काठमाडौँ । नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरेको थप हवाई प्रवेशमार्गको विषयमा भारतसँग महत्वपूर्ण सहमति जुटेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको हो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा हाल एकतर्फी सञ्चालनमा रहेको बी३४५ हवाई मार्गलाई दुवैतर्फी बनाउन दुवै देश सहमत भएको उल्लेख छ। यसको कार्यान्वयनका लागि आवश्यक प्राविधिक प्रक्रिया र मोडालिटी टुंग्याउन दुवै पक्षले परामर्श गर्नेछन्।
नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्गको माग गर्दै आएको थियो। विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडानमार्फत प्रभावकारी बनाउने उद्देश्यले यो विषय नेपालको प्राथमिकतामा रहँदै आएको थियो।
सीमित हवाई प्रवेशमार्गका कारण अन्तर्राष्ट्रिय विमान कम्पनीलाई नेपालका क्षेत्रीय विमानस्थलसम्म उडान सञ्चालन गर्न कठिनाइ हुँदै आएको थियो। नयाँ सहमतिले विशेषगरी भैरहवा विमानस्थलको व्यावसायिक सम्भावना बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपालले भैरहवा रुटको माग अघि बढाइरहँदा भारतले पनि नेपालको हवाई क्षेत्र प्रयोग गर्दै बागडोग्रा विमानस्थलका लागि हवाई रुट उपलब्ध गराउन चासो राख्दै आएको थियो। यस विषयमा दुवै देशबीच थप छलफल हुने संयुक्त वक्तव्यमा उल्लेख छ।
यसअघि विभिन्न उच्चस्तरीय भ्रमण र द्विपक्षीय वार्तामा हवाई रुटको विषय उठ्दै आए पनि ठोस सहमति हुन सकेको थिएन। प्राविधिक, सुरक्षा तथा हवाई क्षेत्र व्यवस्थापनका विषयमा रहेका जटिलताले प्रक्रिया लम्बिएको थियो।
नयाँ सहमतिले नेपालको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा लगानीअनुसारको प्रतिफल खोज्ने बाटो खोल्न सक्छ। तर यसको वास्तविक उपलब्धि प्राविधिक प्रक्रिया पूरा भई नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन थालेपछि मात्रै देखिनेछ।