काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोगले समाजमा भ्रम, विकृति र दुर्घटनाको जोखिम बढाएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले यस्तो समस्या नियन्त्रण गर्न सरकारी निर्देशन र सुरक्षा निकायको प्रयास मात्र पर्याप्त नहुने बताउँदै बालबालिकालाई सानैदेखि सही शिक्षा दिनुपर्नेमा जोड दिएका छन्।
बाराको सिमरामा आइतबार आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभामुख अर्यालले संविधान र प्रचलित कानुनको सीमाभित्र रहेर मात्रै विकास तथा सुशासनको प्रक्रिया अघि बढाउनुपर्ने बताए।
उनका अनुसार विकासमा बाधा पुर्याउने पुराना र अनुपयुक्त कानुनलाई संशोधन गरेर अघि बढ्नुपर्छ। देशको समृद्धि र पूर्वाधार विकासलाई दीर्घकालसम्म सहयोग पुग्ने गरी आगामी ५० वर्षसम्म परिवर्तन गर्नुपर्ने अवस्था नआउने खालका कानुन निर्माण गर्नुपर्ने उनको धारणा थियो।
मधेसका आठ जिल्लामा तुलनात्मक रूपमा छिटो, सस्तो र सहज ढंगले विकास गर्न सकिने सम्भावना भए पनि शिक्षा, स्वास्थ्य, सडक र सामाजिक विकास अपेक्षाअनुसार अघि बढ्न नसकेकोमा उनले असन्तुष्टि जनाए।
विकासको पहल स्थानीय तहबाटै प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै उनले स्थानीय सरकारले जनताका जायज माग प्रदेश र संघीय सरकारसम्म निरन्तर पुर्याउनुपर्ने बताए। माग सम्बोधन नभएसम्म सम्बन्धित निकायसँग निरन्तर पहल र पैरवी गर्न पनि उनले स्थानीय जनप्रतिनिधिलाई सुझाव दिए।
सभामुख अर्यालले मधेसलाई हिमाल, पहाड र तराईका नागरिक मिलेर बनेको सुन्दर बगैँचाको संज्ञा दिँदै आपसी सद्भाव र एकता कायम राख्न सबैलाई आग्रह गरे। मधेसको शिक्षा, स्वास्थ्य, सामाजिक र भौतिक विकासका लागि कानुन निर्माणको तहबाट आफूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
छठ पर्वका अवसरमा बारा र पर्साका विभिन्न छठघाटको अवलोकन गर्न हेटौँडाबाट सिमरा पुगेका सभामुख अर्यालले जीतपुरसिमरा उपमहानगरपालिका–४ मा नवनिर्मित श्रीकृष्ण मन्दिरको समेत अवलोकन गरेका थिए। सिमराको कार्यक्रम सकेर उनी वीरगन्जतर्फ प्रस्थान गरेका छन्।