काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको विवादित अडियो प्रकरणको छानबिन प्राविधिक परीक्षणबिनै टुंग्याउने तयारी भएको छ। समितिका एक सदस्यका अनुसार सुनारले अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गर्नु र पीडित भनिएकी महिलाले औपचारिक उजुरी नदिनुले थप अनुसन्धान अघि बढाउन कठिन भएको हो।
अडियो सार्वजनिक भएपछि रास्वपाले असोज २७ गते अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा अधिवक्ता सुशीला सिम्खडा, उपेन्द्रनन्दन तिमल्सिना, सन्तोष आचार्य, रामचन्द्र कार्की र सूचना प्रविधि विज्ञ सन्तोष विसुङ्खे सदस्य छन्।
समितिले कात्तिक १२ गते सुनारसँग करिब चार घण्टा बयान लिएको थियो। तर, अडियोको प्राविधिक परीक्षण नगरी र थप अनुसन्धान आवश्यक नरहेको रायसहित तिहारअघि नै अनुशासन आयोगलाई प्रतिवेदन बुझाउने तयारी गरेको बताइएको छ।
सुनारमाथि अब कस्तो कारबाही गर्ने भन्ने अन्तिम निर्णय पार्टी नेतृत्व र अनुशासन आयोगले गर्ने रास्वपाका नेताहरूको भनाइ छ।