२०८३ भाद्र २८

जेन्जी सहिद दिवस

काठमाडौं । आज देशभर ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ। गत भदौ २३ गते भएको ‘जेन्जी’ आन्दोलनले नेपालको राजनीतिक घटनाक्रममा ठूलो परिवर्तन ल्याएको थियो। आन्दोलन चर्किएपछि तत्कालीन सरकार विघटन भएको थियो भने त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गरिएको थियो।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको योगदान, साहस र बलिदानको स्मरण तथा सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। आन्दोलनमा जीवन गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न कार्यक्रम आयोजना गरिने भएका छन्।

सरकारले यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकमार्फत आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सरकारले ‘जेन्जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्मान र स्मृतिलाई संस्थागत गर्ने उद्देश्यले सहिद दिवसका रूपमा यो दिन मनाउने निर्णय गरेको हो।

Read More

संसद् बैठक चलिरहेका बेला सांसद भरत खड्का ढले

काठमाडौँ। संसद् बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद भरत खड्का अचानक ढलेका छन्।

बिहीबार जारी प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले बोलिरहेका बेला खड्का आफू बसिरहेको कुर्सीमै ढलेका हुन्। खड्का ढलेपछि सभामुख डोलप्रसाद अर्यालले शर्मालाई केही समय बोल्न रोकेका थिए।

संसद् बैठकको प्रत्यक्ष प्रसारणमा कांग्रेसका सांसदहरू हतारिँदै खड्कातर्फ आएको देखिएको थियो।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार ब्लड प्रेसरका कारण खड्का बसिरहेकै अवस्थामा ढलेका हुन्।

लेखा समितिका सभापतिसमेत रहेका खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ।

Read More

बाढीपहिरो पीडितका लागि छुट्टै संयन्त्र नबनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपहिरो पीडितको उद्धार तथा राहत वितरणका लागि छुट्टै संयन्त्र नबनाउने निर्णय गरेको छ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समसामयिक परिस्थिति, विपद् व्यवस्थापन तथा राहत वितरणका विषयमा छलफल गर्दै सरकारको कामलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने निष्कर्ष निकालेको हो।

सचिवालय सदस्य लिमा अधिकारीका अनुसार बैठकमा करिब एकदेखि डेढ घण्टासम्म विपद् व्यवस्थापन र राहत वितरणकै विषयमा छलफल भएको थियो।

उद्धार तथा तत्कालीन राहत वितरणको काम सकिएपछि पार्टीका जनप्रतिनिधि तथा केन्द्रीय सदस्यहरू सबै गुमाएका पीडितको घरदैलोमै पुग्ने योजना रहेको उनले जानकारी दिइन्।

सर्वदलीय बैठकमा भएको सहमतिअनुसार प्रदेश तथा स्थानीय सरकारको समन्वयमा राहत वितरण गरिने र त्यसमा रास्वपाले सरकारलाई नै सहयोग गर्ने अधिकारीले स्पष्ट पारिन्।

Read More

सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकता दिन कुलमान घिसिङको सुझाव

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवाको स्याफ्रुबेँसीसम्म सडक सम्पर्क पुनःस्थापना तथा बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन्।

प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहलाई उद्धार, राहत तथा पुनर्स्थापनासम्बन्धी लिखित र मौखिक सुझाव प्रस्तुत गर्दै घिसिङले हेलिकप्टरमा मात्र निर्भर नभई स्याफ्रुबेँसीसम्म सडक सम्पर्क तत्काल सञ्चालनमा ल्याउन र बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।

बाढीका कारण सडक सम्पर्क विच्छेद हुँदा आवश्यक उपकरण तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन ढिलाइ भएको र हेलिकप्टरमार्फत सामग्री ढुवानी गर्दा थप कठिनाइ भएको उनले बताए।

घिसिङका अनुसार प्रभावित क्षेत्रका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकको स्वास्थ्य र सामाजिक सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको छ। बालबालिकालाई काठमाडौं ल्याएर आवश्यक व्यवस्थापन गर्ने विषयमा समेत छलफल भएको उनले जानकारी दिए।

त्यस्तै, नदी किनारमा मात्र नभई जोखिम मूल्याङ्कन गरी सुरक्षित स्थानमा सडक तथा अन्य पूर्वाधार निर्माण गर्नुपर्नेमा उनले जोड दिए। क्षतिग्रस्त तथा निर्माणाधीन आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउन र निजी क्षेत्रका समस्या समाधान गर्न सरकारले विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने सुझावसमेत दिइएको उनले बताए।

मुलुक संकटमा परेको अवस्थामा राजनीतिक मतभेदभन्दा माथि उठेर सरकारलाई पूर्ण रूपमा सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता पनि जनाइएको घिसिङले बताए।

भेटका क्रममा प्रधानमन्त्री शाहले नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताएका थिए। प्रधानमन्त्रीसँग अन्य राजनीतिक लगायतका विषयमा पनि सकारात्मक छलफल भएको घिसिङले जानकारी दिए।

Read More

रास्वपाको सचिवालय बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय घण्टीघर, बनस्थलीमा बस्नेछ ।

सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले जानकारी दिए ।

Read More

भोटेकोशी विपत्तिमा सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपत्तिको अवस्थामा सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा दलीय आधारमा मन्तव्य राख्दै प्रचण्डले संकटका बेला सरकार जनताको साथमा उभिनुपर्ने बताए। उनले भोटेकोशी बाढीबाट उत्पन्न विपत्तिको सामना गर्न तीनै तहका सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा आमनागरिकलाई विश्वासमा लिएर परिचालन गर्नुपर्नेमा जोड दिए।

“भोटेकोशी महाविपत्तिको सामना गर्न सबै तहको सरकार, जनप्रतिनिधि, नागरिक समाज र आमनागरिकलाई विश्वासमा लिएर परिचालन गर्नुपर्छ,” उनले भने, “सुरक्षाकर्मी परिचालनले मात्रै पुग्दैन, सँगसँगै जनपरिचालन पनि गर्नुपर्छ।”

प्रचण्डले संघ, प्रदेश र स्थानीय सरकारसँगै जनप्रतिनिधिलाई समेत विपद्का बेला थप सक्रिय बनाउनुपर्ने बताए।

२०७२ सालको भूकम्पलगायत राष्ट्रिय संकटका बेला आफूहरूले विपक्षीका रूपमा सरकारलाई साथ दिएको स्मरण गर्दै उनले बाढीपछि खोज, उद्धार र राहत वितरणमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए।

“बाढीपछिको उद्धारमा कमी–कमजोरी देखिए त्यसलाई सच्याएर जानुपर्छ। राहत, तत्काल पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा सरकार गम्भीर बन्नुपर्छ,” प्रचण्डले भने।

राष्ट्रिय एकता, समन्वय र सहकार्यको नेतृत्व गर्ने अवसर सरकारसँग रहेको भन्दै उनले यसतर्फ सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी गम्भीर हुनुपर्ने बताए।

प्रचण्डले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढ्दै गएको उल्लेख गर्दै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको विषयलाई थप सशक्त रूपमा उठाउनुपर्नेमा समेत जोड दिए।

Read More

रवि लामिछाने र चिनियाँ राजदूत माओ मिङबीच भेट, विपद् व्यवस्थापनमा सहकार्यबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच भेटवार्ता भएको छ।

लामिछानेको बूढानीलकण्ठस्थित निवासमा बुधबार दिउँसो भएको भेटमा राजदूत माओले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

भेटमा उनले खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्मका काममा चीन नेपालसँगै रहेको बताए। नेपाललाई आवश्यक जुनसुकै सहयोग उपलब्ध गराउन चीन तयार रहेको जानकारी पनि उनले गराएको लामिछानेको सचिवालयले जनाएको छ।

राजदूत माओले विपद् लगत्तैदेखि चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक जनशक्ति तथा सहयोग नेपाल पठाउँदै आएको र आवश्यकता रहेसम्म सहयोग जारी राख्ने बताएका थिए।

भेटमा लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा थप सहकार्यका लागि आग्रह गरे।

भेटमा नेपालमा विपद् जोखिम न्यूनीकरण, उद्धार, राहत तथा पुनर्निर्माणका क्षेत्रमा नेपाल–चीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।

Read More

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठकमा समसामयिक तथा महत्वपूर्ण विषयमा छलफल हुने कार्यसूची रहेको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान साढे ९ बजे बस्नेछ। बैठकमा रसुवामा आएको बाढी तथा पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा छलफल गरिने कार्यसूची रहेको छ। बाढीपहिरोका कारण पर्यटन पूर्वाधार, पर्यटकीय गन्तव्य तथा पर्यटन व्यवसायमा परेको असरका विषयमा समितिले छलफल गर्नेछ।

विधायन व्यवस्थापन समितिको बैठक मध्याह्न सवा १२ बजे बस्नेछ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ। समितिले विधेयकका विभिन्न प्रावधानमाथि छलफल गरी आवश्यक सुझाव तथा संशोधनका विषयमा समेत विचार गर्नेछ।

Read More

प्रतिनिधिसभामा आज भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने

काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसबाट भएको जनधनको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची रहेको छ।

भोटेकोशी बाढीबारे विशेष प्रस्ताव

बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नेछन्। गत भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत क्षेत्र प्रभावित भएका थिए। बाढीका कारण धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रसमेत प्रभावित भएका छन्।

सङ्घीय संसद् सचिवालयले उपलब्ध गराएको विशेष प्रस्तावमा बाढीका कारण ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै धेरैको मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति प्रतिनिधिसभाले गहिरो दुःख प्रकट गर्ने उल्लेख गरिएको छ।

विशेष प्रस्तावमा बाढीका कारण घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, बाढीमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने उल्लेख छ।

प्रतिनिधिसभाको बैठकमा बाढीबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था तथा राहत र उद्धारका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

Read More

विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने विकास चाहिन्छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालले पछिल्लो १२/१३ वर्षयता लगातार ठूला विपद्को सामना गरिरहेको भन्दै अब विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत सोचबाट माथि उठ्नुपर्ने बताएकी छन्।

उनले विपद् आएपछि भत्किएका संरचना पुनः निर्माण गर्ने मात्र नभई भविष्यमा आउन सक्ने विपद् सहन सक्ने गरी विकासको ढाँचा नै परिवर्तन गर्नुपर्नेमा जोड दिएकी हुन्।

मन्त्री गौतमले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा पछिल्ला वर्षमा भएका ठूला विपद्को स्मरण गर्दै बाढी, पहिरो र भूकम्पले जनधनसँगै महत्वपूर्ण पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याइरहेको उल्लेख गरेकी छन्।

जलवायु संकटको असमान मूल्य नेपालले चुकाइरहेको दाबी

उनका अनुसार सिन्धुपाल्चोकको जुरे पहिरोदेखि २०७२ सालको विनाशकारी भूकम्प, तातोपानी–भोटेकोशी क्षेत्रका बाढीपहिरो, मेलम्ची–इन्द्रावतीको बाढी, सुनकोशी र रोशी खोलामा आएका बाढी तथा सोलुखुम्बुको थामेमा आएको भीषण बाढीसम्मका विपद्ले ठूलो क्षति पुर्‍याएका छन्।

त्यस्तै, जाजरकोट भूकम्पले कर्णालीमा ठूलो जनधनको क्षति पुर्‍याएको र वर्षा तथा पहिरोका कारण कर्णाली राजमार्गका विभिन्न खण्ड पटक–पटक अवरुद्ध हुँदा कालिकोट, जुम्ला, मुगु, बाजुरा र हुम्लासम्मको सडक सम्पर्क प्रभावित हुँदै आएको उनले बताएकी छन्।

हालै रसुवामा आएको विनाशकारी बाढीले समेत बस्ती, सडक, पुल र सम्पर्क सञ्जालमा ठूलो क्षति पुर्‍याएको भन्दै गौतमले वर्षौँ लगाएर निर्माण गरिएका पूर्वाधार केही घण्टामै ध्वस्त हुने अवस्था देखिएको उल्लेख गरेकी छन्।

‘एउटा परिवारले घर मात्रै गुमाउँदैन, जीवनभरको कमाइ गुमाउँछ। एउटा समुदायले सडक मात्रै गुमाउँदैन, शिक्षा, स्वास्थ्य, बजार र बाँकी देशसँगको पहुँचसमेत गुमाउँछ।’

गौतमले विश्वको कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको असर भने नेपालले ठूलो मूल्य चुकाएर भोगिरहेको बताएकी छन्।

नागरिक, बस्ती, पूर्वाधार र अर्थतन्त्रमा क्षति पुर्‍याउँदै जलवायु संकटको असमान मूल्य नेपालजस्ता न्यून उत्सर्जन गर्ने मुलुकहरूले बढी चुकाइरहेको उनको भनाइ छ।

अब भत्किएको फेरि कसरी बनाउने?’ भन्ने प्रश्नसँगै अब बनाउँदा यस्ता विपद् पनि सहन सक्ने गरी कसरी बनाउने?’ भन्ने प्रश्नलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताएकी छन्।

सुरक्षित भू–उपयोग र योजनाबद्ध बस्तीमा जोड

गौतमले जोखिमयुक्त नदी किनार तथा भिरालो भूभागमा अनियोजित रूपमा बस्ती र पूर्वाधार निर्माण गर्ने प्रवृत्तिबाट माथि उठ्नुपर्नेमा जोड दिएकी छन्।

उनले सुरक्षित भू–उपयोग, एकीकृत तथा योजनाबद्ध बस्ती, सुरक्षित विद्यालय तथा अस्पताल क्षेत्र, जलवायु अनुकूल पूर्वाधार र आवश्यक स्थानमा योजनाबद्ध पुनर्वासको नीति अघि बढाउनुपर्ने बताएकी छन्।

‘हामी नदी रोक्न सक्दैनौँ। हिमाल र हिमनदीलाई नियन्त्रण गर्न सक्दैनौँ। विश्वव्यापी जलवायु परिवर्तन एक्लैले रोक्न पनि सक्दैनौँ। तर त्यसको सामना गर्न सक्ने नेपाल भने बनाउन भरपुर प्रयत्न गर्न सक्छौँ।’

विकासका हरेक नीतिमा विपद् उत्थानशीलता

उनका अनुसार विपद् तथा जलवायु उत्थानशीलतालाई छुट्टै विषयका रूपमा मात्र सीमित राख्नु हुँदैन। हरेक विकाससम्बन्धी कानून, नीति, योजना तथा पूर्वाधार निर्माणको आधारभूत सिद्धान्त नै विपद् उत्थानशीलतालाई बनाउन आवश्यक रहेको उनको भनाइ छ।

गौतमले कानून सुधार समितिमा समेत यही विषय उठाएको उल्लेख गर्दै अब विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत चक्रबाट बाहिर निस्कनुपर्ने बताएकी छन्।

उनले विपद् सहन सक्ने गरी नेपालको विकासको ढाँचा नै पुनर्लेखन गर्ने समय आएको उल्लेख गरेकी छन्।

Read More