काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण उपलब्धिपूर्ण रहेको बताएका छन्। त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा सरकारले नेपालको राष्ट्रहित प्रवर्द्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको बताए।
उनले भारतसँगको सदियौं पुरानो घनिष्ठ, बहुआयामिक, सहयोगात्मक र जनस्तरको सम्बन्ध तथा सहकार्यलाई अझ बलियो बनाई दुवै देशका नागरिकले प्रत्यक्ष रूपमा अनुभूति र लाभ पाउने दिशामा भ्रमण केन्द्रित रहेको बताए।
दुई देशबीच व्यापार सहजीकरणलाई अझ प्रभावकारी बनाउन पारवहन व्यवस्था सुधार गर्ने तथा सीमापार सम्पर्क सञ्जाल सुदृढ पार्ने दिशामा मिलेर काम गर्ने सहमति भएको उनले बताए।
त्यस्तै दुई प्रधानमन्त्रीबीच नेपाल-भारत सिमानाका विषयमा चर्चा भएको र संयुक्त स्थलगत निरीक्षण र सीमा स्तम्भ मर्मत–सम्भारमा भएको प्रगति उल्लेख गरे। विद्यमान सीमासम्बन्धी विषयमा काम गर्न नेपाल र भारतका परराष्ट्र÷विदेश सचिवहरूलाई निर्देशन दिइएको उनले बताए।
परराष्ट्रमन्त्री खनालले हवाई सम्पर्क सञ्जाल प्रवद्र्धन तथा नागरिक उड्डयनसम्बन्धी विषयमा दुई नेताबीच छलफल भएको र हाल एकतर्फी रहेको 'बी-३४५’ (काठमाडौं-भैरहवा-लखनउ) हवाई मार्गलाई दुईतर्फी (बाइ-डिरेक्सनल) बनाउन दुवै पक्ष सहमत भएको जानकारी दिए।
दुवै देशका प्रधानमन्त्रीहरूले जनकपुर र अयोध्याबीचको यात्रुवाहक रेलको भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गरेसंगै सामाजिक तथा धार्मिक सम्बन्ध अझ प्रगाढ बनाउने र पर्यटन तथा जनस्तरको सम्बन्ध प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको मन्त्री खनालले बताए।
लामो समयपछिको भ्रमणले नेपाल-भारत सम्बन्धलाई सम्भावनायुक्त र सकारात्मक लयमा फर्काएको उनको भनाइ छ ।