२०८३ श्रावण १८

नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि राष्ट्रियसभामा समूहीकृतछलफल सुरु

काठमाडौं । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत छलफल सुरु भएको छ।

आज बसेको राष्ट्रियसभाको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि छलफल भइरहेको छ।

बैठकमा सम्बन्धित विनियोजन शीर्षकमाथि खर्च कटौतीका प्रस्ताव दर्ता गरेका सांसदहरूले आफ्ना धारणा प्रस्तुत गरिरहेका छन्।

Read More

टीकापुर नगरको १९औँ नगरसभा सम्पन्न, आगामी वर्षका लागि १ अर्बभन्दा बढी बजेट पारित

काठमाडौँ । टीकापुर नगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु १ अर्ब ३ करोड ६७ लाख ७७ हजारको बजेट प्रस्तुत गरेको छ।

नगरसभाको अध्यक्षता ज्येष्ठ सदस्य जयराम थारुले गरेका थिए। नगर प्रमुख रामलाल डगौरा थारुले राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका तथा उपप्रमुख खडकबहादुर शाह निलम्बनमा परेपछि सभा ज्येष्ठ सदस्य थारुको नेतृत्वमा सञ्चालन गरिएको हो।

आर्थिक विकास समितिका संयोजक यज्ञप्रसाद न्यौपानेले नगरसभामा बजेट प्रस्तुत गरेका थिए। आगामी वर्षका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र आन्तरिक आम्दानीको आधारमा बजेट अनुमान गरिएको छ।

बजेट स्रोत विवरण

स्रोतरकम
संघीय सरकार अनुदानरु ६५ करोड ५६ लाख
सुदूरपश्चिम प्रदेश सरकार अनुदानरु १४ करोड ६६ लाख
आन्तरिक आम्दानीरु २४ करोड ४७ लाख
कुल बजेटरु १ अर्ब ३ करोड ६७ लाख ७७ हजार

नगरसभामा वडा नं १ का वडाध्यक्ष मोहन विकले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने वडा नं २ का वडाध्यक्ष दीपक चौधरीले आर्थिक गतिविधिसम्बन्धी प्रस्तावहरू राखेका थिए। त्यस्तै वडा नं ४ का वडाध्यक्ष लालबिर चौधरीले विविध प्रस्तावहरू प्रस्तुत गरेका थिए।

नगरपालिकाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी स्थापना हुने उत्पादनमूलक उद्योगलाई १० वर्षसम्म नगरपालिका तिर्नुपर्ने राजस्व शुल्क छुट दिने नीति अघि सारेको छ।

त्यसैगरी सरकारी स्वामित्वका घरजग्गा, सार्वजनिक संस्था, गैरनाफामूलक शैक्षिक तथा स्वास्थ्य संस्था, धार्मिक स्थल, खानेपानी संरचना, मसानघाटलगायत सार्वजनिक सम्पत्तिमा कर नलगाउने नीति पनि नगरसभाले समावेश गरेको छ।

Read More

पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि पेसी तोकियो

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसम्बन्धी बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा उक्त निवेदनमाथि सुनुवाइ हुने तय भएको हो।

पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै असार १० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दायर गरेकी थिइन्।

यसअघि न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको फाइल झिकाउन आदेश दिएको थियो। उक्त मुद्दामा नेपाल सरकार वादी र दीपक भट्टसहित अन्य प्रतिवादी रहेका छन्।

पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा असार ८ गते सुर्खेतबाट पक्राउ गरी असार ९ गते विशेष अदालत, काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले उनलाई थप तीन दिन न्यायिक हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो।

Read More

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बिहीबार दिउँसो २ बजे बस्ने गरी तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

बैठकले आवश्यक निर्णयहरू समेत गर्ने सचिवालयले जानकारी दिएको छ।

Read More

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, सार्वजनिक खरिद विधेयक र विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ। संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो ११:१५ बजे बस्नेछ।

प्रतिनिधिसभाको बैठकको प्रारम्भमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने कार्यक्रम रहेको छ। त्यसपछि बैठक कार्यसूचीअनुसार अघि बढ्नेछ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्। विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिएपछि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि मन्त्री गौतमले नै पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यता राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।

Read More

९ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं सार्वजनिक खरिद अनुगमन कार्यालयले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको उक्त निकायले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) अनुसार मंगलबार निर्णय गरेको हो।

निर्णयअनुसार दोलखाको ओमबुद्ध कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षका लागि सबैभन्दा लामो अवधिसम्म कालोसूचीमा राखिएको छ। यस्तै लोहनी एण्ड ब्रदर्श प्रालि (चितवन), सेभिका कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी (सुर्खेत) र राजेन्द्र/थेगिम जेभी (कैलाली) लाई एक वर्ष छ महिनाका लागि प्रतिबन्ध लगाइएको छ।

त्यसैगरी कृष्ण कन्स्ट्रक्सन (जाजरकोट), सेभिका/बेहडाबाबा जेभी (कैलाली), विजयश्वरी निर्माण सेवा (जाजरकोट), दिनकर कन्स्ट्रक्सन प्रालि (सर्लाही) र ललिता अम्बाय सप्लायर्स एण्ड कन्स्ट्रक्सन कम्पनी (इलाम) लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

कार्यालयका अनुसार सम्बन्धित सार्वजनिक निकायहरूको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो। कालोसूची अवधिभर ती कम्पनीहरूले देशभरका कुनै पनि सरकारी तथा सार्वजनिक खरिद, ठेक्का वा बोलपत्र प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

Read More

तीन संसदीय समितिको बैठक आज, विविध विधेयक र नीतिगत विषयमा छलफल

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका तीन संसदीय समितिको बैठक आज (बुधबार) बस्ने भएका छन्। बैठकमा पर्यटन, श्रम तथा उपभोक्ता हित र शिक्षा–स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने कार्यसूची छ।

बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई ‘आरोग्य वर्ष’का रूपमा मनाउने तयारीबारे छलफल हुनेछ। साथै नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई दिइएका निर्देशनको कार्यान्वयन अवस्था र प्राप्त उपलब्धिहरूको समीक्षा पनि गरिनेछ।

यस्तै, बिहान ९ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि र विविध विषयमा छलफल हुने बताइएको छ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

Read More

विदेशमा बसोबास गरिरहेका चार निजामती कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

मन्त्रालयका अनुसार ती कर्मचारीले अस्थायी वा स्थायी आवासीय अनुमति तथा डाइभर्सिटी (डीभी) भिसा लिएर स्वीकृत बिदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका छन्। निजामती सेवा ऐनअनुसार बहालवाला कर्मचारीले विदेशी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन पाउँदैनन्।

उनीहरूलाई १५ दिनभित्र प्रमाणसहित सफाइ पेस गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। चित्तबुझ्दो जवाफ नआए निजामती सेवा ऐन, २०४९ बमोजिम भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही हुन सक्ने उल्लेख गरिएको छ।

मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहिता कायम गर्न मन्त्रालयले निगरानी कडा बनाएको बताउँदै विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन अन्य कर्मचारीबारे पनि अध्ययन र छानबिन तीव्र पारिएको जानकारी दिइन्।

Read More

अर्थ समितिको बैठक आज, राष्ट्र बैंकको प्रतिवेदन र उपसमितिको प्रगतिबारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ। बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा आयोजना हुने तय भएको छ।

समितिको कार्यसूचीअनुसार बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमाथि छलफल गरिनेछ। साथै, समितिअन्तर्गत गठन भएका उपसमितिहरूले हालसम्म गरेका कामकारबाही तथा प्रगतिबारे पनि समीक्षा र छलफल हुने जनाइएको छ।

Read More

अर्थमन्त्रीद्वारा धितोपत्र बोर्ड अध्यक्षलाई लगानीकर्ता सुरक्षा र बजार सुधारमा जोड

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई लगानीकर्ताको हित र लगानी सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । शपथ ग्रहणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारका लोभ, प्रभाव वा दबाबबाट टाढा रहेर निष्पक्ष रूपमा काम गर्न आग्रह गरे ।

उनले पुँजी बजारप्रति लगानीकर्ताको विश्वास कायम राख्नु सरकारको प्रमुख उद्देश्य भएको उल्लेख गर्दै नियमनलाई प्रभावकारी बनाउँदै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिमा योगदान पुर्‍याउने वातावरण बनाउनुपर्ने बताए ।

अर्थमन्त्री वाग्लेले बजार सुधारका कामलाई योजनाबद्ध रूपमा अघि बढाउन निर्देशन दिँदै दैनिक, साप्ताहिक, मासिक, छ महिनादेखि वार्षिक लक्ष्यसहित स्पष्ट कार्ययोजना पेस गर्न पनि अध्यक्ष भट्टलाई आग्रह गरे । बजारमा फैलिने अनावश्यक हल्लाले साना लगानीकर्तामा त्रास सिर्जना गर्ने भएकाले त्यसलाई रोक्नुपर्नेमा उनले जोड दिए ।

‘पुँजी बजार सुधारका काम समयसीमासहित कार्यान्वयन हुनुपर्छ, नियमन प्रभावकारी हुनुपर्छ र लगानीकर्ताको विश्वास मजबुत बनाउनुपर्छ,’ अर्थमन्त्रीले भने, ‘मन्त्रालयबाट अनावश्यक हस्तक्षेप हुँदैन, तर नतिजामुखी काम अपेक्षित छ ।’ उनले बजारबारे नियमित प्रगति विवरण उपलब्ध गराउन पनि निर्देशन दिए ।

कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीतिअनुसार पुँजी बजार विकास र सुधारमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए । उनले विगतका अध्ययन र सिफारिसहरूलाई कार्यान्वयन गर्दै बजारलाई थप व्यवस्थित र सुदृढ बनाउने बताए ।

मन्त्रिपरिषद्को असार ५ गतेको निर्णयअनुसार भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो ।

Read More