काठमाडौं । भारतमा अध्ययन गर्न छात्रवृत्तिको अवसर खोजिरहेका नेपाली विद्यार्थीका लागि आवेदन दिने समय थपिएको छ। काठमाडौंस्थित भारतीय दूतावासले महात्मा गान्धी छात्रवृत्ति योजना (MGSS) र गोल्डेन जुबिली छात्रवृत्ति योजना (GJSS) शैक्षिक सत्र २०२६–२७ का लागि अनलाइन आवेदनको अन्तिम मिति बढाएको हो।
दूतावासले नोभेम्बर १३ मा प्रकाशित सूचनामार्फत आवेदन दिने समय नोभेम्बर २९, २०२६ राति ११ बजेर ५९ मिनेटसम्म कायम गरेको जनाएको छ।
यसअघि तोकिएको समयभित्र आवेदन दिन नसकेका विद्यार्थीले थपिएको अवधिमा आफ्नो आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन्।
दुवै छात्रवृत्ति योजना नेपाली विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएका हुन्। छात्रवृत्तिसम्बन्धी विवरण, योग्यता, आवेदन प्रक्रिया र आवश्यक कागजातबारे दूतावासको आधिकारिक वेबसाइटमा उपलब्ध जानकारी अध्ययन गरेर मात्रै आवेदन दिन विद्यार्थीलाई सुझाव दिइन्छ।
दूतावासले छात्रवृत्तिका लागि आवेदन सिधै विद्यार्थीबाट मात्र स्वीकार गर्ने स्पष्ट पारेको छ। कुनै पनि शैक्षिक परामर्शदाता, बिचौलिया वा एजेन्सीमार्फत प्राप्त आवेदन स्वीकार नगरिने भएकाले विद्यार्थीलाई त्यस्ता व्यक्तिबाट सावधान रहनसमेत आग्रह गरिएको छ।
आधिकारिक सूचना तथा आवेदन विवरण: https://www.indembkathmandu.gov.in/education/news/scholarship