काठमाडौं । आगामी हिउँदयाममा आन्तरिक उत्पादनले माग धान्न कठिन हुने अनुमानसँगै नेपालले भारतबाट ३५० मेगावाटसम्म विद्युत् आयात गर्ने अनुमति पाएको छ। नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजारबाट प्रतिस्पर्धी मूल्यमा दैनिक १७ घण्टासम्म बिजुली खरिद गर्न सक्ने भएको छ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले दिएको अनुमति आजदेखि २०८४ साउन १५ गतेसम्म लागू हुनेछ। बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मको समयबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ।
प्राधिकरणका अनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया प्रसारण लाइनबाट ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् ल्याउन सकिनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आयात अनुमति प्राप्त भएपछि आगामी हिउँदमा विद्युत् माग र आपूर्तिको व्यवस्थापन सहज हुने बताएका छन्।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुगेको छ। यसबाट ४३१ मेगावाट जडित क्षमताका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन्। यही अवस्थालाई समेत ध्यानमा राखेर प्राधिकरणले हिउँदयामको आपूर्ति व्यवस्थापनको तयारी गरेको जनाएको छ।
प्राधिकरणको प्रक्षेपणअनुसार पुसदेखि चैतसम्म आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुनेछ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर आयात गर्नुपर्ने अनुमान छ। उच्च माग हुने समयमा भने दैनिक ८०० देखि ९०० मेगावाटसम्म बिजुली आवश्यक पर्न सक्ने देखिएको छ।
पुस र चैतमा तुलनात्मक रूपमा कम आयात गरे पुग्ने अनुमान गरिएको छ। वैशाखदेखि नदीमा पानीको बहाव बढेसँगै आन्तरिक उत्पादन वृद्धि हुने र भारतबाट आयात घटाएर पुनः विद्युत् निर्यात सुरु गर्न सकिने प्राधिकरणको आकलन छ।
५६ मेगावाट विद्युत् बेच्न पनि अनुमति
विद्युत् आयातसँगै नेपालले भारतीय बजारमा बिजुली बिक्री गर्ने अनुमति पनि पाएको छ। प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न स्वीकृति पाएको जनाएको छ।
उक्त निर्यात अनुमति पनि आजदेखि २०८४ साउन १५ गतेसम्मका लागि रहेको छ। यसले आवश्यकताअनुसार विद्युत् आयात र आन्तरिक उत्पादन बढेका बेला निर्यात गर्ने नेपालको ऊर्जा व्यापारलाई निरन्तरता दिनेछ।