काठमाडौँ । नेपाल र भारतका सैनिकबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ को नयाँ संस्करणका लागि भारतीय सेनाको टोली नेपाल आइपुगेको छ।
मंसिर ९ गतेदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सञ्चालन हुने अभ्यासमा भारतीय सेनाको १२ कुमाउ रेजिमेन्ट र नेपाली सेनाको ज्वालादल गण सहभागी हुनेछन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाका अनुसार सोमबार भारतीय सैनिक टोली नेपाल आएको हो। मंसिर २२ गतेसम्म सञ्चालन हुने अभ्यासमा प्रतिविद्रोह, प्रतिआतंकवाद युद्धकला तथा विपद् व्यवस्थापनका विषयमा संयुक्त प्रशिक्षण दिइनेछ।
नेपाल र भारतबीच सन् २०१० देखि ‘सूर्य किरण’ सैन्य अभ्यास सञ्चालन हुँदै आएको छ। दुवै देशमा पालैपालो आयोजना गरिने यो अभ्यासले सैनिकबीच व्यावसायिक दक्षता, समन्वय र अनुभव आदानप्रदानलाई प्राथमिकता दिँदै आएको छ।
यस अभ्यासमार्फत दुवै देशका सैनिकले सुरक्षा चुनौती सामना गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै विपद्का बेला संयुक्त रूपमा परिचालन हुन आवश्यक सीप र अनुभव हासिल गर्ने अपेक्षा गरिएको छ।