जनकपुरधाम । मधेस प्रदेश सरकारले बेरोजगारी घटाउने र युवालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित प्रदेशका आठवटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्दै रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने पहिलो निर्णय गरेका हुन्।
प्रदेशमा व्याप्त गरिबी, बेरोजगारी र न्यून साक्षरतालाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको कार्यक्रममा पुनःसीप विकास तथा सार्वजनिक रोजगार सेवा, मुख्यमन्त्री महिला स्वरोजगार, वैदेशिक रोजगारीबाट फर्किएकाका लागि स्वरोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रम समेटिएका छन्।
त्यस्तै, बदलिँदो प्रविधिसँग युवालाई जोड्न कृत्रिम बुद्धिमत्ता (एआई), ई–कमर्स र कम्प्युटरसम्बन्धी तालिम सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।
प्रदेशका सबै जिल्लामा रोजगारीका अवसर विस्तार गर्दै युवाको क्षमता र उद्यमशीलता बढाउने लक्ष्य राखिएको सरकारले जनाएको छ। प्रस्तावित कार्यक्रम एक महिनाभित्रै सुरु गर्ने तयारी गरिएको छ।