काठमाडौं । पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा कास्की जिल्ला अदालतले संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवाना हुने फैसला गरेको छ।
अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार नेपालीलाई आठ वर्ष कैद र एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ।
त्यस्तै, सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद तथा एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना सुनाइएको छ।
अदालतले अन्य प्रतिवादी निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद र २६ लाख २३ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।
यस प्रकरणमा कुल १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो। न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत कात्तिक १७ गते फैसला गरेको हो। फैसलाको पूर्णपाठ भने सार्वजनिक हुन बाँकी छ।
बचतकर्ताहरूले नेपालीसहित १५ जनाविरुद्ध गत वर्ष मुद्दा दायर गरेका थिए। सोही मुद्दाको सुनुवाइपछि अदालतले सात जनालाई सजाय सुनाएको हो।
नेपाली २०७९ सालको स्थानीय तह निर्वाचनमा बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। उनी बागलुङमा रहेको इमेज सहकारीकै अर्को ठगी प्रकरणमा २०८१ असोजदेखि पुर्पक्षका लागि कारागारमा छन्।
पोखरा र बागलुङमा सञ्चालित इमेज सहकारीबाट अर्बौं रुपैयाँ हिनामिना भएको आरोप उनीमाथि छ।