काठमाडौं । नेपाली सुनचाँदी बजारमा शुक्रबार अप्रत्याशित गिरावट आएको छ। एकैदिन सुनको मूल्य तोलामा १२ हजार २०० रुपैयाँले घटेको छ भने चाँदी पनि २२५ रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ११० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको तीव्र गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको हो। तिहारपछि नै ओरालो लाग्न थालेको मूल्यले पछिल्लो समय थप दबाब झेलिरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १५६.९५ अमेरिकी डलर अर्थात् ४.२६ प्रतिशतले घटेर ३ हजार ५२७.३९ डलरमा कारोबार भइरहेको छ।
चाँदीको अवस्था झन् कमजोर देखिएको छ। यसको मूल्य प्रतिऔंस ३.१४ डलर अर्थात् ७.०५ प्रतिशतले घटेर ४१.३२ अमेरिकी डलरमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको यो गिरावटले नेपाली बजारमा सुनचाँदीको कारोबार र मूल्य प्रवृत्तिमा समेत प्रत्यक्ष प्रभाव पारेको छ।