काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्ध, आपसी हित तथा विभिन्न क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
भेटका क्रममा नेपालको शिक्षा क्षेत्रमा अमेरिकाबाट हुँदै आएको सहयोग, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षाको विस्तार र खेलकुद क्षेत्रमा हुन सक्ने सहकार्यका सम्भावनाबारे विचारविमर्श भएको थियो।
अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको छ। प्रारम्भिक पठन तथा सिकाइ सुधार कार्यक्रमलगायत शिक्षा क्षेत्रका विभिन्न परियोजनामा अमेरिकी सरकारको सहयोग रहँदै आएको छ।
भेटमा मन्त्री पोखरेलले नेपाल र अमेरिकाबीचको ऐतिहासिक, मैत्रीपूर्ण र विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ बलियो हुने विश्वास व्यक्त गरे। उनले सरकारले शिक्षा क्षेत्रमा सुधारका विभिन्न कार्यक्रम अघि बढाइरहेको जानकारी दिँदै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको काम भइरहेको बताए।
उनले नयाँ पाठ्यक्रमलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक र सीपमूलक बनाउने उद्देश्यसहित मन्त्रालयले काम गरिरहेको उल्लेख गरे। साथै विद्यालय तहदेखि नै खेलकुदलाई पाठ्यक्रममा समावेश गर्ने गरी आवश्यक तयारी भइरहेको जानकारी दिए।
मन्त्री पोखरेलले विद्यालयको भौतिक पूर्वाधारको अवस्था मूल्याङ्कन गर्ने काम अघि बढाइएको र त्यसका आधारमा आगामी दिनमा आवश्यकताअनुसार बजेट व्यवस्थापन गरिने बताए। सुरक्षित विद्यालय वातावरण, शैक्षिक सुविधा विस्तार र शिक्षकको क्षमता विकासलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनको भनाइ थियो।
उनले सुरक्षित विद्यालय संरचना, प्रविधिमैत्री सिकाइ, शिक्षकको व्यावसायिक क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषणका क्षेत्रमा अमेरिकी सरकारसँग सहकार्य गर्न सकिने बताए।
कार्यवाहक राजदूत अर्बमले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रको विकासका लागि सहकार्य गर्न अमेरिका सकारात्मक रहेको बताए। नेपाल सरकारले अघि बढाएका शिक्षा सुधारका कार्यक्रमबारे अमेरिका जानकार रहेको उल्लेख गर्दै उनले सार्वजनिक विद्यालय शिक्षाको सुधारका प्रयासमा निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
Read More