काठमाडौँ । सरकारले कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिए पनि राजस्व संकलनसँग सम्बन्धित कार्यालयहरू भने खुला रहने भएका छन्।
आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै करदातालाई सेवा प्रवाहमा असहजता नहोस् भनेर देशभरका सम्बन्धित कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।
छठ पर्वको भोलिपल्ट सरकारले सार्वजनिक बिदा दिए पनि कात्तिक महिनाको अन्तिम दिनसमेत भएकाले राजस्व परिचालन प्रभावित हुन नदिन यस्तो व्यवस्था गरिएको विभागका निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिए।
उनका अनुसार गत आर्थिक वर्षको आय विवरण दाखिला, आर्थिक ऐन २०८३ ले दिएका छुट सुविधाको उपयोग, बक्यौता फरफारक तथा अन्तःशुल्कजन्य वस्तुको निष्कासनसम्बन्धी कामका लागि कार्यालय खुला राखिनेछ।
यसअनुसार ललितपुरको हरिहरभवनस्थित ठूला करदाता कार्यालय, काठमाडौंको बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालय र देशभरका सबै आन्तरिक राजस्व कार्यालय सञ्चालनमा रहनेछन्।
विभागले राजस्व संकलन गर्ने बैंकहरूसँग समन्वय गरी आवश्यक कामकारबाही नियमित रूपमा सञ्चालन गर्नसमेत निर्देशन दिएको छ।