काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानीका अवसर खोज्न आग्रह गरेका छन्।
फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष बियाट्रिस पिरोनसँग भएको शिष्टाचार भेटमा सभामुख अर्यालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै फ्रान्सेली व्यवसायीलाई लगानीका लागि प्रोत्साहित गर्न आग्रह गरेका हुन्।
भेटमा नेपाल र फ्रान्सबीचको कूटनीतिक सम्बन्ध, संसदीय सहकार्य तथा दुई देशबीच आर्थिक साझेदारी विस्तारका विषयमा छलफल भएको थियो।
अर्यालले सन् १९४९ अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र फ्रान्सबीच मैत्रीपूर्ण सम्बन्ध कायम रहेको उल्लेख गर्दै नेपालले फ्रान्ससँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताए।
उनले नेपालको संघीय संसद्मा डिजिटल संसद्को अभ्यास सुरु भइसकेको जानकारी दिँदै सूचना प्रविधि, विधायिकी अभ्यास र संसदीय अनुभव आदानप्रदानमा फ्रान्ससँग सहकार्य गर्न सकिने धारणा राखे। संसदीय सम्बन्धलाई थप व्यवस्थित बनाउन आठ सदस्यीय नेपाल–फ्रान्स संसदीय मैत्री समूह गठन गरिएको जानकारीसमेत दिए।
यसैक्रममा सभामुख अर्यालले बाढीपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले व्यक्त गरेको समवेदना, फ्रान्सेली नागरिकको खोजी तथा उद्धारमा उपलब्ध गराइएको कन्सुलर सहयोग र युरोपेली संघमार्फत प्राप्त पाँच टन मानवीय सहायताका लागि धन्यवाद व्यक्त गरे।
भेटमा संसदीय समूहकी अध्यक्ष पिरोनले नेपालसँगको मित्रतालाई अझ प्रगाढ बनाउँदै संसदीय सहकार्य र आपसी हितका क्षेत्रमा साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाइन्।