२०८३ भाद्र २८

गृहमन्त्रीको पत्रकार लक्षित अभिव्यक्तिप्रति नागरिक अगुवाको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको पत्रकार लक्षित अभिव्यक्तिलाई लिएर नागरिक अगुवा तथा अधिकारकर्मीहरूले आपत्ति जनाएका छन्। उनीहरूले अभिव्यक्ति फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्।

भदौ २३ गते गृहमन्त्री गुरुङबाट व्यक्त धारणा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब सिर्जना गर्ने खालको भएको उनीहरूको निष्कर्ष छ। राज्यको शान्ति सुरक्षा र विपद् व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने व्यक्तिबाट आक्रामक शैलीमा प्रस्तुत हुनु पदको मर्यादा र संवेदनशीलतासँग मेल नखाने उनीहरूको भनाइ छ।

गृहमन्त्रीको नियुक्तिलाई लिएर उठेका प्रश्न र उनीमाथि लागेका आरोपको अनुसन्धान प्रक्रियामाथि समेत प्रश्न उठिरहेका बेला पत्रकारमाथि लक्षित अभिव्यक्ति आउनु थप गम्भीर विषय भएको अधिकारकर्मीहरूले बताएका छन्। उनीहरूका अनुसार राज्यका निकायलाई जवाफदेही बनाउने क्रममा पत्रकारिताले निर्वाह गर्ने भूमिकालाई धम्की वा दबाबबाट कमजोर पार्न खोज्नु उचित हुँदैन।

नेपालको राजनीतिक परिवर्तनका विभिन्न चरणमा सञ्चार क्षेत्रले कठिन परिस्थितिका बीच काम गर्दै आएको पनि उनीहरूले स्मरण गराएका छन्। पञ्चायतकालदेखि द्वन्द्व, दरबार हत्याकाण्ड तथा संविधान निर्माणको समयसम्म पत्रकारहरूले चुनौतीका बाबजुद सूचना प्रवाह र नागरिकलाई सुसूचित गर्ने जिम्मेवारी पूरा गरेको उनीहरूको भनाइ छ।

पछिल्ला वर्षहरूमा सुन तस्करी, नक्कली शरणार्थी प्रकरण र सहकारीसम्बन्धी मुद्दालगायत विषयमा तथ्य बाहिर ल्याउन सञ्चारकर्मीले खेलेको भूमिकालाई समेत उनीहरूले उल्लेख गरेका छन्। पत्रकारलाई धम्क्याउने प्रवृत्तिले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासमाथि असर पार्न सक्ने भन्दै उनीहरूले त्यसप्रति सजग रहन आग्रह गरेका छन्।

यद्यपि, नागरिक अगुवाहरूले पत्रकारहरूलाई पनि आचारसंहिताको सीमाभित्र रहेर तथ्यमा आधारित, जिम्मेवार र सन्तुलित रूपमा समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन्।

वक्तव्यमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त सुशील प्याकुरेल, मानव अधिकारकर्मी शोभाकर बुढाथोकी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, महिला अधिकारकर्मी श्यामकुमारी साह, मानव अधिकारकर्मी सोम निरौला, सुबोध प्याकुरेल तथा युवा अभियन्ता अभिषेक अधिकारीले हस्ताक्षर गरेका छन्।

Read More

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहीबार बस्ने भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम तथा संसद्मा पार्टीको आगामी भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको हो।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुनेछ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्दै संसद्मा पार्टीले अपनाउने रणनीति र आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ। त्यसैगरी संसद्मा कांग्रेसका तर्फबाट प्रस्तुत गरिने विषय तथा एजेन्डामाथि पनि छलफल हुनेछ।

सरकारका पछिल्ला कामकारबाहीबारे समीक्षा गर्ने विषयसमेत बैठकको कार्यसूचीमा रहेको सचिवालयले जनाएको छ। बैठकबाट समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा र आगामी संसदीय गतिविधिबारे आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।

Read More

भदौ २४ को विध्वंसले देश २५ वर्षभन्दा बढी पछाडि धकेलियो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते भएको विध्वंसात्मक घटनाका कारण मुलुक कम्तीमा २५ वर्षभन्दा बढी पछाडि धकेलिएको बताएका छन्।

बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको निरीक्षण गर्न पुगेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै उक्त दिनलाई देशका लागि कालो दिनका रूपमा टिप्पणी गरे। उनका अनुसार घटनाबाट भएको क्षतिको असर तत्काल मात्र नभई आगामी वर्षहरूमा समेत देखिनेछ।

ओलीले पछिल्लो घटनाप्रति अहिले खुसी व्यक्त गरिरहेकाहरूले पनि त्यसको परिणाम आगामी दिनमा भोग्नुपर्ने धारणा राखे। उनले मुलुकको विकास, अर्थतन्त्र र समग्र प्रगतिमा यसले दीर्घकालीन असर पार्ने बताएका हुन्।

यसअघि गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलका नेताहरूलाई आफ्नो कार्यशैली सुधार्न चेतावनी दिएका थिए। सोही अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै ओलीले नयाँ पुस्ताका राजनीतिक नेतृत्वको शैलीप्रति व्यङ्ग्य गरे।

उनले विगतमा आफूहरूलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा जानुपर्ने अवस्था आएको प्रसंग स्मरण गर्दै अहिले त्यही विषयलाई लिएर दिइएका अभिव्यक्तिप्रति असन्तुष्टि जनाए। पछिल्लो समय राजनीतिक क्षेत्रमा नयाँ अनुहार आउने र जाने क्रम धेरै देखिएको भन्दै ओलीले त्यसलाई समेत व्यङ्ग्यात्मक रूपमा टिप्पणी गरेका छन्।

Read More

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिका बैठक बस्ने भएका छन्। संसद् सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकका लागि विभिन्न विषयमा छलफल तय गरिएको छ।

उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे सुरु हुनेछ। बैठकमा उपसमिति गठनसहित समितिको कामकारबाहीसँग सम्बन्धित विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ बजे बस्नेछ। बैठकमा फैसला कार्यान्वयनको पछिल्लो अवस्था, देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे फैसला कार्यान्वयन निर्देशनालयसँग छलफल गरिनेछ। यसका लागि समितिले कानुनमन्त्री, मन्त्रालयका सचिव तथा निर्देशनालयका महानिर्देशकलाई बैठकमा आमन्त्रण गरेको छ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक भने बिहान ९ः३० बजे बस्नेछ। बैठकमा जलवायुजन्य विपद्का कारण कृषि क्षेत्र तथा प्राकृतिक स्रोतमा परेको प्रभावबारे छलफल हुनेछ। साथै, जलवायु परिवर्तनसँग अनुकूलन र जलवायु न्यायका लागि नेपालले अघि बढाउनुपर्ने पहलका विषयमा पनि छलफल गरिनेछ। बैठकमा सहभागी हुन कृषिमन्त्री, मन्त्रालयका सचिव तथा सम्बन्धित वातावरण विज्ञहरूलाई समितिले बोलाएको छ।

Read More

प्रतिनिधिसभाको बैठक सुरु, यस्ता छन् आजका सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा सभामुख डोलप्रसाद अर्यालले पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

बैठकमा ‘एसियाली विधायिकी संस्थाहरुको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ पनि सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

Read More

‘भदौ २४ का दोषीलाई उन्मुक्ति स्वीकार्य छैन’ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको हिंसा, आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्। उनले दोषीमाथि कानुनी कारबाही नभएसम्म आफ्नो आवाज नरोकिने बताएका छन्।

घटनाको एक वर्ष पुगेको दिन सामाजिक सञ्जालमा आफ्नो घरमा लुटपाट र आगजनी भइरहेको भिडियो सार्वजनिक गर्दै बस्नेतले त्यस दिन राज्यका संरचनादेखि निजी सम्पत्तिसम्म ठूलो क्षति भएको स्मरण गरेका छन्।

उनका अनुसार घटनाबाट पीडित सयौँ नागरिकले अहिलेसम्म न्याय र क्षतिपूर्ति पाउन सकेका छैनन्। दोषीमाथि कारबाही नहुँदा आफू थप आक्रोशित भएको उनले बताएका छन्।

भदौ २४ को घटनापछि बनेको राजनीतिक सत्ताले देशलाई थप अन्योलतर्फ धकेलेको आरोप लगाउँदै बस्नेतले घटनामा संलग्न व्यक्ति वा समूह जुनसुकै राजनीतिक आवरणमा भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।

उनले भदौ २४ लाई नेपालको इतिहासको ‘कालो दिन’ भन्दै न्याय र जवाफदेहिता कायम हुनुपर्नेमा जोड दिएका छन्।

Read More

भदौ २४ को घटना योजनाबद्ध थियो : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको हिंसात्मक घटनालाई योजनाबद्ध रूपमा लोकतन्त्रमाथि गरिएको आक्रमणको संज्ञा दिएका छन्।

भदौ २४ को विध्वंस भएको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै ओलीले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद्, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई नेपालको इतिहासको गम्भीर घटना बताएका छन्।

उनका अनुसार भदौ २३ को प्रदर्शनमा युवाको मृत्यु भएपछि उत्पन्न आक्रोश मात्र त्यसपछिको हिंसाको कारण थिएन। घटनाको उद्देश्य संविधान, लोकतन्त्र र राष्ट्रियताको वर्तमान दिशालाई उल्ट्याएर मुलुकलाई अराजकता र राजनीतिक अस्थिरतातर्फ धकेल्नु रहेको उनको दाबी छ।

शान्तिपूर्ण भनिएको प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार थियो भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने ओलीले बताएका छन्। उनले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनाको जिम्मेवार देखाउँदै गरिएको कारबाहीप्रति समेत आपत्ति जनाएका छन्।

घटनासम्बन्धी सुरक्षा निकायको प्रतिवेदन सार्वजनिक नगरिएको र हिंसामा संलग्नमाथिको अनुसन्धान कमजोर पारिएको ओलीको आरोप छ। राज्यका महत्वपूर्ण संरचनामाथि आक्रमण हुँदा सुरक्षा संयन्त्र किन प्रभावकारी बन्न सकेन भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने उनको भनाइ छ।

ओलीले प्रदर्शनका नाममा हिंसा र अराजकतालाई स्वीकार गर्ने प्रवृत्तिले नेपालको लोकतान्त्रिक अभ्यासमा गलत नजिर बस्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

null
null
null

Read More

रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार लामिछानेले सदनमा बोल्नका लागि सभामुखसँग समय मागेका छन्। सम्बोधनका क्रममा उनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी, जेन–जी आन्दोलनलगायत समसामयिक विषय उठाउने तयारी गरेका छन्।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ।

Read More

सुशासन र जवाफदेहिता सुनिश्चित गर्न सरकारलाई सुशीला कार्कीको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन, जवाफदेहिता, पारदर्शिता र विधिको शासन सुनिश्चित गर्न सरकारलाई आग्रह गरेकी छन्। परिवर्तनको माग गर्दै युवाहरू फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सरकारले नागरिकका अपेक्षा र आवाजलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा उनले जोड दिएकी छन्।

जेन–जी आन्दोलनको पहिलो वार्षिकोत्सवका अवसरमा सन्देश जारी गर्दै कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

सुशासन, जवाफदेहिता र उज्ज्वल भविष्यको माग गर्दै आन्दोलनमा उत्रिएका युवाहरूका माग दबाउने प्रयास हुँदा निर्दोष युवाहरूले ज्यान गुमाउनुपरेको उनले बताएकी छन्। आन्दोलनका क्रममा धेरै युवा गम्भीर घाइते भएको र उनीहरूले जीवनभर अपांगताको सामना गर्नुपरेको पनि कार्कीले उल्लेख गरेकी छन्।

कार्कीले जेन–जी आन्दोलनलाई नेपालको इतिहासमा गहिरो घाउका रूपमा चित्रण गर्दै आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिका साथै राष्ट्रिय सम्पदामा समेत ठूलो क्षति पुगेको बताएकी छन्।

यस्ता घटना पुनः दोहोरिन नदिन सबै सरोकारवालाले इमानदारी, जिम्मेवारी र सतर्कतापूर्वक आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा उनले जोड दिएकी छन्।

जेन–जी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको उल्लेख गर्दै कार्कीले संसद्मा दुई तिहाइ बहुमत हुँदैमा मात्र राजनीतिक स्थायित्व सुनिश्चित नहुने बताएकी छन्।

उनले भनेकी छन्, “सुशासनको अभावमा संसद्मा दुई तिहाइ बहुमत भए पनि स्थायित्व सुनिश्चित हुन सक्दैन। राजनीतिक स्थायित्व संसद्को अंकगणितले होइन, सत्तामा रहेकाहरूको चरित्र र कार्यशैलीले निर्धारण गर्छ।”

सरकारले सुशासन सुदृढ गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विधिको शासन कायम गर्न तथा नागरिकको सम्मान र अधिकार सुनिश्चित गर्न प्रभावकारी कदम चाल्नुपर्ने कार्कीले बताएकी छन्।

जेन–जी आन्दोलन र त्यसबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै मुलुकले भोटेकोशी बाढीका रूपमा अर्को ठूलो संकट सामना गरिरहेको पनि कार्कीले उल्लेख गरेकी छन्।

विपद्को सामना गर्न राष्ट्रिय एकताको आह्वान गर्दै उनले भनेकी छन्, “एकअर्काको साथ दिऔँ, एकअर्काको पीडा कम गरौँ र एकताबद्ध भएर विपत्तिको सामना गरौँ।”

Read More

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक मंगलबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टीको आन्तरिक निर्वाचनसँग सम्बन्धित आगामी रणनीति, आवश्यक तयारी तथा निर्वाचन प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा छलफल हुनेछ। पछिल्लो समय पार्टीका विभिन्न तहका अधिवेशन तथा निर्वाचनसम्बन्धी कार्यतालिकामा देखिएको परिवर्तनका विषयमा समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशन असोजको पहिलो साता गर्ने निर्णय गरेको थियो। वडा अधिवेशनको नयाँ कार्यतालिका र त्यसअनुसार गर्नुपर्ने तयारीबारे पनि निर्वाचन समितिको बैठकमा छलफल हुने बताइएको छ।

Read More