काठमाडौं । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकारले राष्ट्रिय प्रत्यायन केन्द्र सञ्चालनमा ल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत स्थापना गरिएको केन्द्रले स्वदेशी उद्योगको गुणस्तर सुधार र प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ।
केन्द्रको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले यसलाई औद्योगिक विकास र व्यापार सहजीकरणका लागि महत्त्वपूर्ण उपलब्धि बताए। उनका अनुसार उद्योग स्थापना गर्न प्रोत्साहन गर्नुका साथै उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा टिक्न सक्ने बनाउनु सरकारको प्राथमिकता हो।
केन्द्र सञ्चालनमा आएपछि प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा लिन सक्नेछन्। यसले परीक्षण र प्रमाणीकरणका लागि विदेशका संस्थामा निर्भर हुनुपर्ने बाध्यता घटाउनुका साथै उद्योगी व्यवसायीको समय र खर्च बचत गर्ने अपेक्षा गरिएको छ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले केन्द्रको स्थापनाले गुणस्तर व्यवस्थापन र उपभोक्ता हित संरक्षणमा सहयोग पुग्ने बताए। उनले गुणस्तर नियन्त्रण र प्रत्यायन फरक जिम्मेवारी भएका विषय भएकाले सम्बन्धित निकायको कार्यक्षेत्र कानुनअनुसार अलग रहेको स्पष्ट पारे।
मन्त्रालयले केन्द्रको प्राविधिक तथा संस्थागत क्षमता विस्तार, अन्तर्राष्ट्रिय मान्यता प्राप्तिको प्रक्रिया अघि बढाउने र स्वदेशी प्रयोगशालालाई सक्षम बनाउने कामलाई प्राथमिकता दिएको जनाएको छ।
खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री तथा विद्युतीय उपकरणलगायत वस्तुको परीक्षण गर्ने संस्थाको विश्वसनीयता बढाउन केन्द्रले भूमिका खेल्नेछ। अन्तर्राष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था विकास गर्न सके नेपाली उत्पादनको गुणस्तरप्रति विदेशी बजारको विश्वास बढ्ने र निर्यात प्रक्रियामा लाग्ने खर्च तथा झन्झट घट्ने अपेक्षा गरिएको छ।