काठमाडौं । नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनऊ जोड्ने बी३४५ हवाई मार्गलाई दुवैतर्फ सञ्चालन गर्न सहमति भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारतको दुईदिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा यस्तो जानकारी दिइएको हो।
हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको उक्त हवाई मार्गलाई अब दुवैतर्फ प्रयोग गर्न सकिने व्यवस्था मिलाउन दुवै देश सहमत भएका छन्।
यस निर्णयले नेपाल र भारतबीच हवाई सम्पर्क विस्तार गर्नुका साथै व्यापार, पर्यटन तथा आर्थिक गतिविधिलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
संयुक्त वक्तव्यअनुसार सहमति कार्यान्वयनका लागि आवश्यक प्राविधिक प्रक्रिया र सञ्चालनसम्बन्धी व्यवस्था टुंग्याउन दुवै देशका अधिकारीबीच छिट्टै परामर्श हुनेछ।
नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित अन्य प्रस्तावमाथि पनि यही छलफलका क्रममा आवश्यक निर्णय लिइने जनाइएको छ।