काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ समझदारी र सहकार्य विस्तारको अवसरका रूपमा हेरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रमणका क्रममा केही महत्त्वपूर्ण विषयमा समझदारी हुने तयारी रहेको जनाएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ।
भेटवार्तामा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल हुनुका साथै साझा चासोका विषयमा सहमति जुटाउने प्रयास हुनेछ। राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप बलियो बनाउनु भ्रमणको प्रमुख उद्देश्य रहेको रास्वपाले जनाएको छ।
प्रधानमन्त्री शाहको नेतृत्वमा जाने ३४ सदस्यीय प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकारसहित उच्च सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन्।
रास्वपाका अनुसार भ्रमणअघि प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछानेसँग भेट गरी भ्रमणको तयारी र प्राथमिकताबारे जानकारी गराएका थिए। सो अवसरमा लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै समानता, पारस्परिक सम्मान र साझा लाभका आधारमा सम्बन्ध अघि बढाउनुपर्ने धारणा राखेका थिए।
पार्टीले प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने, आपसी विश्वास बढाउने र नयाँ साझेदारीका ढोका खोल्ने अपेक्षा गरेको छ। रास्वपाले भ्रमण सफल, उपलब्धिमूलक र सुखद रहोस् भन्दै शुभकामनासमेत दिएको छ।