काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल वायुसेवा निगमको जहाजबाट उनी भारत गएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई गृहमन्त्री सुदन गुरुङ, ऊर्जामन्त्री विराटभक्त श्रेष्ठलगायतले बिदाइ गरेका थिए।
नयाँदिल्ली पुगेपछि प्रधानमन्त्री शाहको पहिलो औपचारिक राजनीतिक भेट भारतीय विदेशमन्त्री एस. जयशंकरसँग होटल ताजमा हुने कार्यक्रम छ। त्यसपछि सोमबार बिहान ११ बजे भारतीय प्रधानमन्त्री मोदीसँग उच्चस्तरीय वार्ता हुनेछ।
दुई प्रधानमन्त्रीबीचको छलफलमा व्यापार, पारवहन, लगानी, ऊर्जा सहकार्य, सम्पर्क सञ्जाल र पूर्वाधार विकासका विषय प्रमुख प्राथमिकतामा रहनेछन्। सोमबार दिउँसो हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रमसमेत तय भएको छ।
भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष अयोध्या–जनकपुर रेल सेवाको उद्घाटन हो। प्रधानमन्त्रीद्वयले संयुक्त रूपमा उक्त सेवा उद्घाटन गर्ने कार्यतालिका छ। प्रधानमन्त्री शाहले सोमबार दिउँसो भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेटवार्ता गर्नेछन्।
यस भ्रमणमा दुई देशबीच ऊर्जा र सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनाको उद्घाटन तथा नयाँ आयोजनाको शिलान्यास गर्ने तयारी छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र मानव संशाधनका क्षेत्रमा पनि विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ।
प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसरबारे जानकारी गराउने कार्यक्रम छ। नेपाल–भारत फोरमको छलफलमा पनि उनी सहभागी हुनेछन्। भ्रमणका क्रममा मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन्। शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जलीसमेत अर्पण गर्नेछन्।
प्रधानमन्त्रीसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित ३४ सदस्यीय सरकारी टोली भारत गएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीसमेत भ्रमणमा जोडिनेछन्। यसबाहेक निजी खर्चमा ५२ सदस्यीय नेपाली व्यवसायी टोली पनि भारत पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धसँगै व्यापार, ऊर्जा, पूर्वाधार र निजी क्षेत्रको साझेदारीलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। दुईदिने भ्रमण पूरा गरी प्रधानमन्त्री शाह सोमबार स्वदेश फर्किने कार्यक्रम छ।