्यता, बेलायतसँगको सम्बन्ध र सरकारवादी मुद्दामा भूमिकालाई लिएर आलोचना हुँदै आएको छ।

सरकार पक्षबाट भने महान्यायाधिवक्ताको परिवर्तनबारे औपचारिक निर्णय सार्वजनिक भएको छैन। यदि परिवर्तन भएमा नयाँ नियुक्ति र त्यसको कानुनी प्रक्रियाबारे औपचारिक जानकारी आउन बाँकी छ।

Read More