काठमाडौँ । भारतसँगको उच्चस्तरीय कूटनीतिक संवाद र विभिन्न समझदारीलाई निष्कर्षमा पुर्याउँदै प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किएका छन्।
भारतको दुईदिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो औपचारिक भारत भ्रमण थियो।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार नयाँदिल्ली पुगेका शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए।
भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आर्थिक तथा विकास साझेदारी, ऊर्जा, जलस्रोत, व्यापार, पारवहन र पूर्वाधार विकासलगायतका विषयमा छलफल भएको थियो। विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने समझदारीसमेत भएको छ।
प्रधानमन्त्री शाहलाई भारतबाट बिदाइ गर्न भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायत विमानस्थल पुगेका थिए।
प्रधानमन्त्रीको यस भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ सम्भावना खोज्ने महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ। अब भ्रमणका क्रममा भएका सहमति र समझदारी व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् भन्ने चासो बढेको छ।