काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मंसिर ६ र ७ गते हुने भारत भ्रमणमा निजी क्षेत्रबाट सीमित संख्यामा उद्योगी व्यवसायी सहभागी हुने भएका छन्। दुईदिने भ्रमणका लागि विभिन्न व्यावसायिक संस्थाले प्रतिनिधिको नाम पठाए पनि अन्तिम सूची र व्यावसायिक कार्यक्रम भने टुंगिएको छैन।
परराष्ट्र मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससँग प्राथमिकताका आधारमा नाम मागेको थियो। तीनवटै संस्थाले नाम पठाइसकेका छन्। तर सबै सिफारिस भएका प्रतिनिधि भ्रमण दलमा समेटिने सम्भावना छैन।
नेपाल उद्योग वाणिज्य महासंघले २३ जना, नेपाल उद्योग परिसंघले १३ जना र चेम्बर अफ कमर्सले नौ जनाको नाम सिफारिस गरेका छन्। प्रारम्भिक अनुमानअनुसार महासंघबाट सीमित प्रतिनिधि, परिसंघबाट पाँचदेखि छ जना र चेम्बरबाट चारदेखि पाँच जना सहभागी हुन सक्नेछन्।
भ्रमणमा सहभागी हुने व्यवसायीले आफ्नो खर्च आफैँ बेहोर्नुपर्नेछ। तर भारतमा लगानी सम्मेलन, दुई देशका उद्योगीबीच व्यावसायिक छलफल वा बीटुबी बैठक हुने विषयमा अझै स्पष्टता आएको छैन।
निजी क्षेत्रले उच्चस्तरीय भ्रमणलाई आर्थिक कूटनीति, व्यापार सहजीकरण र लगानी प्रवर्द्धनसँग जोड्नुपर्नेमा जोड दिएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले व्यावसायिक बैठकबिना भ्रमणको औचित्य नरहने भन्दै चेम्बर टु चेम्बर छलफलका लागि पहल भइरहेको बताएका छन्।
महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले पनि लगानी सम्मेलन वा ठोस व्यावसायिक कार्यक्रम तय नभए व्यवसायीको सहभागिता अर्थपूर्ण नहुने धारणा राखेका छन्।
यसअघि प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा लगानी सम्मेलन आयोजना गर्ने अभ्यास थियो। यसपटक भने प्रधानमन्त्रीको सम्बोधनसहित त्यस्तो कार्यक्रम हुने वा नहुने टुंगो लागेको छैन।
भ्रमणमा दुई देशका व्यवसायीबीच छलफल हुने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ। यद्यपि, परराष्ट्र मन्त्रालयले औपचारिक कार्यतालिका र सहभागीको अन्तिम संख्या सार्वजनिक गरेको छैन।