२०८३ भाद्र ३१

मिडिया हाउस अगाडि त्रास फैलाउने गतिविधिमा संलग्नलाई कडा कारबाही गर्न सांसद मल्लको माग

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले मिडिया हाउस अगाडि सवारी साधन तेर्स्याएर त्रास सिर्जना गर्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मल्लले सोमबार बिहान मिडिया हाउस अगाडि गाडी राखेर आतंकित बनाउने प्रयास गरिएको आरोप लगाए। उनले प्रमुख प्रतिपक्षी दलका नेताको घर खोज्ने नाममा होहल्ला र अवाञ्छित गतिविधि गरिएको बताए।

उनका अनुसार घटनाबारे दिनभर विभिन्न चर्चा भए पनि अन्ततः राज्य संरक्षित केही व्यक्तिहरूको संलग्नता देखिएको दाबी गरे। राज्य संयन्त्रकै संरक्षणमा त्रास फैलाउने गतिविधि हुनु र सामान्य जरिवाना गरेर जिम्मेवारीबाट उम्कन दिने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो।

“५०० रुपैयाँदेखि लाखौं रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था हुँदाहुँदै अहिले ५०० रुपैयाँको चिट काटेर छाडिएको भन्ने सुनिएको छ,” मल्लले भने, “यस्तो कार्य कदापि स्वीकार्य हुँदैन।”

सांसद मल्लले घटनामा प्रयोग भएका सवारी साधन जफत गरी कानुनअनुसार ठूलो जरिवाना गर्न तथा यसका योजनाकार र संलग्न सबैमाथि कडा कारबाही गर्न सरकारसँग आग्रह गरे।

Read More

जेनजीले रोजेको सरकारकै लाठी खानुपरेको सांसद राईको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निश्कल राईले जेनजी युवाहरूले आफैँ रोजेको सरकारबाटै अहिले लाठी खानुपर्ने अवस्था आएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेनजी पुस्ता सडकमा उत्रिएको, प्रहरीको गोली चल्दा ७७ जनाको ज्यान गएको र त्यही आन्दोलनले एउटा सरकार ढलेको दाबी गरे । उनले उक्त आन्दोलनपछि बालेन शाहलाई १८२ सिटको बहुमत प्राप्त भएको उल्लेख गरे ।

सांसद राईले जेनजी युवाहरूले अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै सडकमा उत्रिएको बताउँदै अहिले त्यही पुस्ता आफैँले रोजेको सरकारको लाठी खान बाध्य भएको बताए । उनले प्रश्न गर्ने अधिकार माग्दै आन्दोलनमा उत्रिएका युवाहरूलाई अहिले प्रश्न गर्नबाट समेत वञ्चित गरिएको आरोप लगाए ।

‘यो के हो सभामुख महोदय ?’ भन्दै सांसद राईले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।

उनले देशमा पुरानै प्रवृत्ति दोहोरिँदै गएको दाबी गर्दै सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतंक बढेको बताए । प्रश्न गर्ने अधिकारमाथि रोक लगाउने प्रयास भइरहेको भन्दै उनले लोकतन्त्रलाई संस्थागत हुन नदिने गतिविधि भइरहेको आरोप लगाए ।

सांसद राईले सरकार निरंकुश बन्दै गएको आरोपसमेत लगाए । सत्ता उन्मादका कारण विवेकशील अभियान, जेनजी आन्दोलन, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका लागि संघर्ष गरेर आएका पक्षधर सांसदहरूको आवाजसमेत दबाइएको उनको भनाइ थियो ।

Read More

मधेस प्रदेशसभाको बैठक आज बस्दै, बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

काठमाडौं । मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित समस्या समाधान गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाका अनुसार कार्यदलको प्रतिवेदन प्रस्तुत भएपछि त्यसमा छलफल हुनेछ। छलफल सम्पन्न भएपछि आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ गर्ने तयारी रहेको छ।

बजेटसम्बन्धी विवाद समाधानका लागि असार २८ गते बसेको प्रदेशसभा बैठकले प्रदेशसभा सदस्य उपेन्द्र महतो, हरिनारायण महतो, जङ्गीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, विमला अन्सारी तरुण र सरिताकुमारी ठाकुर सदस्य रहेको कार्यदल गठन गरेको थियो।

मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षका लागि कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए।

बजेटमाथिको छलफल अघि बढाउन र देखिएका विवाद समाधान गर्न कार्यदलको प्रतिवेदनलाई महत्वपूर्ण मानिएको छ।

Read More

प्रतिनिधिसभा बैठक आज बस्दै, तीन वार्षिक प्रतिवेदन र दुई अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन प्रस्ताव प्रस्तुत हुने

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्दैछ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले न्याय परिषदको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन, न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन तथा लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन (२०८१ श्रावणदेखि २०८२ असारसम्म) प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि छलफल गरी अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

मन्त्री यादवले अन्तर्राष्ट्रिय श्रम संगठनकै श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) माथि सामान्य छलफल गरी अनुमोदन गरियोस् भन्ने अर्को प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ

Read More

बालेन–रवि भेट: सत्ता, पार्टी संरचना र विधानबारे चार घण्टा छलफल

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार लामो भेटवार्ता भएको छ। प्रधानमन्त्री शाह आफैं लामिछानेलाई भेट्न पुगेका थिए। भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकार सञ्चालन, पार्टीको विधान, पदाधिकारी चयन र केन्द्रीय सदस्य मनोनयनलगायत विषयमा विस्तृत छलफल भएको बताइएको छ।

रास्वपाको पहिलो महाधिवेशन सम्पन्न भएको तीन साताभन्दा बढी समय बितिसक्दा पनि पार्टीले पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन प्रक्रिया पूरा गर्न सकेको छैन। पार्टीको नयाँ संरचना, नेतृत्व व्यवस्थापन र विधान कार्यान्वयनका विषयमा आन्तरिक छलफल जारी रहेको नेताहरूले बताएका छन्।

रास्वपाको विधानमा सभापतिलाई महत्वपूर्ण अधिकार दिइएको छ। साथै, वरिष्ठ नेता पदको व्यवस्था र पार्टी संरचनासम्बन्धी प्रावधानबारे पनि छलफल भइरहेको छ। पार्टीभित्र केही नेताहरूले शक्ति सन्तुलन र नेतृत्वको भूमिकाबारे चासो व्यक्त गर्दै आएका छन्।

यसैबीच, सरकारमाथि पछिल्ला जनसरोकारका विषयलाई लिएर आलोचना बढिरहेको छ। गणेश नेपालीको आत्मदाह घटना र सुकुम्बासी समस्यालगायत विषयमा सरकारको भूमिकामाथि प्रश्न उठिरहेको छ। ती विषयमा प्रधानमन्त्री शाह र सत्तारूढ रास्वपाले औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।

प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच भएको भेटलाई सरकार र पार्टीबीचको समन्वय, आगामी राजनीतिक रणनीति तथा संगठन व्यवस्थापनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

Read More

आज संघीय संसदका चार समितिको बैठक, यस्ता छन् कार्यसूची

काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका तीन र राष्ट्रियसभाको एक गरी चारवटा संसदीय समितिको बैठक आज बस्ने भएको छ। बैठकहरूमा विकास आयोजना, विधेयक, मानव अधिकार तथा मधेश प्रदेशको स्थलगत अनुगमन प्रतिवेदनलगायत विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

अर्थ समिति

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बिहान ८:३० बजे बस्नेछ। बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका प्रमुख कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको प्रगति तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र अन्य विकास आयोजनाको प्रगतिबारे छलफल गरिनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

यस समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।

छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, सम्बन्धित मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपालकुमार चौधरी सहभागी हुनेछन्।

कानुन, न्याय तथा मानव अधिकार समिति

यो समितिको बैठक पनि दिउँसो १ बजे बस्नेछ। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थाबारे निरीक्षण तथा अनुगमन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति

राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११:३० बजे बस्नेछ। बैठकमा मधेश प्रदेशमा गरिएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदा माथि छलफल गरिने कार्यक्रम तय गरिएको छ।

Read More

गणेश नेपालीको आत्मदाहले नागरिक निराशा उजागर गर्‍यो : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुगुका गणेश नेपालीको आत्मदाहको घटनाले समाजमा बढ्दो नागरिक निराशाको प्रतिनिधित्व गरेको बताएका छन्। उनले वर्तमान सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्नसमेत उठाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले पुराना दललाई विस्थापित गरेर ‘नयाँ’ भन्ने दाबीका साथ आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारबाट पनि नागरिकमा आशा जगाउन नसकिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

‘हामी पुराना गएर नयाँ आएपछि पनि समाजमा होप क्रिएट (आशा जगाउने काम) किन हुन सकिरहेको छैन ? यसको गहिराइमा गहन दृष्टि जरुरी छ,’ उनले लेखेका छन्। समाजमा आशा हराउँदै गए व्यवस्था र राज्यप्रतिको विश्वाससमेत कमजोर हुने उनको भनाइ छ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै शर्माले विगतका कमजोरीबाट पाठ सिक्न आग्रह गरेका छन्। ‘प्रधानमन्त्रीज्यू, गम्भीरताप्रति गम्भीर बन्नुहोस्। हिजो हाम्रा शीर्ष नेताहरूले सबै ठिकठाक भइरहेको छ भन्ठाने, जसको परिणाम नकारात्मक निक्लियो। आज फेरि त्यही गल्ती दोहोरिँदै छ,’ उनले उल्लेख गरेका छन्।

यस्तै, रास्वपा सभापति रवि लामिछानेको भूमिकामाथि पनि प्रश्न उठाउँदै शर्माले ‘के सबै ठिकठाक भइरहेको दृश्य हो यो ? सरकार आशाको होइन, त्रासको प्रतीक किन बन्दैछ ?’ भनी प्रश्न गरेका छन्।

Read More

राष्ट्रियसभाबाट आर्थिक विधेयक, २०८३ पारित

काठमाडौं । राष्ट्रियसभाको बैठकले ‘आर्थिक विधेयक, २०८३’ बहुमतबाट पारित गरेको छ। अब उक्त विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता पठाइने भएको छ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक सुझावविना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए।

छलफलका क्रममा राष्ट्रियसभा सदस्यहरू डा. प्रेम दङ्गाल, सम्झना देवकोटा, रोशनी मेचे र सोमनाथ पोर्तेलले शिक्षा तथा स्वास्थ्य सेवामा कर वृद्धि नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

बैठकको शून्य समयमा सदस्यहरूले सुकुमबासीका लागि सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने लगायतका विषय पनि उठाएका थिए।

Read More

प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक र दुई निकायका वार्षिक प्रतिवेदन पेस

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ तथा महान्यायाधिवक्ताको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गरिन्।

मन्त्री गौतमले विद्यार्थीमा देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना विकास गर्दै नैतिक तथा अनुशासित नागरिक निर्माण गर्ने उद्देश्यले विधेयक ल्याइएको बताइन्। उनले राष्ट्रिय आवश्यकताअनुसार नेपाली नागरिकलाई तालिम दिने र तालिम प्राप्त व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा परिचालन गर्न सकिने कानुनी व्यवस्था गर्न विधेयक आवश्यक रहेको उल्लेख गरिन्।

सोही बैठकमा मन्त्री गौतमले महान्यायाधिवक्ताको कार्यालयको ‘वार्षिक प्रतिवेदन, २०८१/८२’ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘३५औँ वार्षिक प्रतिवेदन, २०८१/८२’ पनि सभासमक्ष पेस गरिन्।

Read More

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।

बिहीबार भएको भेटमा सभामुख अर्यालले नेपाल–भारत सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता तथा सामाजिक–सांस्कृतिक सम्बन्धमा आधारित रहेको उल्लेख गरे। उनले व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत र कनेक्टिभिटीलगायत क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार हुँदै गएको बताए।

सभामुख अर्यालले हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको लजिस्टिक सहयोगप्रति धन्यवाद व्यक्त गर्दै जनादेशबाट बनेको सरकारले कार्यकालको पहिलो १०० दिन पूरा गरेको जानकारी गराए।

भेटका क्रममा राजदूत श्रीवास्तवले भारतका लोकसभा सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराउँदै नेपाली सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन र अवलोकनका लागि निमन्त्रणा दिएका थिए।

राजदूत श्रीवास्तवले संसदीय कूटनीति र उच्चस्तरीय संवादले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्दै व्यापार, ऊर्जा, शिक्षा, कनेक्टिभिटी तथा जनस्तरको सम्बन्ध विस्तारमा भारत सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।

Read More