काठमाडौँ । नेपाल र भारतबीच लामो समयदेखि थाती रहेका सीमासम्बन्धी विषयलाई टुंगोमा पुर्याउन दुवै देशका परराष्ट्र सचिवलाई जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारतको पहिलो राजकीय भ्रमणपछि जारी संयुक्त वक्तव्यमा सीमा स्तम्भको मर्मत तथा सम्भारका लागि भइरहेको संयुक्त स्थलगत कामप्रति दुवै देशका प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गरेको उल्लेख छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको द्विपक्षीय वार्तामा सीमा व्यवस्थापन तथा समाधान हुन बाँकी विषयबारे छलफल भएको थियो। छलफलपछि दुवै नेताले बाँकी सीमासम्बन्धी मुद्दामा आवश्यक काम अघि बढाउन नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवलाई निर्देशन दिएका हुन्।
सीमा स्तम्भको नियमित मर्मत र अनुगमनमा भएको प्रगतिलाई सकारात्मक मानिए पनि सबै सीमासम्बन्धी विषय अझै समाधान भइसकेका छैनन्। त्यसैले अब दुई देशका कूटनीतिक अधिकारीबीच हुने छलफल र पहलले बाँकी विषयको निकास निर्धारण गर्नेछ।