नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्। उनले नेपालमा उपलब्ध लगानीका सम्भावना उपयोग गर्दै ढुक्क भएर नयाँ परियोजनामा लगानी गर्न भारतीय व्यवसायीलाई आह्वान गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण टोलीमा सहभागी अर्थमन्त्री वाग्लेले आइतबार नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित नेपाल–भारत बिजनेस राउन्डटेबललाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्। भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको कार्यक्रममा उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीलाई लगानीका प्रमुख सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गरे।
नेपालमा पहिलेदेखि लगानी गरिरहेका भारतीय कम्पनीलाई थप लगानी गर्न प्रोत्साहित गर्दै उनले नयाँ व्यवसायीलाई पनि नेपालमा अवसर खोज्न आग्रह गरे।
वाग्लेले विदेशी लगानी आकर्षित गर्न सरकारले नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिएको बताए। लगानीको सुरक्षा, प्रतिफल प्राप्ति र नाफा आफ्नो देशमा लैजाने प्रक्रियालाई सहज बनाउन सरकारले आवश्यक व्यवस्था मिलाउँदै गएको उनको भनाइ थियो।
कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद र सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले पनि सम्बोधन गरेका थिए।