काठमाडौं । भारतीय सहयोगमा नवलपरासीको मध्यविन्दुमा कृषि उपज भण्डारणका लागि आधुनिक शीतभण्डार निर्माण सुरु भएको छ।
गण्डकी प्रदेश अन्तर्गत नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका-२ मा निर्माण हुन लागेको शीतभण्डारको शुक्रबार शिलान्यास गरिएको छ।
नेपालस्थित भारतीय दूतावासकी प्रथम सचिव निशा र मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।
उक्त आयोजना निर्माणका लागि भारत सरकारले ४ करोड ४१ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत सञ्चालन हुने यो आयोजना मध्यविन्दु नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।
नवलपरासी जिल्लामा भारतको सहयोगमा सञ्चालन हुन लागेको यो चौथो एचआईसीडीपी परियोजना हो।
शिलान्यास कार्यक्रममा नगरप्रमुख अधिकारीसहित स्थानीय सरोकारवालाले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै शीतभण्डार सञ्चालनमा आएपछि स्थानीय कृषि गतिविधि विस्तार र कृषि उपजको व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
भारत र नेपालबीच विभिन्न क्षेत्रमा हुँदै आएको विकास साझेदारीअन्तर्गत यो परियोजना सञ्चालन हुन लागेको भारतीय दूतावासले जनाएको छ। यस्ता आयोजनाले स्थानीय पूर्वाधार विकास र प्राथमिकताका क्षेत्रमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।