२०८३ श्रावण १६

नागरिक एपबाट अब देशभरको रगतको उपलब्धता जानकारी लिन सकिने

काठमाडौँ । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ ।

नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा उपलब्ध रक्त समूह र मौज्दात युनिटको जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार यस सुविधामार्फत देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको अवस्था एकै स्थानबाट हेर्न सकिनेछ ।

स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले यो सेवा नागरिक एपमा एकीकृत गरिएको हो । यसले आकस्मिक अवस्थामा रगत आवश्यक पर्ने बिरामी तथा आफन्तलाई छिटो जानकारी प्राप्त गर्न सहयोग गर्ने, रक्त व्यवस्थापनलाई सहज बनाउने र रक्तसञ्चार सेवाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

Read More

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, दुई महिनाभित्र परीक्षण उत्पादन गर्ने लक्ष्य

काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजनासहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई बुझाएको छ।

मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग पुनः सञ्चालनका लागि हालसम्म भएका प्रगति, चालिएका कदम र आगामी कार्ययोजनासहितको प्रतिवेदन तयार पारेको हो।

मन्त्रालयका अनुसार उद्योगको परीक्षण सञ्चालनका लागि आवश्यक तयारी यसअघि नै सुरु भइसकेको छ। अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगमा रहेका मेसिनको मर्मत तथा परीक्षण उत्पादनको तयारी अघि बढाइरहेको छ।

प्रतिवेदनअनुसार सरकारको निर्देशनबमोजिम नेपाली सेनाले आगामी दुई महिनाभित्र हेटौँडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। सोही समयसीमालाई ध्यानमा राख्दै उद्योग परिसरमा आवश्यक तयारी तीव्र पारिएको छ।

उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो साता नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ। उक्त रकम परीक्षण उत्पादनका लागि आवश्यक प्रारम्भिक काममा प्रयोग भइरहेको प्रतिवेदनमा उल्लेख छ।

उद्योग सञ्चालनको जिम्मेवारी पाएपछि नेपाली सेनाको प्राविधिक टोली उद्योग परिसरमा परिचालन भएको छ। टोलीले उद्योगको सरसफाइ, आवश्यक कच्चा पदार्थ व्यवस्थापन तथा मेसिन मर्मतको काम अघि बढाएको मन्त्रालयले जनाएको छ।

यसैगरी, उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयबाट ५० लाख रुपैयाँको लागत अनुमान पेस गरिएको छ। सोही आधारमा उद्योगका भवन तथा अन्य संरचना मर्मत गर्ने तयारी भइरहेको छ।

उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको जिम्मेवारी हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लिएको छ। आवश्यक विद्युत् मर्मत कार्य सम्पन्न भइसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सरकारले तत्कालका लागि उद्योगमा रहेका पुराना मेसिन मर्मत गरी परीक्षण उत्पादन गर्ने योजना बनाएको छ। परीक्षण उत्पादनको परिणामका आधारमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिनेछ।

डीपीआरका आधारमा आवश्यक कानुनी तथा नीतिगत निर्णय गर्दै हेटौँडा कपडा उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजना अघि बढाइने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन बुझ्दै मन्त्री गौरीकुमारी यादवले राष्ट्रिय गौरवसँग जोडिएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। उनले कार्यदलका सुझावअनुसार निर्धारित समयभित्र परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

Read More

कतारका पूर्वअमिरको निधनमा आज सरकारी झन्डा आधा झुकाइने

काठमाडौं, असार ३० । कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको निधनप्रति शोक व्यक्त गर्दै सरकारले मंगलबार देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालभरका सरकारी कार्यालयका साथै कतारस्थित नेपाली दूतावासमा पनि सरकारी झन्डा आधा झुकाइनेछ।

पूर्वअमिर थानीले नेपाली नागरिकका लागि कतारमा रोजगारीका अवसर विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।

Read More

संगीता पहाडी अर्याल पुनः नेपाल टेलिकमको प्रबन्धनिर्देशकमा बहाल

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की तत्कालीन प्रबन्धनिर्देशक संगीता पहाडी अर्याल पुनः सोही पदमा बहाल भएकी छन्।

विशेष अदालतबाट आफूमाथि लागेको आरोपमा पूर्ण सफाइ पाएपछि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असार २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनको निलम्बन फुकुवा गर्दै पुनर्बहाली गरिएको हो।

पदबहालीपछि आयोजित कार्यक्रममा प्रबन्धनिर्देशक अर्यालले कर्मचारीहरूलाई संस्था र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर निष्ठापूर्वक काम गर्न आग्रह गरिन्। उनले कर्मचारीहरूमाथि विगतमा लागेका आरोप तथा उत्पन्न भ्रमहरू अन्ततः सत्यको जीतसँगै समाप्त भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थाको नेतृत्व सम्हाल्ने सम्पूर्ण टोलीप्रति धन्यवाद व्यक्त गरिन्।

अर्यालले नेपाल टेलिकममा प्रक्रियागत सुधारलाई प्राथमिकता दिँदै आगामी दिनमा आन्तरिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै बाह्य सरोकारवालाको अपेक्षालाई समेत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले नेपाल सरकारको नीति तथा मार्गनिर्देशनअनुसार सत्यनिष्ठ, पारदर्शी र जिम्मेवार ढंगले काम गर्दै नेपाल टेलिकमप्रतिको जनविश्वास, बजार साख र सेवा गुणस्तरलाई थप मजबुत बनाउने बताइन्।

नेपाल टेलिकमले पनि गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह, कानुनी शासनको सम्मान तथा देशको दूरसञ्चार क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

Read More

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। यसअघि अध्यादेशमार्फत भूपेन्द्र भण्डारीलाई अध्यक्ष पदबाट हटाइएपछि घिमिरेले निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

पछिल्लो मन्त्रिपरिषद् बैठकले घिमिरेलाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। उनको शपथ ग्रहण कार्यक्रम केहीबेरमा सूचना तथा सञ्चार मन्त्रालयमा आयोजना हुँदैछ।

घिमिरे प्राधिकरणमा लामो समयदेखि कार्यरत अधिकारी हुन्। उनले आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण शाखामा रहेर काम गरेका थिए। यसअघि उनी प्राधिकरणको उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

Read More

संशोधित खरिद ऐनअनुसार मात्रै प्रक्रिया अघि बढाउन पीपीएमओको निर्देशन

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले सबै सार्वजनिक निकायलाई हालै लागू भएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३’ अनुसार मात्रै खरिदसम्बन्धी काम कारबाही अघि बढाउन निर्देशन दिएको छ।

कार्यालयले सूचना जारी गर्दै असार २५ गते प्रमाणीकरण भई लागू भएको संशोधित ऐनअनुसार नमूना बोलपत्रसम्बन्धी कागजात तयार गर्ने काम भइरहेको जनाएको छ।

नयाँ नमूना बोलपत्र कागजात पूर्ण रूपमा जारी नभएसम्म सार्वजनिक निकायहरूले संशोधित ऐनको व्यवस्था पालना गरी खरिद प्रक्रिया अघि बढाउनुपर्ने पीपीएमओले जनाएको छ। कार्यालयले असार २९ गतेको निर्णयअनुसार यस्तो निर्देशन दिएको हो।

Read More

तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी पार्किङ, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । काठमाडौंका तीन सञ्चार गृहको गेटमा शंकास्पद रूपमा पार्किङ गरिएका सवारी साधनबारे प्रहरीले अनुसन्धान थालेको छ।

कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको गेटमा लामो समयदेखि पार्किङ गरिएका सवारी साधन ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएको छ। ती सवारी साधनको स्वामित्व र पार्किङको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अनलाइनखबरको गेटमा भेटिएको बा १२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको नाममा दर्ता रहेको पाइएको छ। यस्तै, कान्तिपुर पब्लिकेशनको गेटमा राखिएको बा प्रदेश ०१–०३४ च ८४८० नम्बरको जिप सानीमा बैंकको नाममा रहेको र बैंकबाट कर्जा लिएर एसटी मोटर्सले प्रयोग गर्दै आएको खुलेको छ।

हिमालय टेलिभिजनको गेटमा भेटिएको बा १० च १२५५ नम्बरको कार भने डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको यातायात व्यवस्था विभाग स्रोतले जनाएको छ।

यसैबीच, अनामनगरस्थित भाटभटेनी सुपर मार्केट अगाडि पनि ०३३ च ४२७५ नम्बरको हुण्डाई क्रेटा शंकास्पद अवस्थामा पार्किङ गरिएको भेटिएको छ। उक्त सवारीको धनी भने खुलेको छैन।

Read More

सातै प्रदेशमा ‘बर्न’ उपचार केन्द्र स्थापना गर्ने सरकारको तयारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न जलन (बर्न) उपचार केन्द्र स्थापना गर्ने योजना अघि बढाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले गम्भीर जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था मिलाउन आवश्यक योजना बनाउन निर्देशन दिएका हुन्।

उनले प्रमुख सरकारी अस्पतालमा रहेका बर्न वार्डलाई थप सुदृढ बनाउन तथा संघ, प्रदेश र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय गर्न पनि आग्रह गरे। गुणस्तरीय, सहज र नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले अस्पतालको सरसफाइ, सेवा प्रवाह सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनमा विशेष ध्यान दिन निर्देशन दिए।

प्रधानमन्त्री शाहले आर्थिक रूपमा कमजोर, विपन्न तथा असहाय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन निजी अस्पतालले उपलब्ध गराउनुपर्ने सहुलियतपूर्ण ओपिडी सेवाको प्रभावकारी कार्यान्वयन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए।

छलफलमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर सुधार, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन, डिजिटल स्वास्थ्य प्रणाली र पूर्वाधार विकासका विषयमा सुझाव प्रस्तुत गरेका थिए।

उनीहरूले केही स्वास्थ्य प्रतिष्ठानको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको असरबारे समेत प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। प्रधानमन्त्री शाहले कानुनी प्रक्रियामार्फत समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

Read More

भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाउने १५९ म्यानपावरलाई विभागको कारबाही

काठमाडौं । वैदेशिक रोजगार विभागले अनुमति नलिई भारतीय विमानस्थल प्रयोग गरेर नेपाली श्रमिक विदेश पठाउने तथा विभागले माग गरेको विवरण उपलब्ध नगराउने ५९३ वटा वैदेशिक रोजगार व्यवसायी संस्थामाथि कारबाही प्रक्रिया अघि बढाएको छ।

विभागका अनुसार स्वीकृति नलिई भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाउने १५९ वटा म्यानपावर कम्पनीलाई पहिलो पटक सचेत गराइएको छ। यस्तै, विभागले माग गरेको उडान विवरण तथा आवश्यक कागजात नबुझाउने ४३४ वटा कम्पनीलाई पनि विवरण पेस गर्न निर्देशन दिँदै सचेत गराइएको छ।

पटक–पटक नियम उल्लंघन गर्ने आठ वटा म्यानपावर कम्पनीलाई भने जनही ५० हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ। विभागका अनुसार भारतबाट अनुमति बिना श्रमिक पठाउने तीन कम्पनी र माग गरिएको विवरण नबुझाउने पाँच कम्पनीलाई जरिबाना गरिएको हो।

विभागले श्रम स्वीकृति लिएर विदेश गएका नेपाली श्रमिकको उडान विवरण माग गरेको थियो। सञ्चालनमा रहेका १ हजार ११७ इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामध्ये ६७८ वटाले मात्र विवरण उपलब्ध गराएका थिए। विवरण अध्ययनका क्रममा १५९ वटा कम्पनीले विभागको स्वीकृति बिना विदेशी विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएको विभागले जनाएको छ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था छ। उक्त व्यवस्था उल्लंघन गरेको भन्दै विभागले सम्बन्धित कम्पनीलाई ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाएको हो।

यसैबीच, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभागको कारबाही प्रक्रियामाथि पुनरावलोकन गर्न माग गरेको छ। संघका अध्यक्ष डिकबहादुर खत्रीले सरोकारवाला निकायसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्।

Read More

बालेन नेतृत्वको सरकारले किसान पेन्सनको प्रतिबद्धता सार्वजनिक

काठमाडौं । सरकारले योगदानमा आधारित किसान पेन्सन कार्यक्रम ल्याउने प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्बाट स्वीकृत ‘राष्ट्रिय प्रतिबद्धता’मा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्तो व्यवस्था प्रस्ताव गरेको हो।

१६ बुँदे राष्ट्रिय प्रतिबद्धताको ‘कृषि पेसाको सम्मान र आत्मनिर्भरता’ शीर्षकअन्तर्गत योगदानमा आधारित किसान पेन्सन लागू गरिने उल्लेख छ। साथै, किसान परिचयपत्रका आधारमा वास्तविक किसानलाई मात्र अनुदान, सहुलियतपूर्ण ऋण, सरकारी सेवासुविधा तथा सामाजिक सुरक्षा उपलब्ध गराइने प्रतिबद्धता पनि सरकारले जनाएको छ।

प्रतिबद्धतामा कृषिलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित किसान क्रेडिट कार्ड, कृषि बीमा, सहुलियतपूर्ण ऋण, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि उद्यमलाई प्रोत्साहन गर्ने विषय पनि समेटिएको छ।

यो राष्ट्रिय प्रतिबद्धता सरकारको शासकीय सुधार कार्यसूचीअनुसार विभिन्न राजनीतिक दलका घोषणापत्र र वाचापत्रमा रहेका कार्यान्वयनयोग्य विषयलाई समेटेर तयार गरिएको दस्तावेज हो। यद्यपि किसान पेन्सन कार्यक्रम कहिलेदेखि लागू हुने, योगदानको स्वरूप कस्तो हुने र लाभग्राहीको मापदण्ड के हुने भन्ने विषयमा सरकारले हालसम्म विस्तृत कार्यविधि सार्वजनिक गरेको छैन।

Read More