काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व चुहावट नियन्त्रणमा कुनै सम्झौता नगर्न भन्सार प्रशासनलाई कडा निर्देशन दिएका छन्। उनले राजस्व छल्ने गतिविधिमा संलग्नलाई संरक्षण नगर्न र लक्ष्यअनुसार राजस्व संकलन गर्न कर्मचारीलाई सचेत गराएका हुन्।
शुक्रबार मोरङस्थित विराटनगरको रानी भन्सार कार्यालय तथा एकीकृत भन्सार जाँचपास चौकीको निरीक्षण गर्दै मन्त्री वाग्लेले राजस्व चुहावटविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिए।
सरकारले अघि सारेको ‘मिसन १६ खर्ब’ राजस्व लक्ष्य पूरा गर्न सबै कार्यालय र कर्मचारी जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो। लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्ने कार्यालय र नेतृत्वको कार्यसम्पादन मूल्यांकनमा गम्भीर समीक्षा गरिने उनले चेतावनीसमेत दिए।
भन्सार प्रक्रियाका नाममा दस्तुर तथा थप दस्तुरको अनावश्यक झन्झट सिर्जना नगर्न निर्देशन दिँदै उनले राजस्व संकलनसँगै व्यापारिक गतिविधिलाई पनि सहज बनाउनुपर्ने बताए।
विराटनगर भन्सारको सेवा प्रवाह छिटोछरितो बनाउन आवश्यक पूर्वाधार विकासमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले कार्यालयका आवश्यकता स्पष्ट रूपमा प्रस्तुत गर्न आग्रह गरे।
कार्यक्रममा निमित्त अर्थसचिव तथा राजस्व महाशाखा प्रमुख डा. सुमन दाहालले भन्सारमा अधिकतम खुद्रा मूल्य (एमआरपी) घोषणा प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताए। उनले भन्सार क्षेत्रमा दुईवटा गेट निर्माण र अनलाइन मूल्यांकन प्रणालीको प्रभावकारिताबारे थप काम गर्नुपर्ने आवश्यकता औंल्याए।
त्यस अवसरमा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक उमेश श्रेष्ठले कार्यालयको दैनिक कामकारबाही र अवस्थाबारे जानकारी गराएका थिए।