२०८३ श्रावण १८

नयाँ राहदानी प्रणाली सञ्चालनमा, सुरुवाती चरणमा ढिलाइ हुन सक्ने

काठमाडौँ । राहदानी विभागले सोमबारदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ। विभागले करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गर्दै देशकै सबैभन्दा ठूलो ‘डेटा माइग्रेसन’ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

विभागका अनुसार नयाँ प्रणालीको सुरुवाती चरणमा केही प्राविधिक समस्या, प्रणालीमा सुस्तता वा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्छ। सम्भावित समस्या समाधानका लागि प्राविधिक टोली र प्रणाली विकासकर्ताका विज्ञहरू चौबीसै घण्टा तयारी अवस्थामा रहेको विभागले जनाएको छ।

प्रणालीलाई थप स्थिर बनाउने काम जारी रहेकाले विभागले हाल अत्यावश्यक काम परेका सेवाग्राहीलाई मात्र राहदानीका लागि आवेदन दिन अनुरोध गरेको छ।

Read More

कोशी अस्पतालको जग्गामा बनेका संरचना हटाउन डोजर सञ्चालन

काठमाडौं। विराटनगरस्थित कोशी अस्पतालको जग्गामा विभिन्न संघसंस्थाले निर्माण गरेका संरचना हटाउन डोजर परिचालन गरिएको छ। अस्पताल परिसर आसपास निर्माण गरिएका अवैध संरचना भत्काउने काम सोमबार बिहानदेखि सुरु गरिएको हो।

विराटनगर–७ स्थित अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंक, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना बनाएर प्रयोग गर्दै आएका थिए।

उक्त संस्थाहरूले अस्पतालको जग्गामा सटर निर्माण गरी तेस्रो पक्षलाई व्यावसायिक प्रयोजनका लागि भाडामा दिएको जनाइएको छ। ती संरचनामा रहेका २६ वटा सटर प्रयोग हुँदै आएका थिए।

संरचना हटाउने क्रममा अस्पताल अगाडिको क्षेत्र, दक्षिण–पूर्वतर्फको अस्पताल चोक र देवकोटा चोकतर्फबाट एकैपटक डोजर सञ्चालन गरिएको छ। सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

संरचना भत्काउने कार्यको अनुगमन गर्न मोरङका प्रहरी प्रमुख कबित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालासहितको टोली घटनास्थलमा खटिएको छ।

Read More

सभामुख अर्याल र युएईका विदेश व्यापारमन्त्रीबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त अरब इमिरेट्स (युएई) का विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोउदीले शिष्टाचार भेटवार्ता गरेका छन्।

सभामुखको सचिवालयका अनुसार भेटमा सभामुख अर्यालले वर्तमान संसद् गठनपछि युएईबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण रहेको उल्लेख गर्दै यसले नेपाल–युएई सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने तथा सहकार्यका नयाँ आयाम खोल्ने विश्वास व्यक्त गरे।

युएईका विदेश व्यापारमन्त्री जेयोउदीले नयाँ सरकार गठनपछि आफ्नो यो पहिलो नेपाल भ्रमण रहेको उल्लेख गर्दै यसले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

उनले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि युएई सरकार सकारात्मक रहेको बताउँदै प्रविधि, पूर्वाधार, शिक्षा लगायतका क्षेत्रमा लगानी विस्तार गर्न आफ्नो देश इच्छुक रहेको धारणा राखे।

मन्त्री जेयोउदीले युएईको विकासमा नेपाली श्रमिकहरूले पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपाल–युएई सम्बन्धलाई थप मजबुत बनाउन दुवै देशबीचको सहकार्य अझ विस्तार गरिने विश्वास व्यक्त गरे।

Read More

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । देशका विभिन्न छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष उनीहरूले औपचारिक रूपमा शपथ ग्रहण गरेका हुन्।

शपथ लिने उपकुलपतिहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नवीस मानसिंह प्रधान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. स्मृति कार्की रहेका छन्।

त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि नियुक्त डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सूर्यमान मेन्याङबो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अजय कुमार मिश्रले पनि पदभार सम्हाल्नुअघि शपथ लिएका छन्।

सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार गठन गरिएको छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई उपकुलपति पदमा नियुक्त गरेको हो।

नयाँ कार्यविधिअनुसार भएको नियुक्तिसँगै सम्बन्धित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा शैक्षिक तथा प्रशासनिक नेतृत्वले पूर्णता पाएको छ। अब नवनियुक्त उपकुलपतिहरूले आ–आफ्ना प्रतिष्ठानको शैक्षिक गुणस्तर सुधार, संस्थागत व्यवस्थापन र सेवा विस्तारमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Read More

नेपाल टेलिकम बिलिङ प्रकरणमा संगीता पहाडीसहित सबै प्रतिवादीले पाए सफाइ

काठमाडौं। विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति (अपग्रेड) सम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना प्रतिवादीलाई सफाइ दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिलिङ सिस्टम अपग्रेड गर्ने क्रममा अनियमितता भएको दाबी गर्दै ३३ करोड ४८ लाख १७ हजार रुपैयाँ बिगो कायम गरी २०८२ जेठ २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले भने प्रतिवादीहरूले बदनियतपूर्वक काम गरेको वा नेपाल टेलिकमलाई आर्थिक क्षति पुर्‍याएको प्रमाण नपुगेको ठहर गरेको हो।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार फैसला सुनाउँदै सबै प्रतिवादीलाई सफाइ दिएको हो। फैसलासँगै निलम्बनमा रहेकी टेलिकमकी प्रबन्ध निर्देशक पहाडीलाई जिम्मेवारीमा फर्कने बाटो खुलेको छ।

अख्तियारले नेपाल टेलिकम र चीनको एसिया इन्फोबीच भएको सम्झौतामा अनियमितता भएको दाबी गरेको थियो। आयोगको आरोप अनुसार सन् २०११ को मूल सम्झौतामा रहेको वार्षिक मर्मत सम्भार (एएमसी) सम्बन्धी ५ प्रतिशत छुट नलिँदा टेलिकमलाई आर्थिक नोक्सानी भएको थियो।

तर अदालतले सन् २०२३ को ‘अपग्रेडेड एएमसी’ सम्झौता पुरानो मर्मत सम्झौताभन्दा फरक प्रकृतिको रहेको जनाएको छ। उक्त सम्झौतामा प्रणाली स्तरोन्नतिसँगै नयाँ हार्डवेयर, सफ्टवेयर, डाटा माइग्रेसन तथा अन्य प्राविधिक सेवा समावेश भएको र त्यसबाट संस्थालाई लाभ पुगेको अदालतको निष्कर्ष छ।

फैसलामा प्राविधिक आवश्यकता, विभिन्न अध्ययन समिति र वार्ता टोलीको सिफारिसका आधारमा सम्झौता गरिएको देखिएको उल्लेख छ। अदालतका अनुसार प्रतिवादीहरूले व्यक्तिगत लाभ लिने वा संस्थालाई हानि पुर्‍याउने उद्देश्यले काम गरेको पुष्टि हुन सकेन।

अख्तियारले मुद्दामा संगीता पहाडी र सुनिल पौडेलसहित टेलिकमका अधिकारीहरू, एसिया इन्फो चीन तथा अरनिको इन्टरनेसनलसँग सम्बन्धित व्यक्तिहरूलाई प्रतिवादी बनाएको थियो। विशेष अदालतले सबै प्रतिवादीलाई सफाइ दिएको हो।

अदालतले यसअघि सोही विषयमा परेको उजुरीमाथि अख्तियारले २०७९ सालमा अनुसन्धान गरी तामेलीमा राखेको विषयलाई समेत फैसलाको आधार बनाएको जनाएको छ। हाल अदालतले संक्षिप्त फैसला सार्वजनिक गरेको र पूर्णपाठ पछि आउने जनाएको छ।

Read More

राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण, कार्यान्वयनको बाटो खुला

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भएका चार महत्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार बिहीबार प्रमाणीकरण भएसँगै ती विधेयक कार्यान्वयनको संवैधानिक प्रक्रिया अघि बढ्ने भएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रमाणीकरण गरेका हुन्।

यी चारवटै विधेयक बिहीबार संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस गरिएका थिए। संविधानको व्यवस्था अनुसार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक ऐनका रूपमा कार्यान्वयनमा जाने कानुनी प्रक्रिया पूरा हुन्छ।

प्रमाणीकरण भएका विधेयकमध्ये सार्वजनिक खरिदसम्बन्धी संशोधनले सरकारी खरिद प्रक्रियालाई थप प्रभावकारी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। त्यसैगरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी संशोधनले वित्तीय अपराध नियन्त्रण तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपालको कानुनी संरचनालाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ।

सहकारी (पहिलो संशोधन) विधेयक सहकारी क्षेत्रको नियमन, सुशासन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ल्याइएको हो। पछिल्ला वर्षहरूमा देखिएका सहकारी क्षेत्रका समस्या र बचतकर्ताको हित संरक्षणलाई ध्यानमा राखेर संशोधन अघि बढाइएको सरकारको भनाइ रहेको छ।

यस्तै, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सञ्चालन, प्रशासनिक व्यवस्था तथा सेवा प्रवाहलाई समयानुकूल बनाउन आवश्यक कानुनी व्यवस्था परिमार्जन गर्ने लक्ष्य राखेको छ।

यी विधेयक यसअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट आवश्यक छलफलपछि पारित भएका थिए। राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सम्बन्धित ऐनहरू राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछन्।

Read More

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान, भौतिक पूर्वाधार विकास, लगानी वातावरण सुधार तथा आर्थिक सुधारका विषयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग छलफल गरेका छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताए।

उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम निर्धारित समयमै सम्पन्न गर्न सरकार, निजी क्षेत्रलगायत सबै पक्षबीच सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिए।

छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए।

महासंघका पदाधिकारीहरूले निर्माण क्षेत्रले भोगिरहेका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

उनीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा पनि सहभागी थिए।

Read More

कृषि क्षेत्रलाई मुख्य आर्थिक आधार बनाउने सरकारको प्रतिबद्धता : मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई मुलुकको मुख्य आर्थिक आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

मन्त्रालय सम्हालेको १०० दिन पूरा भएको अवसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले किसानका समस्या समाधान र कृषि क्षेत्रको आधुनिकीकरणका लागि सरकारले गरेका प्रयासबारे जानकारी दिएकी हुन्।

मन्त्री चौधरीले सबै पक्षको सहकार्य र अर्थ मन्त्रालयको सहयोगमा समयमै रासायनिक मल भित्र्याउन सफल भएको उल्लेख गरिन्। उनले बजेट निर्माणका क्रममा कृषि क्षेत्र सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्दै किसानको हित र मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि आवश्यक स्रोत सुनिश्चित हुने बताइन्।

कृषि क्षेत्रमा रहेको बिचौलिया प्रणाली अन्त्य गर्न कृषि विधेयकमार्फत नीतिगत सुधार गरिएको जानकारी दिँदै उनले किसानको हितलाई केन्द्रमा राखेर काम भइरहेको बताइन्।

त्यस्तै, दुग्ध उत्पादक किसानको बक्यौता भुक्तानीका विषयमा सरकार गम्भीर रहेको र हाल दैनिक करिब १ करोड रुपैयाँका दरले भुक्तानी भइरहेको मन्त्री चौधरीले जानकारी दिइन्।

Read More

कर्मचारीलाई नयाँ आचारसंहिता, सामाजिक सञ्जालमा कडाइ

काठमाडौं । सरकारले निजामती कर्मचारीको आचरण, अनुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गरेको छ। नयाँ आचारसंहिताले कर्मचारीको सामाजिक सञ्जाल प्रयोग, सेवाग्राहीसँगको व्यवहार, सार्वजनिक अभिव्यक्ति तथा पदको प्रयोगसम्बन्धी विभिन्न विषयमा स्पष्ट मापदण्ड निर्धारण गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मन्त्री प्रतिभा रावलको असार १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट आचारसंहिता स्वीकृत गरिएको हो। असार २२ गतेदेखि कार्यान्वयनका लागि यसलाई सबै महाशाखा, विभाग तथा मातहतका निकायमा पठाइसकिएको मन्त्रालयले जनाएको छ।

आचारसंहिताअनुसार कर्मचारीले कार्यालय समयमा कार्यालय परिसर वा फिल्डमा सरकारी जिम्मेवारीमा खटिएको अवस्थामा कार्यालयको पोसाकमा खिचिएका फोटो वा भिडियो सामाजिक सञ्जालमा प्रकाशन वा साझेदारी गर्न पाउने छैनन्। यद्यपि शिक्षामूलक, जनचेतनामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो व्यवस्था लागू नहुने उल्लेख गरिएको छ।

त्यस्तै, फेसबुक, एक्स (पूर्वट्विटर), ह्वाट्सएप, टिकटकलगायत सामाजिक सञ्जाल प्रयोग गर्दा सार्वजनिक सेवाको मर्यादा, निष्पक्षता र संस्थाप्रतिको विश्वासमा असर नपर्ने गरी व्यावसायिक सतर्कता अपनाउनुपर्ने व्यवस्था गरिएको छ। कर्मचारीले सरकारको नीति, कार्यक्रम तथा आधिकारिक निर्णयको प्रतिकूल हुने गरी लेख, विचार वा टिप्पणी सार्वजनिक गर्न नपाउने व्यवस्था पनि आचारसंहितामा समावेश गरिएको छ।

आचारसंहिताले सेवाग्राहीसँगको सम्बन्धलाई पनि थप व्यवस्थित बनाएको छ। कार्यालयबाहिर सेवाग्राहीसँग अनावश्यक भेटघाट गर्न नपाइने, कुनै पनि सेवाग्राहीको प्रतिनिधि वा एजेन्टका रूपमा काम गर्न नहुने तथा आफ्नो पद वा जिम्मेवारीको दुरुपयोग गरी व्यक्तिगत वा पारिवारिक लाभ लिन नपाइने स्पष्ट व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार आचारसंहिताको उद्देश्य कर्मचारीको आचरणलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित र मर्यादित बनाउँदै सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता अभिवृद्धि गर्नु हो। सरकारले सबै सरकारी निकायलाई आचारसंहिताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएको छ।

Read More

डीएसपी चौधरीको सार्वजनिक अभिव्यक्तिबारे प्रहरीले थाल्यो सोधपुछ

काठमाडौं । कैलालीको एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका विषयमा इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सोधपुछका लागि बोलाएको छ।

प्रहरी स्रोतका अनुसार चौधरीलाई कार्यक्रममा दिएको अभिव्यक्ति, त्यसको आशय तथा कार्यशैलीसँग सम्बन्धित विषयमा जानकारी लिन जिल्ला झिकाइएको हो। उनीविरुद्ध यसअघि परेका केही उजुरीबारे समेत सोधपुछ गरिने बताइएको छ।

डीएसपी चौधरीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषध दुव्र्यसनविरुद्धको सचेतनामूलक कार्यक्रममा बोल्ने क्रममा, “हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो,” भनेका थिए।

उनले सोही कार्यक्रममा नेपाल प्रहरी कुनै राजनीतिक दल वा नेताको प्रभावमा नरही कानुनअनुसार काम गर्ने संस्था भएको उल्लेख गर्दै जनप्रतिनिधिप्रति पनि टिप्पणी गरेका थिए। उनको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो भने त्यसबारे विभिन्न प्रतिक्रिया समेत आएका थिए।

प्रहरी स्रोतका अनुसार सार्वजनिक कार्यक्रममा जिम्मेवार पदमा रहेका प्रहरी अधिकृतले दिएको अभिव्यक्तिको सन्दर्भ र उद्देश्य बुझ्न तथा आवश्यक परामर्शका लागि चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको हो।

हालसम्म उनीमाथि कुनै विभागीय कारबाहीको निर्णय भने भएको छैन। सोधपुछपछि प्राप्त तथ्यका आधारमा आवश्यक निर्णय लिइने प्रहरी स्रोतले जनाएको छ।

Read More