काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णय विदेशी शक्तिको दबाब र प्रलोभनमा गरिएको आरोप लगाएका छन्।
आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले राजनीतिक दलहरूले बाह्य शक्तिको प्रभावमा परेर नेपालको परम्परागत हिन्दुराष्ट्रको पहिचान परिवर्तन गरेको दाबी गरे।
उनले नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग दोहोर्याउँदै धर्म र राजनीतिलाई पूर्णतः अलग राख्न नहुने धारणा व्यक्त गरे। उनका अनुसार धर्म र राजनीतिबीचको सम्बन्ध कमजोर हुँदा राजनीतिक अभ्यास गलत दिशातर्फ जान सक्ने जोखिम रहन्छ।
लिङ्देनले नेपालको मौलिक धार्मिक, सांस्कृतिक र सभ्यतागत पहिचान जोगाउन सनातन हिन्दुराष्ट्र आवश्यक रहेको तर्क गरे। नेपाली परम्परा र संस्कृतिको संरक्षणका लागि हिन्दुराष्ट्र पुनःस्थापनाको अभियान अघि बढाउनुपर्ने उनको भनाइ थियो।