काठमाडौं । सूर्यदेवको आराधना गर्दै मनाइने छठ पर्वका लागि काठमाडौंको कमलपोखरीमा विशेष तयारी गरिएको छ । पाँच सयभन्दा बढी व्रतालुले एकै स्थानमा बसेर पूजा गर्न सक्ने गरी घाट निर्माण गरिएको छ भने पोखरी परिसरको सरसफाइ, रङरोगन र झिलिमिली बत्ती जडानको काम अन्तिम चरणमा पुगेको छ ।
चार दिनसम्म मनाइने छठ पर्वको सुरुवातसँगै कमलपोखरी क्षेत्रलाई आकर्षक रूपमा सजाउन विभिन्न टोली खटिएका छन् । व्रतालुहरू आउनुअघि नै सबै तयारी पूरा गर्ने उद्देश्यले मजदुर र स्वयंसेवकहरू दिनरात काममा जुटेका छन् ।
बत्ती जडानको जिम्मेवारी सम्हालेको टोलीले पोखरी वरिपरि आकर्षक प्रकाश व्यवस्था मिलाइरहेको छ । अग्रवाल भवनको समन्वयमा भइरहेको सजावटको काम छठ सुरु हुनुअघि नै सक्ने तयारी छ । फूलको सजावट भने मुख्य पूजाको केही घण्टाअघि गरिनेछ ।
घाट निर्माण, सरसफाइ र टेन्ट व्यवस्थापनमा काठमाडौं महानगरपालिका तथा वडा नम्बर १ ले सहयोग गरेका छन् । बत्ती व्यवस्थापनको जिम्मेवारी अग्रवाल भवनले लिएको छ ।
पाँच सय घाट, नाम दर्ता गर्ने ६ सय पुगे
यस वर्ष कमलपोखरीमा पाँच सयभन्दा बढी व्रतालुका लागि निःशुल्क घाटको व्यवस्था गरिएको छ । घाटमा पूजा गर्न इच्छुकले नाम दर्ता गरी कुपनमार्फत आफ्नो स्थान सुनिश्चित गर्न सक्नेछन् ।
तर, घाटको संख्याभन्दा नाम दर्ता गर्ने व्रतालुको संख्या बढी भएपछि व्यवस्थापनमा केही चुनौती देखिएको छ । आयोजकका अनुसार करिब ६ सय जनाले नाम टिपाएका छन् । कतिपयले दोहोरो नाम दर्ता गराएकाले यस्तो अवस्था आएको हो ।
व्यवस्थापनमा सक्रिय जनकपुरका जितेन्द्र झाले भने नाम दर्ता नभएका व्रतालुलाई पनि पूजाबाट वञ्चित नगरिने बताएका छन् । सबैलाई मिलाएर पूजा गर्ने वातावरण बनाइने उनको भनाइ छ ।
विगत सात वर्षदेखि कमलपोखरीमा छठ मनाउँदै आएका प्रशान्त कुमार पनि निःशुल्क र व्यवस्थित घाटको व्यवस्थाबाट सन्तुष्ट छन् । उनका अनुसार कुपनमा उल्लेख भएको नम्बरअनुसार व्रतालुले आफ्नो स्थानमा बसेर पूजा गर्न पाउँछन् ।
आस्था मात्रै होइन, सामाजिक एकताको पर्व
कमलपोखरीमा छठ व्यवस्थापनमा लामो समयदेखि स्वयंसेवकका रूपमा खटिँदै आएका झाले यस पर्वलाई प्रकृति र समाजसँग जोडिएको उत्सवका रूपमा व्याख्या गरेका छन् ।
उनका अनुसार छठले जलस्रोतको संरक्षण, वातावरणीय सरसफाइ र सामाजिक सद्भावको महत्त्व उजागर गर्छ । यस पर्वमा जात, धर्म र समुदायभन्दा माथि उठेर सबैले एउटै स्थानमा सूर्यको आराधना गर्ने भएकाले सामाजिक एकताको सन्देश पनि प्रवाह हुन्छ ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सुरु हुने पूजा भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ । यस वर्ष कात्तिक २९ गते छठ पर्वको मुख्य दिन परेको छ ।