काठमाडौं । नेपाल र भारतबीचको दशकौँ पुरानो मित्रता तथा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित भारतीय विदेश सचिव विक्रम मिस्रीको दुईदिने नेपाल भ्रमण सम्पन्न भएको छ। नोभेम्बर ४ र ५ मा भएको भ्रमणका क्रममा दुवै देशले विकास साझेदारीदेखि ऊर्जा, व्यापार र पूर्वाधारसम्मका विषयमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
नेपालका परराष्ट्र सचिव अमृतबहादुर रायको निमन्त्रणामा काठमाडौं आएका मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गरेका थिए। सो अवसरमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देशसमेत सुनाएका थिए।
भ्रमणका क्रममा मिस्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग पनि भेटवार्ता गरेका थिए।
दुवै देशका परराष्ट्र सचिवबीच भएको प्रतिनिधिमण्डलस्तरीय छलफलमा जारी विकास परियोजना, व्यापार तथा वाणिज्य, जलविद्युत्, ऊर्जा, भौतिक सम्पर्क विस्तार, सीमा व्यवस्थापन र जनस्तरको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।
विशेषगरी रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति नेपाली नेतृत्वले आभार व्यक्त गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।
यसका अतिरिक्त स्टार्टअप, डिजिटल कनेक्टिभिटी, कृत्रिम बौद्धिकता (एआई) र खेलकुदजस्ता नयाँ क्षेत्रमा समेत सहकार्यका सम्भावना पहिचान गरिएको छ।
नेपालका प्रधानमन्त्रीको आगामी भारत भ्रमणलाई परिणाममुखी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ। दुवै पक्षले नियमित उच्चस्तरीय संवाद र आपसी सहयोगमार्फत नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।