काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुभकामना व्यक्त गरेको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको दुईदिने औपचारिक राजकीय भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका हुन्।
नेपाल र भारतबीच राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध लामो समयदेखि विशेष रहँदै आएको उल्लेख गर्दै रास्वपाले भ्रमणबाट आपसी विश्वास, सहकार्य र साझेदारी विस्तार हुने अपेक्षा गरेको छ।
प्रधानमन्त्री शाहको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकारसहित उच्च सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको रास्वपाले जनाएको छ।
भारत भ्रमणअघि प्रधानमन्त्री शाहले पार्टी सभापतिसँग भेट गरी भ्रमणबारे विस्तृत छलफल र जानकारी गराएको पनि विज्ञप्तिमा उल्लेख छ।
सो अवसरमा सभापतिले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर पारस्परिक सम्मान, समानता र साझा लाभका आधारमा दुई देशबीचको सम्बन्ध अघि बढाउन यो भ्रमण महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गरेका छन्।