जनकपुरधाम । रामको जन्मभूमि अयोध्या र सीताको जन्मभूमि जनकपुरधाम अब प्रत्यक्ष रेल सेवामार्फत जोडिएका छन्। दुई ऐतिहासिक धार्मिक नगरीबीच सुरु भएको ‘सरयु–कमला एक्सप्रेस’ ले जनकपुरको पर्यटन र नेपाल–भारत सांस्कृतिक सम्बन्धमा नयाँ सम्भावना थपेको छ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेपछि सोमबार अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गरेको हो। १७ वटा डिब्बा रहेको रेलमा एक हजारभन्दा बढी यात्रु सवार रहेको बताइएको छ। रेल मंगलबार बिहान जनकपुरधाम आइपुग्ने कार्यक्रम छ।
पहिलोपटक अयोध्याबाट रेल चढेर आउने श्रद्धालु तथा पर्यटकको स्वागतका लागि जनकपुरधाममा विशेष तयारी गरिएको छ। रेल्वे स्टेसनमा स्वागत मञ्च निर्माण गर्नुका साथै मिथिलाको मौलिक कला, संस्कृति, झाँकी र सांगीतिक प्रस्तुतिमार्फत पाहुनालाई स्वागत गर्ने तयारी छ। स्टेसन आसपास सरसफाइलाई पनि तीव्रता दिइएको छ।
नेपाल रेल्वेका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार आगामी सातादेखि जनकपुरधामबाट अयोध्याका लागि सातामा एकपटक नियमित रेल सञ्चालन हुनेछ। यात्रुले भारतीय अनलाइन टिकट प्रणाली र जनकपुरस्थित नेपाल रेल्वेको टिकट काउन्टरबाट टिकट लिन सक्नेछन्।
करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा सातामा एकपटक दुवैतर्फ सञ्चालन गर्ने समयतालिका रहेको छ। रेलले जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुरलगायतका स्टेसनमा सेवा दिनेछ।
विवाहपञ्चमीअघि धार्मिक पर्यटनमा नयाँ उत्साह
रेल सेवा सुरु भएको केही समयमै जनकपुरधाममा प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सव आयोजना हुँदैछ। यस अवसरमा अयोध्याबाट साधुसन्त, महन्थ र श्रद्धालुहरू जन्तीका रूपमा जनकपुर आउने परम्परा छ। प्रत्यक्ष रेल सम्पर्कले यसपटक धार्मिक पर्यटकको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।
अयोध्यामा रामललाको दर्शन गर्न चाहने जनकपुरवासी र जानकी मन्दिरमा पूजा गर्न आउने भारतीय श्रद्धालुका लागि यो सेवा महत्वपूर्ण माध्यम बन्नेछ। स्थानीयवासीले यसलाई केवल यातायात सुविधा नभई वर्षौंदेखिको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई नजिक ल्याउने अवसरका रूपमा लिएका छन्।
रेल सेवाबाट होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला र स्थानीय व्यापारमा समेत आर्थिक गतिविधि बढ्ने सम्भावना छ। मिथिलाको खानपान, कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय पर्यटकसमक्ष चिनाउने अवसर पनि यसले सिर्जना गर्नेछ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्या–जनकपुर रेल सेवाले अवध र मिथिलाबीचको परम्परागत सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने बताएका छन्। उनका अनुसार यसले दुवै देशका श्रद्धालुको तीर्थयात्रा सहज बनाउनुका साथै रामायण सर्किट पर्यटनलाई नयाँ गति दिनेछ।
तर रेल सेवा सुरु हुनु मात्रै पर्याप्त छैन। जनकपुरधामलाई आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बनाउन धार्मिक स्थलको संरक्षण, सरसफाइ, स्तरीय होटल, व्यवस्थित यातायात र पर्यटकमैत्री सेवामा सुधार आवश्यक छ।
अयोध्या र जनकपुरलाई रेलले जोडेको यो सुरुवातलाई दीर्घकालीन पर्यटन रणनीतिसँग जोड्न सके धार्मिक आस्थासँगै स्थानीय अर्थतन्त्रले पनि लाभ लिन सक्नेछ।